+
+
Shares

नेपाल प्रहरीलाई ट्रमाबाट बाहिर निकाल्ने कसरी?

कानुन पालना गराउन खोज्दा हरेक आन्दोलनमा प्रहरी नै प्रदर्शनकारीको मुख्य निशानामा पर्ने गरेका छन् । यसले नागरिकसँग प्रहरीको दूरी बढाइरहेको छ ।

दिनेशराज मैनाली दिनेशराज मैनाली
२०८२ असोज ३ गते १५:०७

सामान्यतया एउटा राष्ट्र हुनको लागि सीमानासहितको भूगोल, कानूनको परिपालना गराउने सरकार, इतिहास, भाषा, संस्कृतिसहितको नागरिक, चलायमान अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा फौज हुनु पर्ने परिकल्पना गरिएको हुन्छ ।

नागरिकको सर्वोपरी हितको खातिर सरकारले आफ्ना विभिन्न अवयवहरू मार्फत् कार्य गर्ने परिकल्पना समेत गरिएको हुन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका तीन वटा सुनौला सिद्दान्तमार्फत एकले अर्कोको अधिकार हनन गर्न नहुने र नागरिकको हित खातिर पूर्णरुपेण कर्तव्य पालना गर्ने अपेक्षा समेत गरिएको हुन्छ ।

तर सिद्दान्त र व्यवहारका बीच हुन जाने फरकबाट नागरिकले प्राप्त गर्नु पर्ने सेवा प्रवाहमा गम्भीर असर पर्छ । जसका कारण नागरिकमा व्यापक असन्तुष्टि पैदा हुन्छ र त्यही असन्तुष्टि आन्दोलनका रुपमा प्रस्फुटित हुन्छ ।

केही आन्दोलन यति जबरजस्त हुन्छन् कि तिनले सम्पूर्ण शक्तिको अभ्यास गरिरहेका सरकारलाई हेर्दा हेर्दै सत्ताबाट झारिदिन्छन् । यस्ता कयौं उदाहरण हाम्रैसामू छन् ।

नेपालको सन्दर्भमा हेर्नु पर्दा २००७ सालको राणा शासन विरुद्दको क्रान्ति, २००८ सालदेखि २०१५ सालसम्मको अन्तरिम कालखण्ड, २०१७ सालदेखिको पञ्चायत व्यवस्थाको शुरुवात, २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रह, २०४६ सालको जन आन्दोलनमार्फत पञ्चायत व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको प्रादुर्भाव, २०५२ सालदेखि शुरु भएको सशस्त्र द्वन्द, २०६२–०६३ को संयुक्त जन आन्दोलन, २०६३ मै भएको मधेश आन्दोलन प्रमुख राजनीतिक घटनाक्रम हुन् । यी सबै आन्दोलनको समष्टि रुपमा ३ असोज २०७२ मा जारी भएको नेपालको संघीय गणतान्त्रिक संविधान हो ।

नेपाली जनताका प्रतिनिधिले संविधानसभामार्फत संविधान बनाएको आज १० वर्ष पुगेको छ। यसको संघारमा २३ र २४ भदौको जेनजी आन्दोलन छ, जसले दुई दिनमै दुईतिहाइ बहुमतको सत्ता ढालिदियो ।

जेनजीद्वारा काठमाडौंको माइतिघर मण्डलाबाट बिहान शुरु भएको आन्दोलनका सहभागी नयाँ बानेश्वरस्थित संसद् भवनभित्र पस्न खोज्दा दु:खद घटना हुन पुग्यो । २३ गते सोही ठाउँमा १९ र उपत्यकाबाहिर २ गरी २१ जनाको ज्यान गयो ।

सयौं घाइते भए उनीहरु हालसम्म उपचाररत छन्। त्यसको प्रतिकारमा २४ गते मुलुकको करिव करिव सम्पूर्ण क्षेत्रमा हिंसा, लुटपाट र आगजनीका घटना भए। जसका अघि सत्ता टिक्न सकेन ।

आत्मरक्षाको अवस्थाबाट प्रहरीको मनोवल बढाउन नसके समाजमा अमनचैन कायम हुन सक्दैन । त्यसैले हातेमालो गर्न नागरिक पनि अग्रसर हुनुपर्नेछ ।

यस क्रममा मुलुकको संसद् भवन, प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखका सरकारीनिवास बालुवाटार लगायत मुलुकभरका अधिकांश नेपाल प्रहरीका कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भए। होटल, डिपार्टमेन्टल स्टोर, तथा अन्य व्यापारिक व्यक्तिगत सम्पत्तिमा समेत व्यापक क्षति गराइयो ।

प्रहरीका कार्यालयमा आगजनीपश्चात कर्मचारीहरूलाई आक्रोशित भीडले निर्घाट कुटपिट गरी मरणासन्न पारेका, खोला खोलामा लखेट्दै हत्याको प्रयास गरिएका कारूणिक दृष्यहरूले कुन चाँहि सभ्य नागरिकको मन नदुखेको होला र ?

