
सबै मानिसले आफ्नो जीवनमा खोजेको के हो ? प्रत्येक व्यक्तिले गहिरिएर आफूलाई सोध्नुपर्ने बेला आएको छ म के खोज्दै छु ? मेरो जीवनको सार के हो ? मेरो जीवनको मूल लक्ष्य के हो ? बेला भएको मात्र होइन, बरु बितिसकेको छ। यद्यपि ‘जब जागे तब सबेरा’ भने झैं, जब थाहा तब शुरू गर्न सकिन्छ।
यी प्रश्नहरु मनमा आएका छैनन् भने अब ढिला नगरीकन सोच्न अबेर गर्नुहुँदैन । विशेषगरी युवाहरूले ढिला नगरी आफ्नो मूल लक्ष्य पहिचान गर्दै सजगता र जिम्मेवारीसहित खुसीसाथ अगाडि बढ्नुपर्ने समय टड्कारो आवश्यकता छ किनकी मुलुकको भविष्य युवाहरूको सोच, दृष्टि र कर्ममा निर्भर गर्दछ।
जीवन विज्ञान प्रतिष्ठानका गुरु एलपी भानु शर्मा भन्नुहुन्छ, ‘युवा त्यो हो जो नयाँ कुरा सिक्न, नाच्न र हाँस्न लाज मान्दैन। युवा उमेरको अवस्था होइन, त्यो त सोच हो, उर्जा हो ।
यदि सोचमा नकारात्मकता छ, कर्ममा आलस्य छ, जीवन दृष्टिमा निराशा छ भने उमेरले युवा भएर पनि त्यस्तो व्यक्ति वृद्धजस्तै हुन्छ।
यदि सोचमा उर्जा छ, कर्ममा सृजनशीलता, विचारमा सामूहिकताको भावना छ भने ऊ सधैं युवा रहन्छ। त्यसैले युवाको परिभाषा केवल उमेरले होइन, उसले बोकेको दृष्टिकोणले तय हुन्छ।
संसारका सबै दर्शन, मनोविज्ञान, विज्ञान र आध्यात्मिक खोजहरूको निष्कर्ष एउटै देखिन्छ ‘मानिस हरपल खुसी रहन चाहन्छ । आजसम्मका सबै खोज र परिवर्तनको मागलाई मिहिन ढङ्गले हेर्यौ भने खुशी प्राप्तिका लागि भएको देखिन्छ, त्यो खुशी क्षणिक होइन, दीगो हुनु जरुरी छ।
दीगो खुशी भनेको आन्तरिक शान्ति र आत्मसन्तुष्टि र बाह्य समृद्धिको सन्तुलनबाट प्राप्त हुन्छ । खुशी केवल परिस्थितिअनुसार हाँस्नु मात्र होइन, बरु जीवनको विराट लक्ष्यप्रति जागरुक रहँदै प्रत्येक कर्मलाई प्रेमपूर्वक अँगाल्ने अभ्यास हो।
भगवान गौतम बुद्धले भनेजस्तै “खुशीसम्म पुग्ने बाटो छैन खुशी नै बाटो हो” यसकारण खुशी हुनको लागि होइन, खुशी भएर कर्म गर्ने कला सिक्न जरुरी छ।
त्यसैले हामीले गर्ने हरेक कर्म सजग, स्वयं जागृत र खुशी भएर गर्नुपर्छ, ताकि सदाचार र सुशासनको जग बसाल्न सकियोस् र खुसीको अनुभूति दीर्घकालीन र चीरस्थायी बनोस्।
अन्तरर्ष्ट्रिय अभ्यास हेर्दा समेत खुसीलाई जीवनको मूल आधार बनाएर विकास र नीतिको केन्द्रमा राख्ने अभ्यास भुटानको Gross National Happiness (१९७२) बाट सुरु भई आज विभिन्न मुलुक र संस्थामा विस्तार भइसकेको छ-। जस्तै युएईको Ministry of Happiness (२०१६), डेनमार्कको Happiness Research Institute, भारतको मध्यप्रदेशमा स्थापना Department या Happiness र अमेरिकाको Harvard University को “Managing Happiness” पाठ्यक्रम लागू गरेको सन्दर्भमा व्यक्तिको खुसीको महत्व र प्राथमिकता कति छ स्पष्ट हुन्छ।यी अभ्यासहरूले देखाउँछन् कि व्यक्तिगत खुसी मात्र होइन, राष्ट्रको नीति, शिक्षा र विकासमा पनि यसको महत्व अत्यन्तै उच्च छ।
सजगता अर्थात होसको अभ्यास जीवनप्रति होसपूर्वक बाँच्ने कला हो।
