+
+
Shares
टिप्पणी :

घुमीफिरी रुम्जाटार नहोस् जेनजी आन्दोलन

परिवर्तनका मुद्दा बोक्नेहरूले संसद्‍मा दुईतिहाइ बहुमत आर्जन गर्न सकेनन् भने जेन–जी आन्दोलन घुमीफिरी रुम्जाटार भने जस्तै हुने र केही हात नलागी सकिने त होइन ?

निमेष बन्जाडे निमेष बन्जाडे
२०८२ असोज २ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २४ मा जेन–जी आन्दोलनको क्रममा आक्रोशित समूहले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड र कुटपिट गरेको थियो।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालय अवलोकन गरी कार्यालय भव्य बनाउने घोषणा गर्नुभयो।
  • जेन–जी आन्दोलनले अन्तरिम सरकार गठन र संसद् विघटन गराएको छ, जसले मुलुकलाई चुनावी माहोलमा पुर्‍याएको छ।

करिब १५ वर्षअघिको कुनै एक दिन, रिपोर्टिङको क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पुगेको थिएँ। देउवानिवास नजिकै बस्ने भए पनि त्यसयता गएको थिइनँ। जाने काम पनि परेन। भदौ २४ मा जेन–जी आन्दोलन चर्कंदै जाँदा आक्रोशित हुल देउवानिवास छिरेर तोडफोड, आगजनी गरेको तथा देउवा दम्पतीमाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए।

देउवा दम्पतीलाई उद्धार गर्न आकाशमा तीनवटा हेलिकप्टर आलोपालो करिब ४५ मिनेट घुमिरहे। धेरै पटक प्रयास गर्दा पनि हेलिकप्टर ल्यान्ड हुन सकेनन् र फर्किए। बेलुकीतिर नेपाली सेनाले हेलिकप्टरबाटै देउवा दम्पतीको उद्धार गरेको सुनियो। त्यसपछिका दिनमा भग्नावशेषमा परिणत घर हेर्न, केही महत्वपूर्ण वस्तु भेटिन्छ कि भनेर खोज्न जानेहरूको ताँती लाग्यो।

सञ्चारकर्मी भएको हुँदा आन्दोलनकारीको निराशामा परेको देउवानिवासको अहिलेको अवस्था कस्तो होला भन्ने जिज्ञासा मनमा छँदैथियो। त्यसैले ३० भदौ अर्थात् सोमबार जलेको देउवा निवासतिर लागें। चहलपहल निकै कम थियो। मुख्यगेट अस्थायी रूपमा बन्द थियो। गेटमै उभिएका एक व्यक्ति (सम्भवत: सिभिलमा खटिएका प्रहरी)ले सोधपुछ गरे। मैले आफ्ना कुरा राखें। तर उनले यहाँ बाइक रोक्न मिल्दैन, उता रोक्नुहोस् अहिले यहाँ बन्द छ भन्दै मलाई पन्छाउन खोजे। उनको हाउभाउ हेर्दा अलि असहज छ भन्ने भान भइसकेको थियो। तैपनि आई त हालियो सम्भव भए पसौंला नभए फर्किउँला भन्दै म अलिपर मोटरबाइक रोकेर गेटतिर अघि बढें।

बढ्दै गर्दा १५–२० जनाको समूहले मलाई झ्याप्प घेरा हाल्यो। मैले बोल्न नपाउँदै झम्टिउँला जसरी प्रश्नमाथि प्रश्न बर्साए। किन आएको? सुन खोज्न? तँलाई कसले पठाएको? त कसको भरौटे होस्? यस्ता थिए उनीहरूका प्रश्न। कसैले पठाएर होइन, आफ्नै रहरले म हेर्न मात्र आएको हुँ भनें। उनीहरूले चित्त बुझाएनन्, थप आक्रोशित देखिए। सबै जना एकैपटक कराउन थाले, ‘यसको हेलमेट खोल, मास्क खोल, कतैबाट परिचालित हो, हान् हान्।’

