+
+
Shares

पुरानो भवनमा जलेका सवारी छल्दै ओमप्रकाशको गृह प्रवेश

प्रदर्शनकारीको भावना सम्बोधन गर्दै, सुरक्षा निकायको मनोबल बढाउँदै, शान्ति सुव्यवस्था कायम राख्दै मुलुकलाई निर्वाचनमार्फत लोकतान्त्रिक मार्गमा अगाडि बढाउने जिम्मेवारी लिएका गृहमन्त्री ओमप्रकाश अर्यालसामु ध्वस्त भौतिक संरचना निर्माण गर्नु पनि उत्तिकै चुनौतीपूर्ण छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ भदौ ३० गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २९ गते परराष्ट्र मन्त्रालयको भवनमा पदभार ग्रहण गरेका छन्।
  • अर्यालले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका छन्।
  • गृहमन्त्री अर्यालले क्षतिको तथ्याङ्क संकलन गरी राज्यको क्षमता अनुसार प्राथमिकता निर्धारण गर्ने बताएका छन्।

२९ भदौ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार पदभार ग्रहणका लागि मन्त्रालय पुग्दा बाक्लो उपस्थिति थिएन । गृहसचिव गोकर्णमणि दुवाडीसहितका कर्मचारीहरू स्वागतमा थिए । सामान सारिरहेका कर्मचारी परिसरमा उभिए ।

झण्डा हल्लाउँदै अर्याल मन्त्रालयको मूल गेटमा आइपुगे । गेटमा परराष्ट्र मन्त्रालय लेखिएको थियो । ढोका छेउमा भने गृहमन्त्रालय लेखिएको नयाँ ब्यानर टाँसिएको थियो । गेटको नाम मेटेर लेख्न नपाउँदै गृहमन्त्रीको पदभार ग्रहण हुने भएपछि हतार-हतार ब्यानरमा लेखेर ढोका छेउमा टाँसिएको देखिन्थ्यो ।

गृहमन्त्री अर्याल गाडीबाट ओर्लिए । सिधै ढोकातिर जान जलेर रहेको गाडीले दिएन । केही छलिएर उनी नमस्कार गर्दै अघि बढे । स्वागतमा रहनेले सयपत्री फूलको माला लगाइदिए । पालस्टिकको फुलको गुच्छा दिए ।

मन्त्री अर्यालको स्वागतका लागि यति हतार गरिएको थियो की उनी पुग्नु केहीबेर अगाडिसम्म कर्मचारीहरू पानीमा टालो भिजाएर मूल ढोका अगाडि सफा गरिरहेका थिए । भवनभित्र गृहमन्त्रीका लागि कार्यकक्ष तयार पारिएको रहेछ । बैठक बस्न हल तयार भएको रहेछ । बाँकी भवनमा कुनै पनि कोठा काम गर्ने गरी व्यवस्थापन गरिएको छैन । ‘स्थानीय प्रशासन शाखा’ आदि लेखिएका नेमप्लेट असल्लै देखिन्थे ।

नयाँ घरमा कोही सरेजस्तो लाग्ने गृह मन्त्रालय भने पूरानो भवन हो । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार यो भवन पञ्चायतकालमा परराष्ट्र मन्त्रालय नै बस्दथ्यो । २०४६ सालमा बहुदल आएपछि वन तथा वातावरण मन्त्रालय बस्यो । पछि सामान्य प्रशासन मन्त्रालय बस्यो ।

सामान्य प्रशासन मन्त्रालय पनि सर्‍यो र केही समय महान्यायाधिवक्ताको कार्यालय बस्यो । यो पनि सरेपछि केही वर्षदेखि यो भवन प्रयोगबिहीन थियो । सबैले छाडेको भवन परराष्ट्र मन्त्रालयले नै प्रयोग गर्ने गरी मर्मतसम्भार गर्न खोज्दै थियो । त्यसअन्तर्गत मूल गेटमा मन्त्रालयको नाम लेखिएको हो ।

तर, यही भदौ २४ गते सिंहदरवारमा भएको आगजनीले गृहमन्त्रालय पुरै ध्वस्त भएपछि परराष्ट्र मन्त्रालयमा बस्ने भएको छ । यो भवनमा पहिलो गृहमन्त्रीका रुपमा अर्याल प्रवेश गरेका हुन् । जसले सबैभन्दा पहिले आफ्नो मन्त्रालयका सचिवसहितका कर्मचारीहरूलाई कहाँ राख्ने जोहो गर्नुपर्नेछ ।

गृहमन्त्रालय अन्तर्गत रहेका सुरक्षा निकायका भवनहरू समेत जलेका छन् । प्रहरी बिटहरू जलेका छन् । सडकमा पोशाकबिहीन ट्राफिक खटिइरहेका छन् । सुरक्षा निकायको मनोबल बढाएर अगाडि बढ्नुपर्ने दायित्व उनको काँधमा छ ।