यसमा व्यक्ति आफैंभित्र फर्किने अभ्यास र कलाबाट सम्भव हुन्छ।जसको लागि प्रत्येक व्यक्तिलाई आध्यात्मिक शिक्षा, सचेतना र अभ्यासमा जोड दिनुपर्छ।
साँचो आध्यात्मिक शिक्षा स्वयं र समस्तको दुवैको लागि हित गर्न सक्ने चेतनाको विकास हो। जो व्यक्ति आफ्नो र अरुको हितमा काम गर्छ उ सँधै खुशी रहन्छ। फलस्वरुप व्यक्तिको सदाचारिता, नैतिकता र विवेकको विकास हुन्छ, व्यक्तिगत सदाचारिताको सामूहिक अभ्यास सुशासनमा रुपान्तरण हुन्छ जुन अहिलेको युवाले चाहेको परिणाम हो।
‘दुःखी भएर सुख खोज्नु भनेको रातमा बत्ती निभाएर उज्यालो खोज्नुजस्तै हो’ जीवन विज्ञानका संस्थापक गुरु रमेश नेपालले बारम्बार भन्ने वाणी हो यो।
दुखी, अशान्त र दरिद्र मानसिकताले अभ्यासबाट सुख, शान्ति र समृद्धिको परिणाम हासिल गर्न कठिनाइ हुन्छ। यसका लागि होसपूर्वक बाँच्ने कला र खुशी भएर कर्म गर्नमा ध्यान दिनुपर्छ ।
यसका लागि दैनिक रुपमा गरिने योगाभ्यास, प्राणायम र ध्यान तथा स्वजागरणका अभ्यास अत्यन्तै उपयोगी हुन्छ। सबै समस्याको समाधान गर्नसक्ने क्षमता बोकेको आध्यात्मिक शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्दछ ।
प्रायः यसलाई केवल आध्यात्मिक व्यक्ति वा संघ–संस्थाको जिम्मेवारी ठान्ने मानसिकताले सर्वसाधारणसम्म शिक्षा र चेतना पर्यात रुपमा फैलिन सकेको छैन।
आमयुवाहरुमा सजग भएर, होसमा रहेर र खुशी भएर कर्म गर्ने शिक्षा पुर्याउन सक्ने हो भने “निष्काम कर्म”को अभ्यास स्थापित हुनसक्छ। परिणामस्वरुप सिद्धान्तभन्दा माथि उठेर सदाचार र सुशासनको अभ्यास व्यक्ति, परिवार, समाज, संघ–संस्था र राष्ट्रको जीवनमा व्यवहारिक रूपमा स्थापित हुनसक्दछ।
अब यो बुझ्ने बेला आएको छ कि आध्यात्मिक शिक्षा सबैका लागि आवश्यक छ। युवाहरूका लागि त झन् विशेष जरुरी छ, किनभने उनीहरूमा उर्जा, जाँगर, क्षमता, नयाँ सोच, सिर्जनशीलता र प्रविधिमा पहुँच छ।
यही सम्भावनालाई सजगता र खुशीलाई केन्द्रमा राखेर कर्मको अभ्यास हुन सकेमा आजका युवाहरू मुलुकका नेतृत्वकर्ता मात्र होइन, समाज परिवर्तनका संवाहक र उत्प्रेरक भइ स्वयं, समाज र राष्ट्रको रुपान्तरणमा अझै बढी क्रियाशील हुने सम्भावना छ।
आध्यात्मिक शिक्षा र स्वजागरणले युवाहरूलाई आफ्नो जीवनको मूल लक्ष्य स्पष्ट रुपमा पहिचान गर्न सिकाउँछ। आफ्नो विराट सम्भावनाहरू चिन्न सिकाउँछ।
यसका लागि मूल लक्ष्यको वरिपरि सहायक लक्ष्यहरू बनाएर, स्पष्ट योजना सहित, जिम्मेवारीपूर्वक कर्म गर्ने दिशामा अग्रसर गराउँछ।
यस शिक्षाले युवाहरूमा आत्मविश्वास, सहकार्य, समय व्यवस्थापन, सामूहिक हितमा सोच्न सक्ने दृष्टि, राष्ट्रप्रति योगदान दिने भाव र नेतृत्व क्षमताको विकास गर्छ।
समस्या देख्दा त्यसभित्रै समाधान खोज्ने क्षमता, कर्मको गुणस्तरमा सुधार ल्याउने, आत्मसमीक्षा र अनवरत प्रगतिको सोच यही शिक्षाबाट प्राप्त हुन्छ। यसबाट व्यक्ति आफू भित्रबाट खुसी, शान्त र आनन्दमा हुन्छ, वाह्य रुपमा समृद्ध बन्छ। निश्चित रुपमा खुसी, शान्त, आनन्दित र समृद्ध व्यक्तिले नै परिवार, समाज, संस्था र राष्ट्रको लागि बढी योगदान गर्न सक्छ।
