News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व भारतीय क्रिकेटर मिथुन मनहास भारतीय क्रिकेट बोर्डको ३७औं अध्यक्षमा निर्वाचित भएका छन्।
- राजीव शुक्ला उपाध्यक्षका रूपमा कायम रहेका छन् भने देवजीत सैकिया सचिव बनेका छन्।
- पुराना क्रिकेटर प्रज्ञान ओझा र आरपी सिंहलाई पुरुष राष्ट्रिय टिमको चयन समितिमा समावेश गरिएको छ।
१२ असोज, काठमाडौं । पूर्व भारतीय घरेलु क्रिकेटर तथा दिल्लीका पूर्व कप्तान मिथुन मनहास भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। बोर्डको ९४औं वार्षिक साधारण सभालेउनलाई ३७औं अध्यक्षको रूपमा चयन गरेको हो।
गत अगस्टमा रोजर बिन्नीले पद छाडेपछि उपाध्यक्ष राजीव शुक्लाले कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका थिए। अब मनहास औपचारिक रूपमा अध्यक्ष बनेका हुन्। शुक्ला उपाध्यक्षकै रूपमा निरन्तर रहेका छन् भने देवजीत सैकिया सचिवका रूपमा कायम छन्।
४५ वर्षीय मनहास जम्मुमा जन्मिएका हुन्। उनले दिल्ली र पछि जम्मु–कश्मीरबाट घरेलु क्रिकेट खेलेका थिए। उनले १५७ फर्स्ट क्लास खेलमा ९७१४ रन बनाएका छन्। खेल जीवनपछि उनले कोचिङमा समेत सक्रिय भूमिका निभाएका छन् र आईपीएल टिमहरूसँग समेत काम गरिसकेका छन्।
नयाँ कार्यसमितिमा पूर्व भारतीय स्पिनर रघुराम भट कोषाध्यक्ष बनेका छन् भने प्रभतेज सिंह भाटिया संयुक्त सचिव बनेका छन्।
पुराना क्रिकेटर प्रज्ञान ओझा र आरपी सिंहलाई पुरुष राष्ट्रिय टिमको नयाँ चयन समितिमा समावेश गरिएको छ। समितिको नेतृत्व अजित अगरकरले गरिरहेका छन्। महिला क्रिकेटतर्फ भने अमिता शर्माले चयन समितिको अध्यक्षता सम्हाल्ने भएकी छन्।
यसैगरी, पूर्व सौराष्ट्र कप्तान जयदेव शाह बीसीसीआईको एपेक्स काउन्सिलमा प्रवेश गरेका छन्।
प्रतिक्रिया 4