‘काम आफ्नै मन्त्रालयमा बस्ने व्यवस्थाबाट सुरु गर्नुपर्ने छ । के छन् योजना ?’ पदभार ग्रहणपछि पत्रकारहरूले सोधे । जवाफमा उनले जिम्मेवारी पाएको र पहिलो निर्णयमा तीन वटा विषय रहेको सुनाए।

पहिलो : प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मानस्वरुप राष्ट्रिय शोकको रुपमा मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने ।

दोस्रो : मृतकहरूको परिवारलाई काजकिरियावापत्त प्रतिमृतक एक लाख रुपैया उपलब्ध गराउने, रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने ।

तेस्रो : परिवारका सदस्यहरूको आग्रह बमोजिम मृतकको शवहरूको व्यवस्थापनका लागि निशुल्क सवारीसाधन एवं दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने ।

यी तीन वटै निर्णय गृहमन्त्रीस्तरीय निर्णय हुन् । यसलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि लागू हुनेछन् ।

अर्थात् गृहमन्त्री अर्यालले प्राथमिकतामा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दिएका छन् । त्यही आन्दोलनको जगमा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो र सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो । जसमा अर्यालले गृहमन्त्रालयको बागडोर सम्हाल्ने अवसर पाएका हुन् ।

अब नयाँ सरकारले र गृहमन्त्रीले कति काम गर्नुपर्छ भन्ने विषय अर्याल स्वयमले महसुस गरेका छन् । पहिलो निर्णयमै प्रदर्शनकारीको भावना सम्बोधन गर्न खोजेका अर्यालले शान्ति सुव्यवस्था कायम गर्दै मुलुकलाई अगाडि लैजानुपर्नेछ ।

‘जलेका भवनहरू, सवारीसाधनहरू नियाल्दै मन्त्रालय आइपुग्नुभयो । अब ती संरचना कहिलेसम्म ठीकठाक हुन्छ ?’ अनलाइनखबरको प्रश्नमा उनी काम गर्दै जाने प्रतिवद्धता जनाउँछन् ।

गृहमन्त्री अर्यालका अनुसार पहिलो चरणमा तथ्याङ्क संकलन गरिनेछ । हाल कति क्षति भएको छ भन्ने नै यकिन छैन । यो स्पष्ट भएपछि थप काम अगाडि बढ्छ ।

क्षतिको विवरण संकलन भइसकेपछि राज्यको क्षमता कति छ केलाइनेछ । राज्यको क्षमताको आधारमा के विषयलाई पहिलो प्राथमिकतामा राख्ने तय गरिन्छ । उपलब्ध बजेट, साधन र स्रोत हेरेर तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रुपमा गर्ने काम तय हुनेछ।

पदभार ग्रहणसँगै गृहमन्त्री अर्यालले भनेका छन्, ‘तथ्याङ्कहरू लिनुपर्छ । राज्यको क्षमता कति छ, के छ हेर्नुपर्छ । केलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ? तत्काल सुचारु गर्नुपर्ने विषयहरू के–के हुन ? राज्यको बजेटको अवस्था के छ हेरेर अगाडि बढ्छौं।’

यी विषय गृह मन्त्रालयको विषय मात्रै होइनन् । यसकारण समग्रतामा छलफल गरेरै अगाडि बढ्छन् । उनी भन्छन्, ‘सबै कुराहरू यो मन्त्रालयको विषय मात्रै होइन । अरु मन्त्रालय र एजेन्सीहरूसँग छलफल हुन्छ ।’

खोजे नागरिकको साथ

गृहमन्त्री अर्यालले समग्र पुननिर्माण र काम गर्ने मनोबलका लागि नागरिककै साथ खोजेका छन् । मुलुकलाई अगाडि बढाउन नागरिकसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता जनाएका छन् ।

‘नागरिककै भूमिका हुन्छ । नागरिकस्तरबाट पनि सहयोग जुटाएर गर्नुपर्ने हुन सक्छ’ गृहमन्त्री अर्याल भन्छन्, ‘पुलिस पोष्टहरू नहुँदा हामी नै असुरक्षित भएका छौं ।’ अर्थात, भत्किएका, तोडफोड भएका र जलाइएका प्रहरी बिटहरू बनाउन नागरिकले समेत सहयोग गर्नुपर्ने उनको आह्वान छ ।

सार्वजनिक संस्था र सरकारी कार्यालयहरू नहुँदा सेवा प्रवाह अवरुद्ध भएको उल्लेख गर्दै उनी यसमा पनि नागरिकको सहयोगको अपेक्षा गर्छन्। राज्य हुनका लागि आवश्यक निकायको भौतिक संरचना निर्माणका नागरिकले सहयोग गर्नुपर्ने उनको आग्रह नै छ ।

