+
+
Shares

फागुन २१ को निर्वाचनबारे छलफलमा जुट्यो निर्वाचन आयोग

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल सुरु गरेको छ।
  • गृहमन्त्रालयले निर्वाचन मितिबारे आयोगलाई औपचारिक जानकारी दिएको छैन भने मतदाता संकलन विषयमा छलफल भइरहेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन रद्द गरिएको छ।

३० भदौ, काठमाडौं । निर्वाचन आयोग आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफलमा जुटेको छ ।

हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराएको छैन । तथापि, आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा भने आयोगले छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

‘निर्वाचनको मिति राष्ट्रिय रुपमा घोषणा भएको विषय हो । राष्ट्रिय रुपमा घोषणा भएकोले यो विषयलाई स्वत: जानकारीमा लिएर छलफल सुरु गरिएको छ,’ घिमिरे भन्छन्, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते  नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेका छन् । यो घोषणापछि निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने भनिएको उपनिर्वाचन रद्द गरेको छ । यो क्षेत्रमा आगामी कातिक १७ गते उपनिर्वाचन गर्ने तय भएको थियो ।

मनाङको प्रदेश सभा क्षेत्र २ मा भने कात्तिक १७ मै उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेले भनेका छन्, ‘प्रदेशको हकमा अन्यथा निर्णय नभएकोले केही बोलिरहनुपरेन । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ मै उपनिर्वाचन हुन्छ ।’

४ मंसिर २०७९ मा सम्पन्न प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो । यही मुद्दामा सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो । त्यसयता मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त छ ।

प्रदेश सभा अन्तर्गत् खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने र आगामी फागुनमा हुने आम निर्वाचनको तयारी पनि अगाडि बढाउने गरी आयोग छलफलमा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?