
११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीमा परिवारवाद अन्त्य गर्ने संकल्प गरेको छ । कार्यविधि नै बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने माओवादीले जनाएको छ ।
केन्द्रीय समिति यो निर्णयमा पुग्नु अगाडि प्रचण्डले भनेका छन्, ‘नेपोटिजमको आरोप हामीमाथि पनि छ । कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिऔं । संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाएर जाऔं ।’
प्रचण्डको प्रस्तावअनुसार केन्द्रीय समितिले पार्टीमा परिवारवादको अन्त्य गर्ने संकल्प गरेको हो ।
शुक्रबार केन्द्रीय समितिको बैठक समापन हुनुअगाडि प्रचण्डले सम्बोधन गरेका थिए । त्यस क्रममा उनले भनेका थिए, ‘नेपोटिजम नेपोबेबीका विषयमा अघि एकजना कमरेडले भन्नुभयो, मैले पनि अलिअलि हेर्दै छु, यो ट्रेन्ड संसारभरि चलेको छ ।’
प्रचण्डका नजरमा ‘नेपोटिजम नातावाद, कृपावाद, परिवारवाद, आफन्त मात्रै होइन, गुटवाद पनि हो ।’
प्रचण्डले अगाडि व्याख्या गरेका छन्, ‘आफ्नो गुटको मान्छेले जे गरे पनि छुट दिने, आफ्नो गुटको छैन भने त्यसलाई चाहिँ खोइरो खन्ने भनेको पनि नेपोटिजम भित्रै पारिँदो रहेछ ।’
यो शब्द कसरी विकास र प्रयोग भएको छ भनेर पनि प्रचण्डले लामै व्याख्या गरेका छन् ।
‘यो नेपोटिजम पश्चिमतिरबाट आएको शब्द र यसको परिभाषा व्याख्या जन्मिएर विभिन्न देशको सत्ता परिवर्तनको निम्ति, युवाहरूलाई आन्दोलित गर्नको निम्ति, सरकारका विरुद्ध सत्ताका ज्यादतीहरूका विरुद्ध प्रयोग गरियो । धेरै देशमा सफलतापूर्वक प्रयोग भयो ।’
अर्थात्, नेपोटिजम भन्ने शब्द नेपालमा पहिलो पटक प्रयोग भएको जस्तो गरी नबुझ्न उनको आग्रह छ ।
उनले भनेका छन्, ‘नेपाल पहिलो होइन र नेपाल अन्तिम हुनेवाला पनि छैन । यो एउटा इन्टरनेसनल ट्रेन्डको रूपमा आयो तर हामीले यसलाई यसो भनेर यसको महत्व र यसको संवेदनशिलतालाई मिनिमाइज गर्नै हुँदैन ।’
अर्थात्, नेपालमा पनि परिवारवाद अन्त्य गर्न आवश्यक रहेको उनको सार छ ।
‘त्यसकारण, हामी सबै नेताहरूले परिवारको व्यवस्थापन, सचिवालयको व्यवस्थापन कार्यकर्ताहरूको व्यवस्थापनलगायत सबै विषयमा अब पुरानो तरिकाले गएर हुँदैन । हामी नयाँ कार्यविधि र नयाँ कार्यशैलीमा जानै पर्छ’ प्रचण्डले भनेका छन्, ‘नेपोटिजम भनेर जसरी युवाहरूलाई सरकार या सत्ताले नराम्रो गरेपछि त आउने नै भयो ।’
शिक्षा लिएर पार्टी अगाडि बढ्ने प्रचण्डको घोषणा छ । उनले भनेका छन्, ‘हामीले त्यसबाट शिक्षा लिएर नयाँ ढंगले जानुपर्छ । मेरो प्रस्तावको स्पिरिट यही हो भन्ने कुरा म कमरेडसँग राख्न चाहन्छु ।’
त्यसो भए अब के गर्ने त ? प्रचण्डले आफैँ जवाफ दिएका छन्, ‘हाम्रो जीवनशैली हाम्रो कार्यशैली हाम्रो सांस्कृतिक आचरण हाम्रा अभिव्यक्तिहरूलाई पनि एउटा निश्चित संहिताभित्र ल्याउन सकिन्छ ।’
जेनजी आन्दोलनको रापतापले आफ्नो जीवनशैली, कार्यशैली, कार्यालय व्यवस्थापन र सञ्चालन, हेडक्वार्टर र विभिन्न स्तरका कार्यालयहरूमा राखिने स्टाफहरूबारे पनि नयाँ रूपले सोच्न बाध्य पारेको प्रचण्डले बताएका छन् ।
प्रचण्डले भनेका छन्, ‘हामीले नीतिगत रूपमा प्रस्तावमा त्यो कुरालाई पारिसकेका छौँ । यसको अब ठोस र व्यावहारिक रूप निर्धारण गर्नु छ र यो प्रक्रिया हामीले यो बैठक सकिएपछि नै सुरु गर्नुपर्ने छ ।’
बैठकपछि माओवादीकै एक केन्द्रीय सदस्य भन्दै थिए, ‘होला त हाम्रो पार्टीमा परिवारवादको अन्त्य ? अध्यक्षले यो गर्न सक्नुहोला त ?’
माओवादी नेताहरू नै परिवारवाद अन्त्यबारे प्रचण्डकै एक्सनको पर्खाइमा छन् । ती केन्द्रीय सदस्यका अनुसार एकै परिवारका सदस्यहरू विभिन्न कमिटीमा रहेका छन् । सचिवालयमा रहेका छन् । नेताहरूले जिम्मेवारी पाउँदा र दिँदा नजिकका व्यक्ति हेर्ने गरेका छन् ।
यसकारण पनि माओवादीभित्र पेचिलो प्रश्नको रूपमा रहेको हो ।
माओवादी केन्द्रका नेता रहिश शाह नेपोटिजमबारे राम्रो निर्णय भएको बताउँछन् । उनी भन्छन्, ‘यसको सही कार्यान्वयन हुन सक्दा पार्टीमा शुद्धीकरण हुन्छ र जनताको बीचमा सकारात्मक सन्देश जान्छ ।’
प्रतिक्रिया 4