मैले तुरुन्तै हेल्मेट अनि मास्क खोलें। तीमध्ये केहीले मलाई चिने। नचिन्ने भन्दै थिए, ‘एक छाक रहेनछ, के ठिक पार्नु। म फर्किएँ।’

साँझतिर फेसबुक हेर्दै थिए। एमाले युवा नेता महेश बस्नेतको एउटा भिडियो भाइरल भएको रहेछ। बस्नेत भन्दैथिए, ‘कसले गोली हान्दो रहेछ हान म तयार छु, केपीबा राष्ट्रपिता हुन्, केपी बाको घर जलाएर राष्ट्रिय सम्पत्ति ध्वस्त पारेका छन्, यिनीहरूको एक–एक हिसाब हुनुपर्छ।’ एमालेले च्यासलको मुख्यालयमा खरानी टक्टक्याउँदै देशकै ठूलो झण्डा भनेर हँसिया हथौडा अंकित झण्डा पनि झुण्ड्याउने काम भयो।

जनताले नरुचाएका नेताहरू यति चाँडै सल्बलाउन किन सके ? जवाफ खोज्न धेरै निधार खुम्च्याउनै पर्दैन। जेन–जी आन्दोलनकारीको दृश्यमा देखिने न कोही नेता छ, न उनीहरूको उपलब्धिलाई जोगाउन सक्ने कुनै संगठित शक्ति ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालय अवलोकन गरे। उनले माओवादी कार्यालय अझ भव्य बनाउने घोषणा गरे। नेता–कार्यकर्ताले माओवादी केन्द्र जिन्दावाद, अध्यक्ष प्रचण्ड जिन्दावादको नारा घन्काए।

जेनजी आन्दोलनको मुख्य निशानामा परेका थिए; नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पुराना दल। आन्दोलनकारीले पार्टी कार्यालय जलाए, भेटेसम्मका नेता कुटे। सेनाले उद्धार गरेका तथा सुरक्षा खोज्दै आफैं प्रहरीको केन्द्रीय कार्यालय छिर्न भ्याएका नेता सकुशल रहे। तर, नेताहरू पार्टीका आफ्ना नेता–कार्यकर्ता, समाजका विभिन्न अंगसँग मात्र होइन, आफ्नै परिवारसँग पनि केही दिन सम्पर्कविहीन अवस्थामा थिए।

साता दिन बित्दा नबित्दै उनीहरू सार्वजनिक हुन थालेका छन्। ती दल पुन: उठ्ने प्रयासमा छन्। भलै नेताहरू सार्वजनिक रूपमा सार्वजनिक स्थलमा एक्लाएक्लै देखिएका छैनन्। आफ्ना कार्यकर्ताको झुण्डमै देखिएर उनीहरूले भन्न थालेका छन्, ‘हामी सकिएका छैनौं, फेरि उठ्छौं।’

निश्चित छ, परिस्थिति अलि सङ्लिएपछि उनीहरू थप सक्रिय हुनेछन्। निवर्तमान प्रधानमन्त्रीका छुरा जस्ता वाणी पुन: सुनिनेछ। अहिलेसम्म त उनी सेनाको ब्यारेकमै थन्किएका छन्।

जनताले नरुचाएका नेताहरू यति चाँडै सल्बलाउन किन सके ? जवाफ खोज्न धेरै निधार खुम्च्याउनै पर्दैन। जेन–जी आन्दोलनकारीको दृश्यमा देखिने न कोही नेता छ, न उनीहरूको उपलब्धिलाई जोगाउन सक्ने कुनै संगठित शक्ति । आन्दोलनकारी बीच पनि दिनहुँ झगडा छ। उनीहरू तितरबितर भइरहेका छन्। यो सर्वविदितै छ, यसअघिका हरेक आन्दोलनका बाहक दलहरूमा बलियो नेतृत्व थियो। माकुरे जालो जस्तो गाउँ–गाउँसम्म हरेक तह र तप्कामा संगठन थियो। र त्यो धेरै हदसम्म अहिले पनि विद्यमान छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई धेरैले जेन–जी आन्दोलनका अघोषित नेताका रूपमा हेर्छन्। यो सही पनि होला। तर उनको शक्ति पनि संगठित छैन। जाहेरै छ उनले अहिलेसम्म पार्टी खोलेको घोषणा गरेका छैनन्। भन्न सकिएला उनको आह्वानमा फेरि सडक भरिन सक्छ, तातिन सक्छ। तर एकपटक सेलाइसकेको मास त्यति चाँडो सडक कब्जा गर्न आइहाल्ने गरेको इतिहास नेपालको हकमा भेटिंदैन। त्यसमा पनि व्यक्तिहत्या, आगजनी र तोडफोडका घटना धेरै भएकाले राज्यले तिनमा संलग्नहरूलाई एक–एक गरेर समाउन शुरु गर्न थाले हिजोको शक्ति रक्षात्मक अवस्थामा नगई सुखै छैन।

