+
+
Shares

जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति

२४ भदौको आन्दोलनले विशेषगरी विभिन्न व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरेको र त्यसको प्रत्यक्ष मारमा आफ्नो समूह परेको सीजीले स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौमा भएको जेनजी आन्दोलनले चौधरी समूहलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुर्‍याएको छ।
  • सीजी समूहले सरकार समक्ष व्यवसाय पुनरुत्थानका लागि विशेष राहत र सुविधा माग गरेको छ।
  • सीजीले दीर्घकालीन सुरक्षा, बीमा दाबी द्रुत भुक्तानी, ऋण पुनर्संरचना र सेजसरह सुविधा आवश्यक रहेको उल्लेख गरेको छ।

५ असोज, काठमाडौं । २३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ ।

यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो । शनिबार अर्थमन्त्री रामेश्वर खनालले गरेको सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना निरीक्षण क्रममा समूहले सरकार समक्ष यस्तो जानकारी गराउँदै क्षतिग्रस्त व्यवसायको पुनरुत्थानका लागि विशेष राहत र सुविधा माग गरेको छ ।

२४ भदौको आन्दोलनले विशेषगरी विभिन्न व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरेको र त्यसको प्रत्यक्ष मारमा आफ्नो समूह परेको सीजीले स्पष्ट पारेको छ ।

सीजीका अनुसार सतुङ्गलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यवसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् ।

यसैगरी सोही परिसरमा रहेको सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको छ । राजधानी लगायत विभिन्न स्थानमा रहेका समूहका अन्य प्रतिष्ठानहरू पनि यसको चपेटामा परेका छन् । थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा तोडफोड तथा आगजनी गरिएको छ ।

सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास रविभवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ ।

काठमाडौं उपत्यकाका ललितपुर, विशालनगर लगायत क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुममा पनि ठूलो क्षति पुर्‍याइएको छ । चितवन भरतपुरमा रहेको सीजी ल्यान्डमार्क व्यावसायिक भवन तथा पसलहरूमा लुटपाट तथा तोडफोड गरिएको छ भने जोरपाटीमा रहेको सीजी एजुकेसनको चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ । विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिने ६ वटा गाडीमा समेत आन्दोलनकारीले आगो लगाएको सीजीले जनाएको छ ।

यति ठूलो क्षति भोग्नु परे पनि सीजीले आफ्ना कुनै पनि कर्मचारीलाई नहटाउने प्रतिबद्धता जनाएको छ । समूहको इलेक्ट्रोनिक्स डिभिजन सतुङ्गलमा मात्रै १ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना भएको र हजारौंको संख्यामा अप्रत्यक्ष रोजगारी निर्भर रहेको समूहले उल्लेख गरेको छ । समूहले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको पनि जनाएको छ ।

क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि सीजीले सरकार समक्ष विभिन्न सुझाव राखेको छ । जसमा व्यवसायको दीर्घकालीन सुरक्षा प्रत्याभूति, बीमा दाबीको द्रुत भुक्तानी, क्षतिग्रस्त व्यवसायका लागि ऋण पुनर्संरचना र ब्याज मिनाहा, निर्माण सामग्री तथा प्लान्ट मेसिनरीको पैठारीमा शतप्रतिशत छुट, क्षतिग्रस्त सवारीसाधनमा सहुलियत, लेखा परीक्षणमा लचकता र सेज (विशेष आर्थिक क्षेत्र) बाहिरका उद्योगलाई समेत सेजसरह सुविधा प्रदान गर्नुपर्ने लगायत सुझाव समावेश छन् ।

यस घटनाले नेपाली व्यवसायिक क्षेत्रमा गम्भीर चुनौती थपेको र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने भन्दै चौधरी समूहले सरकारलाई यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन र आवश्यक सहयोगका लागि पहल गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?