आघातजन्य घटनापछि मानिसमा तुरुन्तै मानसिक समस्या देखापर्छ । हिंसात्मक रिल्स वा सामाजिक सञ्जालमा देखिएका विभत्स दृश्यले मानिसमा तत्कालीन तनाव उत्पन्न गर्छ ।
यस्ता दृश्यले टाउको दुख्ने, भावनात्मक रूपमा अस्थिर हुने, रुने वा अत्यधिक संवेदनशील हुने जस्ता लक्षण देखिन्छन् । भावनात्मक प्रभावले एक-दुई दिनसम्म रुन मन लागिरहने, टाउको दुख्ने, खान मन नलाग्ने जस्ता समस्या हुन्छन् । जेनजी आन्दोलनपछि पनि आम मानिसले यस्तै महसुस गरेका थिए ।
आघातजन्य घटना वा र आन्दोलनहरूमा देखिने विभत्स दृश्यले मानिसको मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ र यसको हल के हो ? नेपालमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ ? यिनै विषयमा मानसिक आघातबाट सिर्जना हुने मानसिक स्वास्थ्य प्रभावको विषयमा युनिभर्सिटी अफ ओस्लोबाट विधावारिधि गरेका मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइरालासँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले कुराकानी गरेका छन् । प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश :
जेनजी आन्दोलनपछि मानसिक तनाव, निराशा र चिन्ताका कारण अस्पतालमा आउने बिरामीको संख्या बढेको देखिन्छ । यसले आम मानिसको मानसिक स्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?
पछिल्लो समय अस्पतालमा मानसिक बिरामीको संख्या बढ्दो छ । हालैको जेनजी आन्दोलनले पनि समाजमा ठूलो प्रभाव पारेको छ । यो आन्दोलनको असर शारीरिक चोटपटक वा भौतिक संरचनाको क्षतिमा मात्र सीमित छैन । देशको अवस्था, सामाजिक परिवर्तनको दिशा र भविष्यको अनिश्चितताले प्रत्येक व्यक्तिमा डर र त्रास उत्पन्न गरेको छ ।
यस्तो डरले मानिसको मनमा उथलपुथल ल्याएको छ । जसले मानसिक स्वास्थ्य समस्याबाट ग्रसित व्यक्तिलाई थप जटिलता थपेको छ । स्थिर अवस्थामा रहेका बिरामीहरूलाई यस्ता घटनाले रोग झन् बढाइदिएको छ । आन्दोलनका आघातजन्य घटनाले निद्रामा तर्सिने, सपनामा डरलाग्दा आवाजहरू सुनिने जस्ता लक्षण लिएर अस्पताल आउनेको संख्या बढेको छ ।
तपाईंकहाँ आउने बिरामी कस्तो खालको हुनुहुन्छ ? यस्ता घटनाले दीर्घकालीन असर पनि पार्छ ?
पछिल्लो समय अस्पताल आउने बिरामीहरूमा मानसिक स्वास्थ्य समस्याको प्रभावलाई दुई भागमा बाँडेर हेर्न सकिन्छ- तत्कालीन र दीर्घकालीन ।
तत्कालीन अवधिको प्रभावले आघातजन्य घटनापछि तुरुन्तै देखिने लक्षणहरूलाई जनाउँछ । उदाहरणका लागि, हिंसात्मक रिल्स वा सामाजिक सञ्जालमा देखिएका विभत्स दृश्यले मानिसमा तत्काल तनाव उत्पन्न गर्छ ।
यस्ता दृश्यले टाउको दुख्ने, भावनात्मक रूपमा अस्थिर हुने, रुने वा अत्यधिक संवेदनशील हुने जस्ता लक्षण देखिन्छन् । जेनजी आन्दोलनले धेरै मानिसलाई भावनात्मक रूपमा प्रभाव पारेको थियो । उनीहरूलाई एक-दुई दिनसम्म रुन मन लाग्ने अवस्था भयो ।