जेनजीको रक्तपातपूर्ण आन्दोलनको जगमा नयाँ अन्तरिम सरकार बनेको छ। संसद् विघटन भएको छ। सबैले धेरै हदसम्म मानेको कुरा संविधान पनि जोगिएको छ। आन्दोलनकै रापतापले मुलुक चुनावी माहोलमा होमिएको छ। देशले चाँडै नयाँ जनादेश पाउने सम्भावना बलियो बन्दैछ। संसद् विघटनलाई असंवैधानिक भनेर गनगन गरेजस्तो देखिएका कांग्रेस, एमाले, माओवादीलगायत पुराना दल पनि निर्वाचनमा जान कम्मर कसिसकेका छन्।

जेनजीहरूको प्रतिनिधित्व गर्ने कुन शक्ति चुनावमा आउँछ त ? यो प्रश्न यतिबेलासम्म निरुत्तर छ।

अब घोषित मिति फागुन २१ मा चुनाव हुन सक्यो भने चुनावी मैदानमा पुराना दलहरू त हुने नै छन्, किनभने दल विनाको चुनावको कल्पना नै गर्न सकिंदैन। सम्भवत: धेरैले अनुमान गरेको बालेनको नयाँ पार्टी पनि सहभागी हुनेछ। चुनावपछि के होला एकछिनमा चर्चा गरौंला। पहिला चुनाव अघिको कुरा गरौं।

माथि भनिए जस्तै आन्दोलनको अहिलेको मुख्य उपलब्धि अन्तरिम सरकार र संसद् विघटन नै हो। त्यसो भए के आन्दोलनकारीले उठाएको माग यति हो त ? होइन। उनीहरूले सबैभन्दा दह्रोसँग उठाएको माग हो भ्रष्टाचारको अन्त्य। के अन्तरिम सरकारले एउटा शक्तिशाली आयोग बनाएर ६ महिनाभित्र सबै भ्रष्टाचारका काण्डमा छानबिन गर्न भ्याउला ? यो असम्भव छ। यसका लागि यति समयले पुग्दैन। सुशासनको मागमा यो सरकारले केही पाइला चाल्न सक्ला तर पर्याप्त हुँदैन।

रोजगारी सिर्जनाका लागि पनि काम गर्न चुनावी सरकारलाई सजिलो हुँदैन। उसको प्राथमिकता भित्र पर्ने कुरा पनि भएन। यो सरकारका प्राथमिकता भनेको निर्धारित समयमा चुनाव गराउने, शून्यमा पुगेको कानून र विधिको शासन स्थापित गर्ने, आन्दोलनका क्रममा भएका ज्यादतीको छानबिन गर्ने, ध्वस्त राष्ट्रिय सम्पत्ति पुनर्निर्माणको जग हाल्नु नै हो।

जेन–जी आन्दोलनले अहिले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि भनेको सत्तासीन दलहरूलाई सत्ताबाट लखेट्नु हो। त्यो कम्तीमा ६ महिनाका लागि। अब ६ महिनाभित्रै सम्पन्न हुने विश्वासका साथ (चुनाव समयमा नगरेर संक्रमणकाल लम्ब्याउने जोखिम पनि उत्तिकै हुन्छ) कुरा गरौं चुनावपछि के होला?

