
३१ भदौ, काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम भएका सबै शव परिवारले बुझिसकेका छन् ।
हालसम्म प्राप्त पोस्टमार्टम रिपोर्टअनुसार ३६ जनाको कम्मरभन्दा माथिको भागमा गोली लागेर मृत्यु भएको छ ।
फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले सबै मृतकको कम्मरमाथि बुलेट भेटिएको बताए । अधिकांशको टाउको र छातीमा गोली लागेको उनले जानकारी दिए । ती शवमा एक-एक वटा बुलेट देखिएको डा. चौधरी बताउँछन् ।
तीनजनाको भने चोटपटकका कारण अत्यधिक रक्तस्राव र करङ भाँचिएको कारणले मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
पोस्टमार्टम रिपोर्टको जानकारी दिँदै उनले भने, ‘कतिपयको टाउको र मुटु नै छेडिएर गोली बाहिर निस्केको थियो भने कतिपयको शरीरका विभिन्न भागमा गोली बसेका थिए ।’
उनका अनुसार टाउको र छातीमा गोली लागेमा तत्काल नै मृत्यु हुन्छ ।
हालसम्म फोरेन्सिक विभागमा आइपुगेका ४६ वटा शवमध्ये ७ वटा पूर्ण जलेको अवस्थामा छन् । केही दिनपछि ती शवको पोस्टमार्टमको प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।
सोमबार र मंगलबारको आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भइसकेको छ । जसमध्ये सोमबार २१ जनाको मृत्यु भएको थियो । दोस्रो दिनको प्रदर्शनबाट ३९ जनाको ज्यान गएको थियो । जसमध्ये प्रहरीसँग झडप हुँदा कैदीबन्दी र व्यापारिक भवनमा जलेको अवस्थामा भेटिएको थियो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार टाउको र छातीमा गोली लागेका अधिंकाशको मृत्यु एक घन्टाभित्रै भएको थियो ।
निजामती अस्पतालमा प्रहरीको गोलीका कारण सोमबार र मंगलबार गरी ६ जनाको मृत्यु भयो ।
यहाँ मृत्यु भएका व्यक्तिको छाती (मुटुको छेउ), टाउको र घाँटीमा गोली लागेको थियो । ‘मृत्यु हुने सबैको कम्मरमाथि नै गोली लागेको थियो । टाउको र मुटुमा एकातिरबाट छेडिएर अर्का ठाउँबाट निस्किएको थियो,’ ती चिकित्सकले भने, ‘ती बिरामीको अत्याधिक रक्तस्राव भएर केहीबेरमा मृत्यु भएको थियो ।’
ती चिकित्सकका अनुसार सुरूमा नै आएका घाइते छाती र टाउकोमा गोली लागेका धेरै थिए । त्यसमध्ये दुईजनाको निधारमै गोली लागेको थियो । उनका अनुसार घाइतेको भने खुट्टा, तिघ्रामा गाली, छातीमा छर्रा लागेको छ ।
ट्रमा सेन्टरमा मात्रै सोमबार ८ जनाको मृत्यु भएको थियो । चिकित्सकका अनुसार घटना भएको पहिलो एक घन्टामा चार जनाको मृत्यु भइसकेको थियो । जसमध्ये तीन जनाको अस्पताल नपुग्दै मृत्यु भएको थियो । एक जनाको उपचार गर्दागर्दै मृत्यु भयो । चार घन्टाको अवधिमा ७ जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए ।
उनका अनुसार चारजनाको मुटुको छेउमै गोली लागेको थियो । ‘ट्रमामा मृत्यु हुनेमा घाँटी, मुटु, पेट र टाउकोमा गोली लागेकाहरू थिए ।
त्यसैगरी मंगलबारको प्रदर्शनमा गम्भीर घाइतेका भएका आन्दोलनकारीको दुई जनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भयो । दुवै जनालाई दिमागको भागमा गोली लागेको थियो ।
‘एक जनाको अत्यधिक रक्तस्राव भइरहेको थियो । घाँटी, टाउकोमा चोट लागेको थियो, हड्डी फुटेको थियो,’ ती चिकित्सक भन्छन्, ‘धेरै पोका रगत चढाएर जसोतसो रक्तस्राव कन्ट्रोल गरियो तर बिरामी कोमामा गइसकेकाले बचाउन सकिएन ।’
