
जेन जी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त प्रहरी कार्यालयहरुमा बुधबारसम्म ५४९ सेट उपलब्ध गराइएको छ । संस्थाले कुल १५०० सेट डसना र ब्लाङ्केट बाँड्ने बताएको छ ।
९ असोज,बुटवल । क्लोथ बैंक नेपालले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त प्रहरी कार्यालयहरुमा सुरक्षाकर्मीलाई आवश्यक कपडा वितरण गरेको छ ।
उक्त संस्थाले प्रहरी कार्यालयहरुलाई डसना (ओछ्याउने), ब्लाङकेट, तन्ना, सिरानी लगायतका कपडा नि:शुल्क वितरण गरेको हो ।
क्लोथ बैंकका प्रमुख कार्यकारी अधिकृत कमल जीसीका अनुसार हालसम्म करिब दुई दर्जन प्रहरी कार्यालयहरुमा करिब २५ लाख मूल्य बराबरको ५४९ सेट डसना र ब्लाङ्केटसहित कपडाको सेट वितरण गरिएको छ । तीमध्ये मध्यपुर थिमि प्रहरी सर्कल भक्तपुरमा सबैभन्दा बढी १८० सेट वितरण गरिएको छ ।
उक्त कार्यालयका डीएसपी नवराज ढुंगानाले आगजनीबाट प्रहरीको आवासमा रहेका सबै कपडा जलेको अवस्थामा क्लोथ बैंकको सहयोगले राहत पुगेको बताए ।
क्लोथ बैंकले सांखु,गोंगबु,गोल्फुटार,टोखाका दुई स्थान,रुपन्देहीको मंगलापुर लगायतका स्थानमा डसना र ब्लाङ्केट सहित कपडाको सेट वितरण गरेको छ ।
संस्थाका सिईओ जीसीले जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी कार्यालयहरुमा कुल १५०० सेट डसना र ब्लाङ्केट सहित कपडाको सेट वितरण गरिने बताए ।
क्लोथ बैंकको रुपन्देहीको तिलोत्तमामा कपडा प्रशोधन उद्योग छ । दुई वर्षअघि सञ्चालनमा आएको क्लोथ बैंकले देशका १९७ ठाउंमा पुनः प्रयोग गर्न मिल्ने कपडा संकलन केन्द्र स१चालनमा ल्याएको छ । ती कपडाहरु प्रशोधन गरी नयां सरह बनाएर वितरण गर्ने गरेको छ ।
प्रशोधनकै क्रममा क्लोथ बैंकले डसना र सिरानी समेत आफै उत्पादन गर्ने गरेको छ । प्रहरीलाई वितरण गरिएका डसना र सिरानी वाहेक ब्लाङकेट र तन्ना भने अरुबाट सहयोग लिएर आफ्ना उत्पादनसँगै एकमुष्ट वितरण गरिएको जीसीले प्रष्ट पारे ।
संस्थाले ७० लाख मूल्य बराबरको डसना र ब्लाङ्केट सहित कपडाको सेट वितरण गर्ने क्रममा रहेको उनले बताए ।
क्लोथ बैंकले दशैंको अवसरमा बुटवलमा सडकमा व्यवसाय गर्ने २३४ जना विपन्नलाई कपडासमेत वितरण गरेको जीसीले जानकारी दिए ।
‘नेपालमा आपतकालीन अवस्थाको सम्भावना जुनसुकै बेला रहिरहने भएकाले प्रयोगमा नआएका लत्ता कपडा संकलन गरी प्रशोधन गरेर वितरण गर्न ‘क्लोथ बैंक’ स्थापना गरी काम गर्दै आएका हौं’, जीसीले भने, ‘जेनजी आन्दोलन अघि करिब २ वर्षको अवधिमा २ लाख जनालाई कपडा वितरण गरेका छौं ।’
प्रतिक्रिया 4