‘जहाँ सर्वोच्च अदालतै छैन, न्यायपालिका नै छैन भने के राज्य भयो ? जहाँ कार्यपालिकाले कार्य सञ्चालन गर्ने अफिस पनि छैन भने के राज्य भयो ?’ गृहमन्त्री अर्यालकै प्रश्न छ ।

संघीय संसद्को भवन समेत ध्वस्त भएको स्मरण गर्दै उनी भन्छन्, ‘राज्य भन्न चाहिने पूर्वाधारहरू बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्नेछ ।’

राम्रो हुँदा सबैलाई राम्रो हुने भएकाले विवाद कम गरेर काम अगाडि बढाउनुपर्नेमा उनी प्रष्ट देखिन्छन् । भौतिक क्षतिसँगै ऐतिहासिक अवसर पाप्त भएको पनि बताउँछन् ।

‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ युवाहरूमा उर्जा भर्ने प्रयास गर्दै गृहमन्त्री अर्यालले भनेका छन्, ‘क्षति भएपनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ । अहिले सुरुवात गर्ने र त्यसलाई निर्वार्चन बाट थप प्रमाणीकरण गर्न लाग्नुपर्छ ।’

अर्थात्, आफ्नो जिम्मेवारी आगामी ६ महिनाभित्र निर्वाचन गराउनु हो भन्नेमा गृहमन्त्री अर्याल सतर्क देखिन्छन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति नै तोकिइसकेको छ ।

दलहरूलाई सन्देश : परीक्षण हुन पाउनुहुन्छ

गृहमन्त्री अर्याल प्रधानमन्त्री कार्कीलाई आमाको भूमिकामा देख्छन् । आमाले सन्तानलाई समान ढंगले व्यवहार गर्ने उल्लेख गर्दै गृहमन्त्री अर्याल प्रधानमन्त्रीबाट पनि निर्वाचनमा भाग लिने सबैका लागि आमाकै जस्तो अभिभावकीय व्यवहार प्रदर्शित हुने विश्वास राख्छन् । उनी भन्छन्, ‘स्थितिलाई सामान्यीकरण गर्नुपर्छ । मेलमिलापको वातावरण बनाउनुपर्छ ।’

परिवर्तन भइसकेकाले अब निर्वाचनमार्फत परिवर्तनको पुष्टि गरिनुपर्ने उनको आग्रह छ । उनी भन्छन्, ‘जब राजनीतिको विषयवस्तु हुन्छ त्यतिखेर प्रतिनिधित्वको कुरा आउँछ । यसको लागि निर्वाचन नै लोकतान्त्रिक माध्यम हो।’

राजनीतिक दलहरूपति प्रतिवन्ध नलाग्ने पनि उनले बताए, ‘कोहीले विस्थापन भयौं भन्नुभएको छ । दलका प्रतिवन्ध लगाउने भन्ने कुरा छैन ।’

निर्वाचनमा जनताले पत्याए विस्थापित भएका पक्षहरूको पुनरावगमन हुन सक्ने उनको आग्रह छ । ‘जो विस्थासपत हुनुभयो फेरि आउने, उहाँहरूको पुनरावगमन हुने अवस्था छ, जनताले म्यान्डेड दिन्छन् भन्ने हो भने पनि इलेक्सनमै जानुपर्छ’ गृहमन्त्री अर्यालको भनाइ छ ।

निर्वाचनमा परिवर्तन गर्ने पक्ष र विस्थापित भयौं भन्ने पक्ष दुवैले परीक्षण हुन पाउने उनको विश्वास छ ।

‘जसले जनविद्रोह गर्नुभयो र यो अवस्था आयो । अन्तरिम सरकार गठन हुने, प्रतिनिधि सभाको विघटन हुनेसम्मको जो अवस्था आयो’ उनी भन्छन्, ‘नयाँले पनि जनविद्रोहमा जित्नुभयो । अब त्यसको पुर्ण रुपमा पुष्टि लोकतान्त्रिक रुश्रपमा इलेक्सनबाटै गर्नुपर्छ ।’

सबै हिसाबले मुलुक निर्वाचनउन्मुख भइसकेको उल्लेख गर्दै उनी स्वतन्त्र, स्वच्छ निर्वाचन हुने गरी काम गर्ने विश्सास दिलाउँछन्, ‘फ्रि र फेयर इलेक्सन हुनुपर्छ । यसको लागि यस्तै खालको सरकार हुनुपर्छ । जसले आमाको जस्तो भूमिका निर्वाह गरोस् ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?