+

पाकिस्तानलाई हराउँदै भारत नवौंपटक एसिया कप च्याम्पियन

२०८२ असोज  १३ गते ०:२८ २०८२ असोज १३ गते ०:२८
पाकिस्तानलाई हराउँदै भारत नवौंपटक एसिया कप च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले एसिया कप क्रिकेट २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै नवौं पटक उपाधि जितेको छ।
  • पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो।
  • तिलक वर्माले ६९ रनको अविजित पारी खेलेर भारतलाई जित दिलाए भने कुलदीप यादवले ४ विकेट लिए।

१३ असोज, काठमाडौं । भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो ।

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक विजयी चौका प्रहार गरे ।

तिलक वर्माले सर्वाधिक अविजित ६९ रनको म्याच विनिङ पारी खेले । शिवम दुबेले ३३ रन बनाए । सन्जु सामसनले २४ रन बनाए ।

सुरुवात राम्रो नभएपनि भारतका लागि तिलक वर्माले सन्जु सामसन र त्यसपछि शिवम दुबेसँग मिलेर साझेदारी बनाएका थिए । भारत २०-३ को कठिन अवस्थामा हुँदादेखि तिलकले सामसनसँग ५७ र शिवमसँग ६० रनको साझेदारी गरे ।

पाकिस्तानका फहीम अशरफले ३ तथा अबरार अहमद र शाहीन अफ्रिदीले १-१ विकेट लिए ।

यता टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको थियो । सुरुवात राम्रो गरेको भएपनि पाकिस्तान नाटकीय रूपमा विकेट पतन भएको थियो ।

एक समय १३औं ओभरमा ११३-१ को अवस्थामा भएपनि थप ३३ रन जोड्दा बाँकी सबै विकेट गुमाएको थियो । पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए । फखार जमानले ४६ रन बनाए । सायम अयुबले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका कुलदीप यादवले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिए । जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिए ।

यसअघि पाकिस्तानविरुद्ध समूह चरण र सुपर फोरमा भएको खेलमा पनि भारतले जित निकालेको थियो ।

एसिया कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय