+
+
Shares

रास्वपालाई सुमनाको आग्रह- ‘स्टेकहोल्डर हुँ’ भन्दै गर्दा उजाडिएका काख र रित्तिएका सिउँदो सम्झनू

‘नख्खुमा इज्जतसँगै मानवता पनि जलाएको हो र ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते २१:१५

११ असोज, काठमाडौं । रास्वपा परित्याग गरेकी नेता सुमना श्रेष्ठले रास्वपाभित्रैबाट आफूविरुद्ध अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएकी छिन् । शनिबार साँझ सामाजिक सञ्जालमा ४ बुँदे लामो जवाफ लेख्दै उनले जंगीअड्डामा जान आफूले रोकेको भन्दै गरेको प्रचारबारे आपत्ति जनाएकी हुन् ।

उनले सभापति रवि लामिछानेलाई छुटाउन नख्खु कारागार पुग्दा इज्जत पनि सँगै मिल्काएर आएको हो ? भन्दै प्रश्न पनि गरेकी छिन् ।

‘यस्तो विषम परिस्थितिमा आफुले नगरेको संघर्ष र आफुले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनताविरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र ?,’ उनले प्रश्न गरेकी छिन्, ‘हामीलाई सुमनाले लाइभ आएर जंगीअड्डा जानबाट रोकि भनि मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाँउमा मिल्काएर आउनु भो ? नख्खुमा इज्जत सँगै मानवता पनि जलाउनु भएको हो र ?’

तीन ठूला दलका नेतालाई चोर औंला देखाउँदै व्यक्तिवाद हावी भयो भन्दा चारवटा औंला आफैंतिर फर्कने कुरा पनि उनले स्मरण गराएकी छिन् ।

जेनजी प्रदर्शनको ‘स्टेक होल्डर’ हो भन्नु अघि भएको पार्टी निर्णय पनि सुमनाले सम्झिएकी छिन् ।

‘…कुनै राजनितिक पार्टिको झण्डा वा एजेन्डा बोकेर नआउनु भनि स्पष्टताका साथ भनिसकेको अवस्थामा जेनजी आन्दोलनमा हाम्रो सहभागिता देशप्रति निष्ठावान नागरिकको भन्दा बढी थिएन र हुनु हुँदैन थियो,’ उनले भनेकी छिन्, ‘…हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरू र सिन्दूर रित्तिएका सिउँदोहरू सम्झिनु होला ।’

सुमनाले लेखेकी छिन्-

१. अवसरवादको परिभाषा अर्कै हुन्छ भने फरक पर्ला तर व्यक्तिगत स्वार्थ र लाभको निम्ति आफ्नो नैतिक धरातल र राजनीतिक मूल्य मान्यताबाट च्यूत हुनु नै अवसरवाद हो भने, तीन ठूला दलहरूका टाउकेहरूलाई चोर औंला देखाउँदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चार वटा औंला आफ्नै तिर फर्किन्छ कि फर्किँदैन? त्यही प्रवृत्तिलाई मलजल दिएर नयाँ केपी, नयाँ शेरबहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाइदा देख्नु अवसरवाद हो कि होइन? त्यस प्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत? क्षणिक लोकप्रियता र केही थान गालीबाट बच्न एक शब्द चुइँक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो कि त्यस्तो प्रवृत्ति विरूद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो? म साथीहरूलाई प्रश्न गर्न चाहन्छु।

२. पार्टीको आधिकारिक धारणा जस्तो गरी गल्ती भयो भनेर स्वीकार गर्ने तर कुनै कारबाही नगर्ने तथा आचरण र प्रवृत्तिमा कुनै सुधार नगर्ने हो भने कुन मुखले पुरातनवादी दलहरूको विरोध गर्ने? नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरूलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने? सामान्य नेपाली नागरिकहरू अगाडि उभिएर हामी फरक छौं भन्न लज्जाबोध हुँदैन? एक चोटि आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस्।

३. प्रधान सेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाईं’ पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हो। आन्दोलन सुरू हुनु अगाडि आन्दोलनरत युवा पुस्ताले कुनै राजनीतिक पार्टीको झण्डा वा एजेन्डा बोकेर नआउनु भनी स्पष्टताका साथ भनिसकेको अवस्थामा जेनजी आन्दोलनमा हाम्रो सहभागिता देश प्रति निष्ठावान् नागरिकको भन्दा बढी थिएन र हुनु हुँदैन थियो। सहादत प्राप्त गर्नुभएका ७४ नेपाली वीर–वीरंगना, सयौं घाइते र लाखौं नागरिकको सहभागिताको अवमूल्यन हुने गरी त्यतिबेला जंगी अड्डा धाउनु ‘दुर्गा प्रसाईं’ सँगै उभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो।

हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेकहोल्डर हौं, हाम्रो पनि माग यिनै हुन् भनी धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरू र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला। यस्तो विषम परिस्थितिमा आफूले नगरेको संघर्ष र आफूले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनता विरूद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र? हामीलाई सुमनाले लाइभ आएर जंगी अड्डा जानबाट रोकिन् भनी मेरो विरूद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनुभयो? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभएको हो र?

४. भ्रम र झुटको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परीक्षण हुने नै छ। लोकप्रियताको बुइ चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाइमा आफ्नो स्वाभिमान बन्धकी राखेका केही साथीहरू देख्नुपर्दा लालच र निरीहता उर्बराउने डर पलाएको छ। याद राख्नुस्—लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो। निरिहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो।

वैकल्पिक राजनीतिमा आउनेहरूलाई सोध्न चाहन्छु — तपाईंहरू राजनीतिमा आफ्नो अलग पहिचान, देश बनाउने हुटहुटी र आफ्नो विशिष्टता राष्ट्र र सम्पूर्ण नेपालीहरू प्रति समर्पित गर्न आउनुभएको कि वैकल्पिक शेरबहादुरका लागि वैकल्पिक प्रकाशशरण वा वैकल्पिक केपीका लागि वैकल्पिक महेश बस्नेत बन्न आउनुभएको हो? यतिनै यक्ष प्रश्न सोध्दै र इमानदार उत्तरको अपेक्षा गर्दै देश प्रति निष्ठावान र प्रतिबद्ध रहने वाचा गर्दछु।

– सुमना श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?