+
+
Shares
चाडपर्व लक्षित ‘ट्राफिक वाक’ कार्यक्रम :

अभावसँग जुध्दै यात्रा सुरक्षित बनाउन खटिरहने ट्राफिक प्रहरीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते ९:४८
‘ट्राफिक वाक’ कार्यक्रममा सहभागीहरु

१२ असोज, काठमाडौं । चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त रुपमा ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेका छन् । आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीहरुले ट्राफिक प्रहरी विभिन्न अभावसँग जुधिरहे पनि यात्रा सुरक्षित बनाउन खटिरहने प्रतिबद्धता जनाए ।

‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित काठमाडौंको रानीपोखरीबाट सुरु भएको र्‍याली रणोद्दीप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म पुगेको थियो । र्‍यालीमा सहभागीहरुले विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए ।

र्‍यालीपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउनका लागि ट्राफिक नियमको पालना गरेर सभ्य समाजको निर्माण गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । त्यसका लागि आजको कार्यक्रम लाभदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले देशको वर्तमान परिवेशमा पनि चाडपर्वको समयमा यस्तो कार्यक्रम आयोजना गरिनु समाजका लागि प्रशंसनीय रहेको बताए । साथै उनले चाडपर्वको बहानामा कोही कसैले पनि मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी गुडाउने तथा लागूपदार्थको सेवन गर्ने कार्य गर्नु हानिकारक हुने कुरामा जोड दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्यको क्रममा विभिन्न अभावसँग जुध्दै ट्राफिक व्यवस्थापनमा खटिरहेको र सडक प्रयोगकर्ताको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताए ।

२४ भदौको जेनजी आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीका कार्यालय र सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरु बिनाबर्दी काममा फर्किएका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओम बहादुर रानाले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी बलका पदाधिकारी, उपत्यकाभित्रका सामुदायिक प्रहरी र सञ्चारकर्मीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?