+
+
Shares
टिप्पणी :

जेनजी आन्दोलनबाट पुराना दललाई सच्चिने मौका

जनताको मन जित्न नसक्ने कुनै पनि शक्तिले शासन चलाउन सक्दैन। पुराना दलहरूमा हाम्रो विकल्प छैन भन्ने घमण्डले मुलुक खरानी भएको छ। सुशासन दिन नसक्ने शासन प्रणाली अब चल्न सक्दैन।

ईश्वरी जी.एम. ईश्वरी जी.एम.
२०८२ असोज ४ गते १६:०२

विश्वमा लोकतन्त्रको लहर छ। जनता सार्वभौम छन्। जनताको मतादेशलाई सम्मान गरी आम नागरिकमा प्रतिफल दिन सफल भएको राज्य प्रणाली दिगो भएका देखिन्छन्। निर्वाचनबाट अद्यावधिक बहुमत प्राप्त गर्दैमा मात्र पनि शासनले वैधता प्राप्त गर्दो रहेनछ। यो कुरा श्रीलंका, बंगलादेश, नेपालको अवस्थाले समेत देखाएको छ।

आज विश्वका कतिपय मुलुक असफल भएका छन्। जनतालाई सुरक्षाको प्रत्याभूति दिन नसक्ने, विधिको शासनबाट नचल्ने, सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसक्ने, नागरिकका अधिकारको संरक्षण गर्न नसक्ने राज्य व्यवस्था भयो भने त्यस्तो राज्य असफल हुन्छ। अफगानिस्तान, सिरिया, लेबनान, सुडान जस्ता राज्यहरू असफल भएका छन्। नेपाल कमजोर राज्यको रूपमा रहेको छ, बेलैमा सुधार गर्न सकिएन भने असफल हुनसक्ने स्थिति हुन्छ।

कुनै पनि समाजमा अहंकार र दम्भले विनाश निम्त्याउँछ। रावणको अहंकारले लंका समाप्त भएको, सद्दाम हुसेनको अहंकारले इराक सकिएको, हिटलरको अहम्ले विश्व ध्वस्त भएको दृष्टान्तहरू छन्।

दक्षिण अमेरिका, यूरोप र एशियाका कतिपय शासकहरूले देश छोडी भागेको अवस्था छ। नेपालको राणाशासन र पञ्चायत व्यवस्था, राजतन्त्र यही अहंकार, दम्भ, कुशासनले समाप्त भयो। सत्तामा बसेकाहरूले भजनमण्डलीको घेरा भन्दा बाहिरको अवस्था बुझ्न नसक्दा शासनबाट बहिर्गमन भएका विश्व घटनाहरू देखिन्छ। नेपालमा पनि देखिएको छ।

सत्ता स्वभावैले स्वेच्छाचारी हुन्छ। आफ्नो अनुकूल र स्वार्थ समूहको हितमा काम गरी भ्रष्टाचारमा लिप्त हुन्छ। कुरा विधिको शासनको गर्ने, व्यवहार र भूमिका बिचौलिया प्रभावमा गर्ने स्थितिले सरकारप्रति आम जनताको वितृष्णा बढेको हुन्छ। जनताले सरकारबाट सुविधा र प्रतिफलको अपेक्षा गरेका हुन्छन्। जनताको चाहना र आकांक्षालाई नबुझ्ने सरकार भयो र निहित स्वार्थ समूहको घेराभित्र नै रमाइरह्यो भने स्वतः पतन हुन्छ। यस्ता कुरामा राजनीतिक दल, तिनका नेतृत्व र सरकार सञ्चालन गर्नेहरूले समयमै बुझेनन् भने मुलुकले ठूलो पीडा भोग्नुपर्ने हुन्छ।

नेपालमा जनताले पटक–पटक गरेको क्रान्ति, जनआन्दोलन र सशस्त्र विद्रोह मार्फत निरंकुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापना गरेको भए पनि राजनीतिक शक्ति र दलहरूको क्रियाकलापले परिवर्तनलाई संस्थागत गर्न नसक्दा व्यवस्थाहरू बदलिएका छन्, संविधान च्यात्तिएका छन्।