नागरिक वा प्रहरी सुरक्षाकर्मी जसको दु:खद निधन भए पनि नेपाल आमाकै कोख न रित्तिने हो। अत: यस्ता प्रकारका असभ्य कार्यहरू पुन: हुन गर्न नदिनका लागि सम्बद्ध पक्षहरू सदैव सचेत रहनुपर्ने हुन्छ ।

२८ खर्ब भन्दा बढी आन्तरिक र बाह्य सार्वजनिक ऋण भएको मुलुकमा गरिएको खर्बौंको सम्पत्तिको थप क्षतिबाट कसरी बाहिर निस्कने हो? साथै लगभग कार्यालय, हातहतियार, पोशाक, सवारी साधनविहीन अवस्थामा रहेका नेपाल प्रहरी संगठनका सुरक्षाकर्मीहरूको सुरक्षा र धनको सुरक्षामा अहोरात्र खटिनु पर्ने भए पनि अब कस्तो मनोवलका साथ कार्य गर्ने हुन् ?

त्यो अहिलेको सन्दर्भमा अति सोचनीय विषय रहेको छ । एउटा मानिसले घोडालाई पानीसम्म लैजान सक्छ तर पानी पिलाउन सक्दैन भन्ने वाक्यांशलाई समेत मनोवलका सन्दर्भमा हेरिनुपर्दछ ।

भनिन्छ, कानूनको परिपालना गराउन पहिले आफू नै सुरक्षित हुनुपर्दछ । अहिलेको अवस्थामा आफू असुरक्षित भएको मनोवल रहेको प्रहरीद्वारा कसरी जनतालाई सुरक्षित गराउने भन्ने नै ठूलो समस्या देखिन्छ । तर जहाँ समस्या हुन्छ, त्यहींबाट नै समाधान निस्कन्छ भन्ने भनाइलाई आत्मसात गर्दै प्रहरी कार्यालयहरू मर्मत गरी मनोवल उकास्ने काम तत्काल थाल्नुपर्नेछ ।

उनीहरूलाई नागरिकको जनधनको सुरक्षार्थ दैनिक कार्यमा अभिप्रेरित गर्न हामी नागरिकहरू नै अग्रसर हुनु पर्ने खाँचो एकातर्फ छँदैछ। अर्कोतर्फ, आन्दोलनका क्रममा कारागारबाट भागेका आपराधिक व्यक्तिहरूलाई नियन्त्रणमा लिन, लुटिएका हातहतियारहरू तथा सञ्चारका साधनहरू फिर्ता गराउन पनि प्रहरीसँग नागरिकले हातेमालो गर्नुपर्नेछ । त्यसो नगरे अपराधि बाहिरै रहने र समाजमा त्रासको अवस्था कायमै रहने हुन्छ ।

तर, प्रहरीलाई समाजमा पुरानै अवस्थामा पुनर्स्थापित गर्न त्यति सहज पनि छैन। किनभने, जेनजी आन्दोलनको दोस्रोदिन प्रदर्शनकारीको मुख्य निशानामै प्रहरी परेका थिए र उनीहरुको मनोबल पूर्णरुपमा टुट्ने अवस्था बनेको थियो। यति हुँदा हुँदै पनि नागरिक र प्रहरीबीचको सम्बन्ध पुनर्स्थापनको विकल्प छैन । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं त्यो उपाय पहिल्याउनै पर्नेछ ।

आफैं असुरक्षित रहेको र मनोवल गिरेको प्रहरीले जनतालाई कसरी सुरक्षाको भरोसा दिलाउन सक्छ ?

त्यो उपाय भनेको प्रहरी संगठनले नागरिक र तिनको जनधनको रक्षा गर्ने पूर्ण व्यावसायिक धर्म निष्ठापूर्वक निर्वाह गर्दै मानवीयता, सेवाभाव र समर्पणभाव देखाउने तथा नागरिकले प्रहरी नै समाजको सबैभन्दा नजिकको सुरक्षा संयन्त्र हो उसँग नङ मासुको सम्बन्ध राख्नुपर्छ भन्ने गहिरो आत्मबोध गर्नु हो ।

यति हुन सक्यो भने प्रहरी-नागरिक सम्बन्धमा नयाँ सेतु बन्नसक्छ जसले समाजलाई हिजोभन्दा आज शान्त र सुरक्षित बनाउँछ ।

यो सँगसँगै राज्यले पनि प्रहरी संगठनको मनोबल उच्च बनाउन इमान्दार पहल गर्नुपर्छ। असहज परिस्थितिमै नेतृत्वको पहिचान र परीक्षण हुने हो। नेपाल प्रहरी संगठनको नेतृत्वबाट संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूका हित खातिर तालुक मन्त्रालयसँगको समन्वयमा गरिएका प्रयासहरू अविष्मरणीय रहनेछन् ।

प्रहरीका क्षतिग्रस्त कार्यालयहरूमा प्रधानमन्त्री र मन्त्रीहरूद्वारा हालै गरिएका निरीक्षणबाट समेत केही आडभरोसा त पक्कै पनि भएकै हुनुपर्दछ । तर, अकल्पनीय क्षति तथा आघात (ट्रमा) बाट निस्कन अझै धेरै गर्नुपर्नेछ। मातहत दर्जालाई विश्वासमा लिन पनि अथक प्रयासको खाँचो छ ।

(अपराधशास्त्रमा स्नातकोत्तर गरेका मैनाली नेपाल प्रहरीका पूर्वएसएसपी हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?