अर्का गम्भीर घाइतेको भने गर्दनमाथि गोली लागेको थियो । ‘एक जनाको दायाँ दिमागबाट छेडेर अर्को भागमा पुगेको थियो । हड्डी र छालामुनि गोली रहेको थियो,’ ती चिकित्सक भन्छन् ।
दुवै जनाको अस्पताल ल्याउँदा नै श्वासप्रश्वास न्यून भइसकेको ती चिकित्सकले बताए । ज्यान बचाउन पहिला रक्तस्राव र रक्तचाप नियन्त्रण गर्ने काम गरियो । तर सुधार भएन ।
‘दिमागको भागमा चोटपटक लागेका कारण सम्पूर्ण अंगले काम गर्न छोड्दै गए । दिमागमा गोली लाग्दा बाँच्ने सम्भावना न्यून हुन्छ,’ ती चिकित्सक भन्छन् ।
यसैगरी, काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएका दुई युवामध्ये एकको छाती र अर्कोको घाँटीमा गोली लागेको अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार जेन-जी प्रर्दशनका क्रममा देशभर २ हजार ३१६ जना घाइते भएका छन् । जसमध्ये हाल २८३ जना उपचाररत छन् ।
‘मृत्युमध्ये ५० प्रतिशतको तत्कालै’
ट्रमा सेन्टरमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेलका अनुसार गोली वा चोटपटकबाट तीन चरणमा मृत्यु हुने गर्छ । जसमा तत्काल, केही घण्टाभित्र र केही दिन वा हप्तापछि ।
ट्रमाको मृत्युलाई बुझ्न ‘इमिडियट डेथ’, ‘अर्ली डेथ र ‘लेट डेथ’ गरी तीन चरणमा विभाजन गरिन्छ ।
इमिडियट डेथ भनेको घटनापछि तुरुन्तै हुने मृत्यु हो, जसमा चिकित्सकले केही गर्न सक्दैनन् । किनकि, गोली वा चोटपटकले केही क्षणमै मृत्यु भइसक्छ ।
अर्को, अस्पताल आइपुगेको केही घण्टा वा दिनभित्र मृत्यु हुन्छ । त्यो अर्ली डेथ हो । यो चरणमा सघन उपचार र अपरेसन प्रभावकारी हुँदा घाइतेको ज्यान बचाउने सम्भावना पनि रहन्छ ।
लेट डेथ भनेको इन्फेक्सन, मल्टिपल अर्गान फेलियर जस्ता कारणले हप्तौंभित्र हुने मृत्यु हो । डा. पौडेलका अनुसार मृत्युमध्ये ५० प्रतिशत तत्काल, केही घण्टाभित्र ३० प्रतिशत र केही दिन वा हप्तापछि २० प्रतिशतको मृत्यु हुन्छ ।
‘चोटपटक वा गोली लागेका घटनामा अधिकांश मृत्यु केही मिनेट वा पहिलो घण्टाभित्रै हुन्छ,’ डा. पौडेल भन्छन्, ‘यस्तो मृत्यु प्रायः टाउको, मुटु वा मेरुदण्डको माथिल्लो भागमा गम्भीर चोट लाग्दा हुने गर्छ ।’
उनका अनुसार, गोली वा चोटपटक लागेका अधिकांशको भित्री रक्तस्रावका कारण ज्यान जाने हुन्छ ।
‘हड्डी, कलेजो, मिर्गौला जस्ता अंगमा चोट लाग्दा र भित्री रक्तस्राव हुँदा, बिरामी सुरुमा होसमा भए पनि केही घण्टामै अवस्था गम्भीर हुँदै जान्छ,’ डा. पौडेल भन्छन्, ‘उपचार सुरु गरिए पनि रक्तस्राव नियन्त्रणमा आउन नसके ज्यान जान सक्छ ।’
उनका अनुसार दोस्रो चरणको मृत्यु कम गर्नु चिकित्सकको उद्देश्य रहन्छ । ‘पहिलो चरणकोलाई रोक्न सकिन्न । तर दोस्रो चरणमा सघन उपचार, समयमै अपरेशनले धेरैलाई बचाउन सकिन्छ,’ डा. पौडेल भन्छन् ।
डा. पौडेलको भनाइमा, गत साता ट्रमामा ल्याइएका बिरामीहरूमध्ये अधिंकाशलाई दोस्रो चरणको चोट थियो । उपचार सुरु गरिएपछि धेरैको ज्यान बचाउन सकिएको थियो ।
‘हामीले प्रयास गर्यौं, केहीलाई बचायौं पनि । तर कतिपयलाई बचाउन सकिएन,’ उनले भने ।
प्रतिक्रिया 4