News Summary
Generated by OK AI. Editorially reviewed.- एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ।
- श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्यो।
- एसिया कपको उपाधिका लागि आइतबार भारत र पाकिस्तानबीच फाइनल खेल हुनेछ।
११ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ ।
शुक्रबार राति भएको हाइ स्कोरिङ भिडन्तमा निर्धारित २० ओभरमा खेल बराबरी भएपछि सुपर ओभर खेलिएको थियो । सुपर ओभरमा श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्यो ।
त्यसअघि भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउँदा श्रीलंकाले पनि २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएपछि टाई भएर सुपर ओभरमा पुगेको थियो ।
ओपनर पथुम निसान्काले एसिया कपको पहिलो शतक बनाएपनि जितका लागि पर्याप्त भने भएन । उनी १०७ रन बनाएर २०औं ओभरको अन्तिम बलमा आउट भए ।
त्यस्तै कुसल परेराले ५८ रन बनाए । निसान्का र परेर मिलेर दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए । दशुन शनका २२ रनमा अविजित रहे ।
भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । ओपनर अभिषेक शर्माले ६१ रन बनाए । तिलक वर्मा ४९ रनमा अविजित रहे । सन्जु सामसनले ३९ रन बनाए ।
श्रीलंकाका महीश थिक्साना, दुश्मान्था चमीरा, वानिन्दु हसरंगा, दशुन शनका र चरिथ असलंकाले १-१ विकेट हात पारे ।
सुपर फोरमा श्रीलंका जितविहीन हुँदा भारत अपराजित रह्यो । भारत समूह चरणदेखि नै अपराजित छ ।
एसिया कपको उपाधिका लागि आइतबार भारत र पाकिस्तानबीच फाइनल भिडन्त हुनेछ ।
प्रतिक्रिया 4