आघातजन्य घटनापछि मानिसको शरीर र मनले स्वाभाविक रूपमा प्रतिक्रिया दिन्छ । यस्ता घटनाले निद्रा बिग्रने, छटपटी हुने, मन आत्तिने, अरूसँग बोल्न मन नलाग्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । धेरैले तत्कालीन अवधिको प्रभाव अनुभव गर्छन् र समयसँगै सामान्य बन्दै जान्छ ।
तर, केही मानिसमा दीर्घकालीन प्रभाव छोड्छ । ठूलो जनसंख्यामा सानो प्रतिशत प्रभावित भए पनि, त्यो संख्या लाखौंमा हुनसक्छ । यस्तो प्रभावलाई एक महिनाको समयसीमाभित्र छोटो र दीर्घकालीन प्रभावको रूपमा छुट्याइन्छ । दीर्घकालीन प्रभावमा पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर जस्ता समस्या देखिन सक्छन् । जसमा व्यक्तिलाई बारम्बार आघातका दृश्यहरु आउँछन् । जस्तै: गोली लागेको, साथीभाइ घाइते भएको, घर जलेको जस्ता डरलाग्दा दृश्यहरूको सम्झना वा सपनामा दोहोरिन सक्छन् ।
प्रत्यक्ष रूपमा आघात भोग्नेहरूलाई मात्र होइन, रिल्स, समाचार वा अरूको कुरा सुनेर अप्रत्यक्ष रूपमा प्रभावित हुनेहरूलाई पनि असर गर्छ । जसलाई भिकेरियस ट्रमा भनिन्छ । यस्ता प्रभावले डिप्रेसन, चिन्ता, उदासिनता जस्ता दीर्घकालीन समस्याहरू निम्त्याउन सक्छ । यस्ता लक्षणहरू अहिले नै देखिन थालेका हुन सक्छन् वा केही समयपछि देखा पर्छन् ।
कोरोना महामारी, बाढी–पहिरो, द्वन्द्वकाल र पछिल्लो जेनजी आन्दोलन हामीले भोगिसकेका छौं । यस्ता घटनाले मानिसमा पर्ने तत्कालीन आघात र मानसिक समस्यालाई कसरी हल गर्न सकिन्छ ?
जसरी कुनै चोट लाग्दा वा दुर्घटना हुँदा हामी शरीरको प्राथमिक उपचार (फर्स्ट एड) गर्छौं । जस्तै, मानिस रगत बग्दा घाउ थिचेर रोक्ने गरिन्छ । त्यसैगरी मानसिक स्वास्थ्यमा पनि ‘साइकोलोजिकल फर्स्ट एड’ (मनोसामाजिक प्राथमिक उपचार) हुन्छ ।
भूकम्प वा आन्दोलन हुँदा मानिसमा सबैभन्दा पहिले डर र त्रास आउँछ । त्यसैले, सकेसम्म सुरक्षित वातावरण सिर्जना गर्नुपर्छ । भूकम्प वा आन्दोलन भइरहेको छ भने सुरक्षित ठाँउमा सर्नुपर्छ । आत्तिएको मानिसलाई सम्झाउनुपर्छ । यसले त्रासलाई कम गर्छ ।
दोस्रो, सञ्चार (कम्युनिकेसन) ।
तनाव हुँदा भावना व्यक्त गर्ने ठाउँ दिनुपर्छ । धेरैजना त्रसित भएर बोल्न छोड्छन्, कोठामा थुनिन्छन् वा सम्पर्क हुँदैन । यदि उनीहरूले मनको भावना व्यक्त गर्न पाए भने सहानुभूति मिल्छ ।
तेस्रो, सकेसम्म छिट्टै दिनचर्यामा फर्काउनुपर्छ । समयमा उठ्ने, सुत्ने, व्यायाम गर्ने, खाने र सक्रिय रहने गर्नुपर्छ । यसले तनावबाट बाहिर निकाल्छ ।
चौथो, घाउ कोट्याउनु हुँदैन ।
जुन कुराले त्रास दियो, त्यसको अत्यधिक एक्सपोजरबाट बच्नुपर्छ । विशेषगरी, आन्दोलनमा मिसइन्फर्मेसन (गलत सूचना) ले साँचो घटनाभन्दा बढी हानि पुर्याउँछ । यसले मानिसलाई भयभीत बनाएको छ । मिडिया र व्यक्तिले गलत सूचना नियन्त्रण गर्न सिक्नुपर्छ । यी सबैलाई मनोसामाजिक प्राथमिक उपचार भनिन्छ ।
जेजनी आन्दोलनमा युवाहरू अग्रसर थिए । आन्दोलनको क्रममा गोली लागिरहेको साथी देख्नु वा घटना नजिकबाट प्रत्यक्ष अनुभव गरेका व्यक्तिमा मानसिक असर कस्तो देखिएको छ ?
समग्रमा हेर्दा आन्दोलनमा युवाहरू अग्रसर भए पनि सबैभन्दा बढी प्रभाव वयस्क र व्यवसायीलाई परेको देखिन्छ । जसले पत्रपत्रिका पढ्ने, सामाजिक सञ्जालमा रिल्सहरू हेर्ने र मोबाइलमार्फत यस्ता घटनाहरूको प्रत्यक्ष वा अप्रत्यक्ष जानकारी गरे ।
यो आन्दोलनमा सहभागी युवालाई चाहेर वा नचाहेर घटनासँग जोडिएर जिम्मेवारीको अनुभूति गरायो । आन्दोलनले राम्रो परिणाम ल्याएमा तारिफ पाइने र बाटो बिराएमा गाली खाने अवस्था सिर्जना भयो । समाजको सोच र प्रवृत्तिका कारण युवाहरूमा मानसिक प्रभाव गहिरो रूपमा परेको छ । परामर्शमा आउँदा उनीहरूले यही आन्दोलन र त्यसले ल्याएको तनाव, जिम्मेवारी र सामाजिक दबाबका बारेमा कुराकानी गर्छन् ।
मुख्यतया मन आतिने, निद्रा बिग्रिने र डराउने जस्ता समस्या छन् । यी पुराना लक्षणहरू र समस्याहरू झन् बढ्दै गएका छन् ।
नेपालले विगतदेखि अनेकौं संकट भोगेको छ । यस्ता संकट र आन्दोलनहरू लगातार र छोटो अन्तरालमै आइरहँदा मानिसको मानसिक स्वास्थ्यमा दीर्घकालीन रूपमा कस्तो असर पर्छ ?
एउटा आन्दोलनको प्रभावबाट मुश्किलले बाहिर निस्कँदै गर्दा अर्को अप्रत्यासित चोट आइलाग्दा मानिसको सहनशिलतामा असर पर्छ । यसलाई क्युमुलेटिभ ट्रमाको रूपमा बुझ्छौँ ।
जब एउटा आघातमाथि अर्को आघात थपिँदै जान्छ । ती चोटहरूको सही ढंगले समाधान नगर्दा मानसिक अवस्थामा गहिरो प्रभाव पर्छ । यदि पुराना चोटहरूको उपचार नगरी नयाँ चोटहरू थपिँदै गए भने त्यसले ठूलो र गहिरो प्रभाव पार्छ ।
यो क्युमुलेटिभ ट्रमासँगै कलेक्टिभ ट्रमाको अवधारणामा पनि जोडिन्छ । कलेक्टिभ ट्रमा भनेको आघात एउटा व्यक्तिले मात्र भोगेको हुँदैन, सम्पूर्ण समाजले सामूहिक रूपमा भोग्छ । समाजले यस्ता घटनाहरूलाई हेर्ने र बुझ्ने तरिका फरक हुन्छ, तर यसको प्रभाव सबैमा पर्छ । यस्ता आघातहरूबाट समाजलाई बाहिर निकाल्न र अगाडि बढाउन सामूहिक प्रयास आवश्यक छ ।
तर, हाम्रो सन्दर्भमा प्रश्न उठ्छ- हामीले यस्ता आघातहरूको निवारणमा कति काम गरेका छौं ? द्वन्द्वकालका पीडाहरूको समाधान भएको छ कि छैन ? भूकम्पका कारण मानसिक आघात भोगेका व्यक्तिहरू अझै पनि म कहाँ आउँछन् र भन्छन्- मेरो समस्या भूकम्पपछि सुरु भएको हो ।
मैले दश वर्षअघि द्वन्द्वकालको प्रभावबारे अध्ययन गर्दा पनि त्यसको असर देखिएको थियो । आज पनि गहिरिएर हेर्ने हो भने ती समुदायमा त्यसका अवशेष भेटिन्छन् ।
यी आघातहरूको निवारणका लागि सरकारको पनि दायित्व हुन्छ । बाहिरी घाउहरू मात्र होइन, मनका घाउहरू निको पार्नु पनि उत्तिकै जरुरी छ ।
मनको रोग दीर्घकालीन रूपमा भोगिरहेका व्यक्तिमा शारीरिक रोगहरू जोडिएर आउन सक्छन् ?