यस पृष्ठभूमिमा संविधानसभाले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा र संकल्प सहितको संविधान जारी गरेको भए पनि निर्वाचित सरकारहरूले जनआकांक्षा अनुरुप सुशासन दिन नसक्दा युवा पिंढीमा राजनीतिक दलहरूप्रति वितृष्णा सुषुप्त रूपमा बढ्दै गएको अवस्था थियो।

जसको परिणाम २३ भदौमा जेनजीहरूले सडकमा गरेको विद्रोहले ठूला दलहरूले बनाएको बहुमतको सरकार धरासायी बनाइदियो। ७ बुँदे सहमतिबाट गठन भएको बहुमतको सरकारले न त संविधान संशोधनको विषय नै अगाडि बढाउन सक्यो, न त सुशासनको स्थिति नै कायम गर्न सक्यो। भ्रष्टाचार बढ्दै गयो, जनमत ठूला दल र सरकारको विरुद्धमा संगठित हुँदैगयो।

युवा समूह, आधुनिक प्रविधि, सामाजिक सञ्जालको अभिन्न अंग बनेको अवस्थामा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले युवा जेनजी पुस्तालाई सडकमा विद्रोहमा पुर्‍याउने पृष्ठभूमि तयार गर्‍यो। सुशासन, जवाफदेही सरकार र भ्रष्टाचारको रोकथाम र नियन्त्रणको विषय उठाई जेनजी समूहले गरेको आन्दोलन अन्ततः विध्वंसात्मक रूपमा परिणत हुनपुग्यो।

२३ भदौमा राज्य पक्षबाट प्रयोग गरिएको अत्यधिक बलका कारण भएको घटना र त्यसको परिणाम २४ गते अनेकौं घुसपैठ र आपराधिक समूहले राज्यका महत्त्वपूर्ण, ऐतिहासिक भवन, कागजात जलाउने, तोडफोड गर्ने र खास नेता र जनप्रतिनिधिहरूका निजी घर समेत जलाउने कार्य भयो। यस्तो दु:खद् अवस्था नेपालप्रति माया भएको नेपालीले कसरी गर्न सक्यो होला ? भन्ने प्रश्न देशभक्त नेपालीको मनमा उब्जिरहेको छ।

जेनजी आन्दोलन र सुध्रिने अवसर

जेनजी आन्दोलनले जनताका वर्तमान आवश्यकतालाई उठान गरेकाले पुराना दलहरूलाई आफ्ना विधान, रणनीतिक कार्ययोजनामा पुराना विचार, नारा र एजेन्डालाई परिमार्जन गर्ने अवसर मिलेको छ।

जनताको आधारभूत वास्तविक सरोकार (रोजगार, शिक्षा, स्वास्थ्य, पारदर्शिता आदि) तर्फ ध्यान केन्द्रित गरेर अघि बढ्नुपर्ने प्रेरणा मिलेको छ।

पुराना पार्टीहरूमा नेतृत्व वृद्ध पुस्ताको एकाधिकार रहिरहेकाले जेनजी आन्दोलनले युवाहरूको नेतृत्व क्षमता देखाएर पार्टीहरूलाई युवा अनुहार अघि सार्न बाध्य बनाएको छ। नेतृत्व हस्तान्तरण तथा दोस्रो/ तेस्रो पुस्ता तयार पार्ने सन्दर्भमा नयाँ सोच ल्याउने अवसर मिलेको छ।

राजनीतिक दलहरूभित्र निर्णय प्रक्रिया अलोकतान्त्रिक देखिएको परिवेशमा जेनजी आन्दोलनले पारदर्शिता र उत्तरदायित्वको माग गर्दै संस्थागत सुधारको दबाब सिर्जना गरेको छ। आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, भ्रष्टाचार हटाउने र कार्यकर्तामैत्री संरचना विकास गर्न दबाब दिएको छ। जनता र राजनीतिक दलबीचको दूरी बढेको बेला, जेनजी आन्दोलनले स्पष्ट सन्देश दिएको छ— “जनताका विश्वास गुमाएका दलहरू सुध्रिनुपर्दछ।”

