News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले शनिबार शारजाह क्रिकेट रंगशालामा वेस्ट इन्डिजसँग टी-२०आई शृंखलाको पहिलो खेल खेल्नेछ।
- नेपालको १५ सदस्यीय टोलीबाट प्लेइङ ११ चयन गर्न कठिन देखिएको छ।
११ असोज, काठमाडौं । नेपालले शनिबार वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखलाको पहिलो खेल खेल्दै छ । यूएईस्थित शारजाह क्रिकेट रंगशालामा हुने खेल बेलुका सवा ८ बजेदेखि सुरु हुनेछ ।
शृंखलाका लागि नेपालको १५ सदस्यीय टोली यूएई पुगेको छ । १५ जनामध्येबाट प्लेइङ ११ निकाल्न हम्मेहम्मे पर्ने देखिन्छ । नेपाली टोलीमा ललित राजवंशी, आसिफ शेख र लोकेश बमबाहेक सबै खेलाडीहरू अलराउण्ड खेल्न सक्ने क्षमता राख्न सक्छन् ।
यस्तोमा प्रशिक्षकले प्रदर्शनका आधारमा विभिन्न खेलमा गरी सबै खेलाडीलाई मौका दिन पनि सक्छन् । नेपालको लागि आजको पहिलो खेलमा कुन प्लेइङ ११ हुन सक्छ भन्नेबारेमा चर्चा गर्नेछौं ।
अनलाइनखबर खेलकुद टिमले तयार पारेको सम्भावित ११ मा नियमित ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख ओपनिङमा हुनेछन् । त्यसपछि कप्तान रोहित पौडेल, कुशल मल्ल हुनेछन्।
यस्तै परिस्थिति र आवश्यकताका आधारमा दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले पाँचौं वा छैटौंमा ब्याटिङ गर्न सक्छन् । त्यसपछि आदिल आलम, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी हुनेछन् ।
यस्तोमा नेपालका लागि नवौं नम्बरसम्म ब्याटिङको विकल्प रहनेछ । सन्दीपले पनि केही शट प्रहार गर्ने क्षमता राख्दछन् । यस टोलीमा एकमात्र बाँयाहाते ब्याटरका रूपमा कुशल मल्ल हुनेछन् ।
शारजाहको पिचमा स्पीनरलाई मध्य ओभरमा धेरै सहयोग मिल्ने भएकाले दुई मुख्य स्पीनरहरू सन्दीप र ललित खेल्ने अनुमान छ । पार्ट टाइम स्पीनरका रूपमा दीपेन्द्र, कुशल मल्ल र कुशल भुर्तेल पनि हुनेछन् ।
सुरुवाती ओभरमा पेसरलाई पनि केही सहयोग मिल्ने भएकाले नन्दन र सोमपालले पावरप्लेमा ४ ओभर गरेर दुई स्पीनरले एक-एक ओभर अनि त्यसपछि १० ओभरभित्र पार्ट टाइम पेसरका रूपमा आदिल आलम र स्पीनरले केही ओभर गर्नेछन् ।
१० ओभरपछि कप्तानले बलरलाई कुन हिसाबले रोटेट गर्नेछन् भन्ने पनि महत्वपूर्ण हुनेछ । विशेषगरी नेपालको डेथ बलिङमा समस्या देखिइरहेको हुँदा आवश्यकता अनुसार अन्तिम ४ ओभरमा मुख्य पेसरको ओभर बचाउनुपर्ने हुनसक्छ ।
प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा र गुल्शन झामध्ये एक र नन्दन यादव र करण केसीमध्ये एकलाई आजको खेलमा मौका दिनेछन् ।
नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख, कप्तान रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, आदिल आलम, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी
प्रतिक्रिया 4