तर जब आध्यात्मिक शिक्षाको कुरा उठ्छ, त्यहाँ एउटा ठूलो भ्रम र पूर्वधारणा देखिन्छ। अध्यात्मको गहिरो अर्थ नबुझी यसबाट टाढा रहने वा बच्न खोज्ने प्रवृत्ति रहेको छ।
आम धारणा आध्यात्मिक शिक्षा भनेको केवल भगवानको पूजा, भक्ति वा ध्यान गर्ने विधा हो, जुन बाल्यकाल वा युवावस्थामा उपयोगी हुँदैनसयो त केवल आफ्नो काम र जिम्मेवारीबाट पन्छिनको लागि मात्र होस व्यक्तिलाई कर्मबाट टाढा रहन सिकाउँछ र सबै कुरा भगवानमा सुम्पिएर निष्क्रिय बन्न प्रेरित गर्छ जुन समृद्धिको लागि बाधक हो भन्ने गलत बुझाइ रहेको छ।
तर वास्तविकता भने यस बुझाइको ठीक यसको विपरीत छ। आध्यात्मिक शिक्षा प्राप्त व्यक्ति कर्मबाट पलायन हुँदैन ।अध्यात्म व्यक्तिलाई स्वजागृत, स्वशासित र स्वअनुशातित बनाउने प्रयोगात्मक अभ्यास हो।
राज्यका कानुनको सम्मान गर्न, नागरिक कर्तव्य र मानवीय कर्तव्य पूरा गर्न तत्पर गराउँछ। अरुलाई सहयोग गर्न , सजग रहन र सदाचारमा अडिग रही निरन्तर आत्मसुधार गर्दै अघि बढ्न प्रेरित गर्छ।
त्यसैले आध्यात्मिक शिक्षा र स्वजागरण जीवनलाई गहिरो अर्थ र उद्देश्य दिने व्यावहारिक मार्गदर्शन हो जुन युवाहरूका लागि प्रकाशको रुपमा रहन्छ।
अहिले हामी महान् पर्व बडादशैंको पावन वातावरणमा र नजिकिँदै गरेको तिहारको उल्लासमय क्षणमा छौं। यी पर्वहरू केवल सांस्कृतिक परम्पराको रूपमा मात्र होइन, यी हामीभित्र रहेका उर्जा, शक्ति र सामर्थहरूहरूलाई बाहिर ल्याएर जीवनका प्रत्येक पाटोमा प्रयोग गर्न सक्छौ।
यस बडादशैमा दुर्गा भवानीका नवशक्तिहरू- शक्ति, साहस, बुद्धि, करुणा, सेवा, अनुशासन, धैर्यता, समर्पण र विजय, वास्तवमा हरेक मानवभित्र निहित दिव्य गुणहरू हुन्।
यी गुणहरूलाई आत्मसात गरी जीवनका प्रत्येक पक्षमा प्रयोग गर्न सक्ने हो भने हाम्रो जीवन अधिक अर्थपूर्ण, ऊर्जावान र सफल बन्न सक्छ।
त्यस्तै, तिहारमा हामीले पूजा गर्ने महालक्ष्मी आराधना र समृद्धिको प्रतीकका रूपमा मात्रै होइन, अष्टलक्ष्मीका गुणहरूलाई समृद्धिको लागि अवलम्बन गर्ने प्रेरणा पनि मान्न सकिन्छ।
जीवनमा मूल लक्ष्यप्रति स्पष्टता, त्यसका लागि आवश्यक विचार, लक्ष्य हासिल गर्न क्षमताको विकास, सम्बन्ध र सामूहिक भावनाको उन्नति, सीप र शिक्षाको निरन्तर अभ्यास, सकारात्मक आदत र अनुशासन र पूर्णताको अनुभूतिको अवलम्बनबाट आफू समृद्ध बन्न र परिवार समाज र राष्ट्रलाई समृद्ध बनाउनको लागि मार्गप्रशस्त गर्छ।
सारमा खुशी र आनन्द प्राप्ति नै मनुष्यको खोज हो । प्रत्येक व्यक्तिले सजग र खुशी भएर कर्म गर्ने हो भने व्यक्ति व्यक्तिको सजगता र खुशीको सामूहिक प्रतिफलका रूपमा समाजमा सदाचार र सुशासन कायम हुन्छ। सदाचार र सुशासनबाट नै दीगो खुशी र आनन्द प्राप्त हुन्छ ।
प्रतिक्रिया 4