
३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ खर्ब ४१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो गत आव पहिलो महिनाको तुलनामा २९.९ प्रतिशतले धेरै हो ।
गत आव साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसबेला रेमिट्यान्स आप्रवाह वृद्धिदर १७.७ प्रतिशत थियो ।
चालु आव साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आव पहिलो महिना खुद द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड थियो ।
गत साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४ सय ६६ र पुन: श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: ३६ हजार ९ सय २८ र २२ हजार ६ सय ४७ थियो ।
प्रतिक्रिया 4