मानसिक तनाव र शारीरिक स्वास्थ्यबीच गहिरो सम्बन्ध छ । मानसिक तनावले मानव शरीरमा दीर्घकालीन रोगहरू निम्त्याउन सक्छ । जस्तै: उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या । तनावले शरीरमा साइटोकाइन्सजस्ता प्रोटिन मलिक्युलहरूको स्तर बढाउँछ, जसलाई इन्फ्लामेटरी बायोमार्कर्स भनिन्छ । यी बायोमार्कर्सले शरीरमा विभिन्न परिवर्तन ल्याउँछन्, जसले रोगहरूको जोखिम बढाउँछ ।
मानसिक स्वास्थ्यको अध्ययन शारीरिक स्वास्थ्यको तुलनामा निकै पछाडि छ । औषधि विज्ञानको विकास धेरै पहिलेदेखि भए पनि मानसिक स्वास्थ्यसँग सम्बन्धित उपचारको अध्ययन भर्खरै सुरु भएको छ । मन र शरीरको सम्बन्धलाई गहिरिएर हेर्दा तनावले निद्रा, खानपान र समग्र जीवनशैलीमा असर गर्छ । तनावका कारण कतिपयलाई खानामा रुचि कम हुन्छ, कतिपयले अत्यधिक खान्छन्, र कतिपयलाई निद्रा लाग्नै छाड्छ । यस्ता साना-साना परिवर्तनले शरीरको हरेक पक्षमा गहिरो प्रभाव पार्छ ।
नेपालमा मानसिक स्वास्थ्यबारेको बुझाइ कस्तो छ ?
विश्वमै मानसिक स्वास्थ्यको अवस्था खासै राम्रो छैन । विकसित देशहरूमा समेत मानसिक क्षेत्रमा पर्याप्त काम भएको छैन । नेपालमा चुनौतीहरू धेरै छन् ।
उदाहरणका लागि, नर्वेमा हाम्रो भन्दा कम जनसंख्या भएर पनि दुई हजारभन्दा बढी साइक्याट्रिस्ट छन् । नेपालमा भने साइक्याट्रिस्टहरूको संख्या जम्मा २०० हाराहारीमा छ । यो अवस्थाले हाम्रो चुनौती स्पष्ट गर्छ ।
सकारात्मक पक्ष के छ भने, पहिलेको तुलनामा मानसिक स्वास्थ्यप्रति सचेतना बढेको छ । सरकारले पनि यस विषयलाई पहिलेभन्दा बढी महत्त्व दिन थालेको छ । मानसिक स्वास्थ्यमा बजेट पनि बढाउँदै लगिएको देखिन्छ ।
मानसिक स्वास्थ्य समस्या हुनुका कारण के–के हुन् ?
मानसिक समस्या एउटै कारणले उत्पन्न हुँदैन, विभिन्न पक्षहरूले योगदान गर्छन् । मुख्य रूपमा तीन कारणले मानसिक स्वास्थ्यलाई प्रभाव पार्छन् । पहिलो, जैविक वा वंशाणुगत कारण, जस्तै- जेनेटिक कारकहरू वा शारीरिक समस्या ।
दोस्रो, सामाजिक कारण जसमा द्वन्द्वकाल,जेनजी आन्दोलन, भूकम्प, कोभिड जस्ता घटना ।
तेस्रो, मनोवैज्ञानिक पक्ष जसमा व्यक्तिको सोच्ने तरिका र परिस्थितिलाई बुझ्ने दृष्टिकोणले भूमिका खेल्छ ।
हाम्रो देशले एकपछि अर्को ठूला आघातहरू भोगेको छ । कोरोना जस्ता विश्वव्यापी समस्या सबै देशमा आए । तर द्वन्द्वकाल जस्ता घटनाको अनुभव सबैले गरेका छैनन् । नेपालले निरन्तर यस्ता संकटहरूको सामना गर्नुपरेको छ जसले हाम्रो मानसिक स्वास्थ्यमा गहिरो असर पारेको छ ।
मानसिक तनाव उत्पन्न हुनुमा सामाजिक कारणबाहेक आर्थिक समस्याले पनि महत्वपूर्ण भूमिका खेल्छ । भविष्यको चिन्ता, रोजगारी अभाव र वर्षौंसम्म परिवारबाट टाढा बस्नुपर्ने बाध्यताले मानसिक तनाव बढाउँछ ।
धेरै नेपालीहरू अध्ययन तथा रोजगारीका लागि विदेश बस्नुपर्ने बाध्यतामा छन् । धेरै दुई-तीन वर्षमा एकपटक मात्र परिवारसँग भेट्न सक्ने अवस्थामा छन् । यसले पनि मानसिक स्वास्थ्यलाई गहिरो रूपमा प्रभावित गरिरहेको छ ।
आत्महत्या गरेकामध्ये ७० प्रतिशतलाई मानसिक स्वास्थ्य समस्याको कारण देखाइएको छ । किन यस्तो भइरहेको छ ?