राजनीतिक शक्ति र नेताहरू भजनमण्डलीको घेराभित्र सीमित नभई युवा समूहको भावना अनुरुप मुलुकलाई निकास दिन समयमै सचेत हुन आवश्यक छ। अहंकार र दम्भलाई समाप्त गरी मुलुक र जनताको सर्वोत्तम हितमा लाग्न सच्चिने मौका छ। यो मौका गुमाइयो भने पुराना राजनीतिक दलहरूको प्रभावमा ठूलो क्षयीकरण हुने अवस्था देखिएको छ।

युवाहरूको आन्दोलनप्रति सकारात्मक दृष्टिकोण राखी दलहरूले जनतासँग संवाद बढाई जनहितमा काम गर्न बाध्य बनाएको छ। नयाँ सोचका साथ आफ्नो सञ्चार, प्रचार र संगठनको स्वरुपमा सुधार ल्याउन सक्ने बाटो देखाएको छ। पछिल्लो समय सबै पुराना पार्टीहरूमा कार्यकर्ताको भूमिका उपेक्षित हुँदै गएको भन्ने नयाँ पिंढीमा अनुभूति भएको अवस्थामा यस आन्दोलनले कार्यकर्ताको मूल्य र विचारलाई केन्द्रमा राख्न दबाब दिएको छ। नेतृत्व–कार्यकर्ता सम्बन्धलाई विश्वास, विचार र इमानदारीमा आधारित बनाउने मौका मिलेको छ।

विगतमा राजनीतिक दलहरूले सडक आन्दोलनलाई मात्र आफ्नो अधिकार ठानेकोमा अब नागरिकस्तरबाट आएको आन्दोलनले जनदबाबलाई गम्भीरताका साथ लिन सन्देश दिएको छ। शान्तिपूर्ण नागरिक आन्दोलनप्रति सकारात्मक र जिम्मेवार व्यवहार सिक्ने मौका आएको छ। स्वतन्त्र उम्मेदवारहरू वा नयाँ दलहरूसँग संवाद र सहकार्य गर्ने वातावरण तयार गर्नु आवश्यक छ। नयाँ दल र शक्तिहरूसँग देश विकासका साझा मुद्दाहरूमा एकै ठाउँमा उभिएर देश र जनहितका लागि सहकार्य गर्ने स्थिति सिर्जना भएको छ।

जेनजी पुस्ताको असन्तुष्टि देखेपछि केही पुराना दलहरूले आन्तरिक समीक्षा गर्न थालेका छन्। युवालाई अवसर दिने, प्रविधिको उपयोग गर्ने प्रयास हुन थालेका छन्। विचार, नीति र कार्यक्रमहरूलाई जेनजी पुस्ता अनुकूल बनाउने थालनी भइरहेको छ (जस्तै: वातावरण, लैङ्गिक समानता, डिजिटल अधिकार आदि)। जेनजी आन्दोलनले नेपाली राजनीतिमा व्याप्त सत्ता, पद र लाभप्रतिको मोहको विरोध गर्दै राजनीति भनेको जनसेवा हो भन्ने नयाँ धारणा स्थापित गरेको छ।

यस आन्दोलनले जनसरोकारका मुद्दा उठाएर राजनीति जनताको हितका लागि हुनुपर्छ भन्ने देखाएको छ। युवाहरूको स्वत:स्फूर्त, नि:स्वार्थ सहभागिता मार्फत राजनीति कुनै पेशागत लाभ होइन, नैतिक उत्तरदायित्व हो भन्ने सन्देश समेत दिएको छ। नेताको रूपमा होइन, जिम्मेवार नागरिकको रूपमा अगाडि आउने शैलीले सेवा–केन्द्रित राजनीति अभ्यासको उदाहरण समेत प्रस्तुत गरेको छ। पुराना दलहरूलाई सुधार र आत्म मूल्यांकन गर्न बाध्य बनाउँदै, राजनीति शुद्धीकरण र सामाजिक उत्तरदायित्वतर्फ मोड्ने चेतना समेत जगाएको छ।

चुनौती

नेपाल जहिले पनि राजनीतिक अस्थिरताबाट ग्रुज्रिनु परेकाले समृद्धि हासिल गर्न कठिन भएको छ। युवा जनशक्तिहरू विदेश पलायन हुने, राज्य व्यवस्थामा आकर्षित गर्ने र सहभागिताको अवसर नहुने कारणले पुराना पिंढीप्रति उनीहरूको सकारात्मक दृष्टिकोण देखिंदैन।