स्वीकार्नै पर्छ दलहरूको सांगठनिक नेटवर्क अहिले पनि बलियो छ। भलै पहिला जस्तो शक्तिशाली नहोला। आन्दोलन सकिएको एक साता नबित्दै देखिएको उनीहरूको सलबलाहटले पनि यो पुष्टि गर्छ। चुनावमा यिनीहरूले व्यापक मिहिनेत गर्नेवाला छन्। उनीहरूलाई गर या मर भने जस्तो हुँदैछ यो चुनाव । केही शीर्ष नेता चुनावी मैदानमा सहभागी नहुन पनि सक्लान्। जेनजीहरूको प्रतिनिधित्व गर्ने कुन शक्ति चुनावमा आउँछ त ? यो प्रश्न यतिबेलासम्म निरुत्तर छ। किनभने, जेनजी पुस्ताले भर गरेका भनिएका बालेनले अहिलेसम्म औपचारिक रूपमा दल दर्ताको तयारी गरेका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि यो आन्दोलनबाट बुमर्‍याङ खाएको देखिएको छ। यसको विश्लेषण पछि गरौंला।

तत्कालीन सत्ताधारीको कोपभाजनमा परेर नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारीबाट अपमानजनक रूपमा हटाइएका कुलमान घिसिङले पनि नयाँ पार्टी खोल्ने चर्चा थियो। तर, उनी अहिलेको अन्तरिम सरकारका मन्त्री बनेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार मात्रै बीबीसी नेपाली सेवासँगको संवादमा आगामी चुनावमा सहभागी नहुने व्यक्तिहरूलाई लिएर आफूले मन्त्रिपरिषद् विस्तार गरिरहेको बताएकी थिइन्। सरकारमा रहेका व्यक्तिले चुनावमा भाग लिंदा राज्यस्रोत र शक्तिको दुरुपयोग हुने उनको स्पष्ट भनाइ थियो। प्रधानमन्त्रीको यो भनाइलाई विश्वास गर्ने हो भने कम्तीमा आगामी निर्वाचनमा कुलमान प्रत्यक्ष संलग्न रहेर कुनै नयाँ पार्टी गठन हुने छैन।

अरू केहीले केही नयाँ पार्टी जन्माउलान्। यी नयाँ पुराना सबै पार्टी चुनावमा भिड्दा थोरै–थोरै सिट सबैले जित्ने होलान्। अहिलेको निर्वाचन प्रणालीबाट कुनै एक पार्टीले दुईतिहाइ बहुमत ल्याउनु असम्भव छ। संसद् विना संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्न सकिंदैन।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चयनको माग आन्दोलनकारीले उठाइरहेका छन्। त्यसका लागि निर्वाचन प्रणालीमा सुधार पहिलो शर्त हो। संघीयता, धर्मनिरपेक्षता, संघीय संसद्मा सांसद संख्या, पालिकाहरूको संख्या आदिमा पनि जनताले धेरै असन्तुष्टि व्यक्त गरिरहेका छन्। जनसरोकारका यी सबै विषयको सम्बोधन आगामी संसद्ले मात्रै गर्न सक्छ। तर, त्यो संसद्को अंकगणित सबैभन्दा महत्वपूर्ण हुनेछ।

परिवर्तनका मुद्दा बोक्नेहरूले सो संसद्‍मा दुईतिहाइ बहुमत आर्जन गर्न सकेनन् भने जेन–जी आन्दोलन घुमीफिरी रुम्जाटार भने जस्तै हुने र केही हात नलागी सकिने त होइन ? यो सम्भावनालाई पनि नकार्न सकिंदैन। यो अवस्था त्यतिबेला मात्र नआउने हो जतिबेला जेन–जी पुस्ताले उठाएका विचार बोक्नेहरूले आगामी संसद् भरिनेछ। पुराना दलभित्र पनि नयाँ पुस्ताले हस्तक्षेप गर्नेछन्। अनि, बाहिर रहेको नागरिक समाज सदैव सजग रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?