यसलाई दुईवटा दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो, विगतमा आत्महत्याका घटनाहरूको अभिलेखन कम हुन्थ्यो, किनकि समाजमा यस्ता घटनालाई लुकाउने र कलंकको रूपमा लिने चलन थियो । तर अहिले जागरुकताको कारण यस्ता घटनाको अभिलेखन बढेको छ ।
दोस्रो, सामाजिक र मनोवैज्ञानिक अवस्थाले पनि मानसिक स्वास्थ्य समस्यालाई बढाइरहेको छ ।
२० वर्षअघिको र अहिलेको मानसिक स्वास्थ्य समस्याको तुलनात्मक अवस्था ठ्याक्कै भन्न गाह्रो छ । द्वन्द्वकालमा अवस्था भयावह थियो, तर त्यतिबेला र अहिलेको आत्महत्याको दरबारे स्पष्ट तथ्यांक हामीसँग छैन । यद्यपि, आत्महत्याको ७०-८० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्यासँग जोडिएको हुन्छ ।
बढ्दो सामाजिक, आर्थिक र मनोवैज्ञानिक दबाबले समस्यालाई थप जटिल बनाउँदा आत्महत्याको दरमा वृद्धि भएको संकेत गर्छ ।
मानसिक समस्या कम गर्न सरकार वा सम्बन्धित निकायले कस्तो काम गर्न आवश्यक छ ?
सबैभन्दा पहिला त मानसिक स्वास्थ्य समस्यालाई चिन्न र बुझ्न जरुरी छ । हाम्रो समाजमा धेरै मानिसलाई मानसिक स्वास्थ्यबारे पर्याप्त जानकारी छैन । पढेलेखका मानिस पनि मानसिक स्वास्थ्यबारे अनविज्ञ छन् । सर्वप्रथम मानसिक स्वास्थ्य समस्याका लक्षणहरू, यसले पार्ने प्रभाव र सहायता लिनुपर्ने आवश्यकताबारे जनचेतना फैलाउनु जरुरी छ ।
मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकार, समुदाय र शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहन्छ । पाठ्यक्रममा मानसिक स्वास्थ्यबारे जानकारी समावेश गरेर, लक्षण, प्रभाव र सहायता लिने तरिकाबारे सिकाउनुपर्छ । जब जनचेतना बढ्छ, तब माग पनि बढ्छ । माग बढेपछि मात्र साइकियाट्रिस्ट र साइकोलोजिस्टको संख्या वृद्धि गर्न, तालिम दिन र औषधि तथा अन्य सेवाहरू गाउँ-गाउँसम्म पुर्याउन सकिन्छ ।
हाल नेपालको स्वास्थ्य प्रणालीमा मानसिक स्वास्थ्य सेवा सबैभन्दा कमजोर क्षेत्र मानिन्छ । ठूला अस्पतालहरूमा पनि साइकियाट्रिस्ट र साइकोलोजिस्टको अभाव छ । त्यसैले मानसिक स्वास्थ्य सेवालाई बलियो बनाउने हो भने स्वास्थ्य प्रणालीमा सुधार, जनचेतना अभिवृद्धि र सेवा विस्तारमा जोड दिनु जरुरी छ ।
यस्तो अवस्थामा परिवार, साथीभाइ र समुदायको भूमिका महत्वपूर्ण हुन्छ भन्न खोज्नुभएको हो ?
हो । मानसिक स्वास्थ्य समस्यालाई चिन्न र सम्बोधन गर्न परिवार, साथीभाइ र समुदायको भूमिका निकै महत्वपूर्ण हुन्छ । राम्रो पढ्ने विद्यार्थीको पढाइ बिग्रन थाल्यो, काममा जाँगर हरायो, आपसी सम्बन्धहरू खराब भए, बारम्बार रिसाउने वा एक्लै दु:खी भएर बस्ने व्यवहार देखियो भने सहायता आवश्यक भएको बुझ्न सकिन्छ ।
परिवार र आफन्तले यस्ता परिवर्तनलाई नजिकबाट नियाल्नुपर्छ । यस्ता लक्षण देखिएमा मानसिक स्वास्थ्य विशेषज्ञसँग सल्लाह लिन प्रोत्साहन गर्नुपर्छ । मानसिक स्वास्थ्यबारे खुला मानसिकता राख्न र सहायता माग्न डराउन नहुने वातावरण बनाउन जरुरी छ ।
यदि कसैमा आत्महत्याको सोच वा आफूलाई हानि पुर्याउने विचार आएको छ भने तुरुन्तै विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ । यस्ता कुराहरूलाई गम्भीरतापूर्वक लिँदै समयमै सहायता खोज्नाले मानसिक स्वास्थ्य समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिन्छ ।
फोटो र भिडियो : कमल प्रसाईं
प्रतिक्रिया 4