८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने बताएका छन् ।
अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा गर्दा दु:ख कष्ट सहनु परेकाले आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्नुपर्ने शर्माको राय छ ।
‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ्ग नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन,’ पूर्वमन्त्री शर्माले भनेका छन्, ‘हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दु:ख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौं ।’
शर्मा अर्थमन्त्री हुँदा काठमाडौंको चन्द्रागिरि, चित्लाङ हुँदै चितवन जोड्ने वैकल्पिक सडक बनाउने योजना बजेटमा राखेका थिए । ‘नेपालीको सपना : परिवर्तनकारी पूर्वाधार योजना’ शीर्षकको २१३ नम्बर बुँदामा काठमाडौं–चितवन द्रुतमार्ग बनाउने उल्लेख छ र यदि सो द्रुतमार्ग बनेमा काठमाडौं–चितवन यात्रा एक घण्टामा सम्भव हुने उल्लेख छ ।
‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर बुटवल, चितवन– रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अगाडि बढाइने छ । यसबाट काठमाडौंदेखि बुटवल र काठमाडौंदेखि पोखरासम्मको यात्रा अवधि उल्लेख्य मात्रामा छोटिने छ,’ बजेट वक्तव्यको २१३ नम्बर बुँदामा लेखिएको छ । तर उनको यो योजना त्यसपछि बनेका सरकारले खारेज गरेका थिए ।
अहिले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेर लामो समयसम्म सवारी आवागमन अवरुद्ध भएका बेला पूर्वमन्त्री शर्माले आफ्नो त्यही योजना स्मरण गराएका हुन् ।
प्रतिक्रिया 4