पुराना पिंढीहरूले युवा पिंढीहरूको विचार बुझ्न नसक्दा जेनजी विद्रोहको स्थिति सिर्जना भएको हो। अबको नेपाल युवाहरूकै हो भन्ने बुझी नेतृत्व हस्तान्तरण आवश्यक छ। संविधानलाई सही रूपमा कार्यान्वयनका निम्ति संशोधन गर्न, महँगो निर्वाचन व्यवस्थामा सुधार, अनुत्पादक खर्चमा रोक, प्रभावकारी सेवाप्रवाह र दिगो विकास आवश्यक छ।

अहिलेको मुख्य चुनौती भनेको शान्ति सु-व्यवस्था कायम गर्नु, भ्रष्टाचारको रोकथाम र सुशासनको प्रत्याभूति र राज्य व्यवस्थाप्रति युवाहरूको विश्वास सिर्जना गर्नु हो। युवाहरूलाई रोजगारीको सुनिश्चितता, शिक्षा र स्वास्थ्यमा सुधार, गरिबी निवारण, राजनीतिक दलहरूको आचरणमा परिवर्तन गर्न सक्नु हो। बसाइँसराइको चापले पहाड खाली हुँदै जाने, शहर अव्यवस्थित बन्ने, वनजंगल अतिक्रमण हुने, सुकुम्बासीको समस्या समाधान कहिल्यै नहुने, बाचा कानूनी राज्यको, व्यवहार स्वेच्छाचारी गर्ने प्रवृत्ति नै अहिलेको मुख्य समस्या हो। यही कारण विद्रोह देखा परेको हो।

अहिलेको समस्या र चुनौती सामना गर्न राजनीतिक शक्तिहरूले स्पष्ट मार्गचित्र बनाउनुपर्ने हुन्छ। क्षणिक स्वार्थमा सीमित नभई लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न जेनजी समूहको माग पूरा गर्न केन्द्रित हुनुपर्दछ। सार्वजनिक सम्पत्तिहरू खरानी भएकोमा खरानीलाई मुठ्ठीमा राखी प्रवृत्तिमा सुधार गर्न बाचा गर्दै अगाडि बढ्नु आवश्यक छ। जनताको मन जित्न नसक्ने कुनै पनि शक्तिले शासन चलाउन सक्दैन। पुराना दलहरूमा हाम्रो विकल्प छैन भन्ने घमण्डले मुलुक खरानी भएको छ। सुशासन दिन नसक्ने शासन प्रणाली अब चल्न सक्दैन।

युवाहरूको भत्किएको मनलाई टाल्न सक्नुपर्दछ, केवल आश्वासनले मात्रै हुँदैन। परिवर्तन हुने किसिमको व्यवहार हुनुपर्दछ। प्रत्येक पिंढीले आफ्नो भविष्यको निम्ति आफैंले शासन प्रणाली रोज्न सक्दछ। विश्वास गुमाएको नेतृत्व युवा पिंढीमा स्वीकार्य देखिन्न। युवाहरूले नै राजनीतिक नेतृत्व लिनुपर्ने हुन्छ। अब नेताहरूले पुरानो हठ त्याग्नु जरूरी छ। राजनीतिक दलहरूमा व्यापक शुद्धीकरणको आवश्यकता छ।

अबको बाटो

मुलुकका राजनीतिक शक्तिहरूले संविधान, गणतन्त्र, समावेशीकरण, मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न ऐक्यबद्ध भई संविधानको सर्वोच्चतालाई बचाउनु आवश्यक छ।

राजनीतिक शक्ति र नेताहरू भजनमण्डलीको घेराभित्र सीमित नभई युवा समूहको भावना अनुरुप मुलुकलाई निकास दिन समयमै सचेत हुन आवश्यक छ। अहंकार र दम्भलाई समाप्त गरी मुलुक र जनताको सर्वोत्तम हितमा लाग्न सच्चिने मौका छ। यो मौका गुमाइयो भने पुराना राजनीतिक दलहरूको प्रभावमा ठूलो क्षयीकरण हुने अवस्था देखिएको छ।

(लेखक एमाले नेतृ एवं निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?