+
+
Shares

अमेरिकामा ‘शटडाउन’को खतरा, सबै काम ठप्प हुने, ९ लाख कर्मचारीलाई बिदाको जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते ८:०१
Photo Credit : Tierney L. Cross/The New York Times

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको सङ्घीय सरकार मङ्गलबार मध्यरातको समयसीमाभन्दा केही घण्टा अगाडि शटडाउनतर्फ अघि बढेको छ।
  • डेमोक्रेटहरूले सरकारी फन्डिङलाई निरन्तरता दिने रिपब्लिकनको योजनालाई फेरि अवरुद्ध गरेका छन्।
  • शटडाउन हुँदा ९ लाख कर्मचारीलाई जबर्जस्ती बिदामा पठाउनुपर्ने खतरा बढेको छ।

१५ असोज, काठमाडौं ।  अमेरिकाको सङ्घीय सरकार मङ्गलबार मध्यरातको समयसीमाभन्दा केही घण्टा अगाडि नै शटडाउनतर्फ अघि बढेको छ । न्यूयोर्क टाइम्सका अनुसार, कांग्रेसमा रहेका डेमोक्रेटहरूले सरकारी फन्डिङलाई निरन्तरता दिने रिपब्लिकनको योजनालाई फेरि अवरुद्ध गरेपछि यस्तो अवस्था आएको हो ।

राष्ट्रपति ट्रम्प र डेमोक्रेटहरूबीचको खर्चसम्बन्धी तिक्ततापूर्ण गतिरोधको पृष्ठभूमिमा सिनेटमा लगातार भएका दुईवटा मतदानमा दुवै दलले एक-अर्काको अस्थायी खर्च प्रस्तावलाई खारेज गरिदिएका छन् ।

सेप्टेम्बर महिनाको सुरुमा पनि यस्तै भएको थियो ।

यस घटनाले सन् २०१९ पछि पहिलो सरकारी शटडाउन टार्न सक्ने कुनै पनि प्रगति नदेखिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

बुधबार राति १२ बजेसम्म यो बिल पारित नभएमा ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक सरकारी फन्डिङ रोकिनेछ । यसलाई नै ‘गभर्नमेन्ट शटडाउन’ भनिन्छ ।

अमेरिकाका दुई प्रमुख दल डेमोक्रेट र रिपब्लिकनबीच ओबामा हेल्थ केयर सब्सिडी कार्यक्रमलाई लिएर मतभेद बढेको छ। यसले सरकारी काम-कारबाही ठप्प हुने र ९ लाख कर्मचारीलाई जबर्जस्ती बिदामा पठाउनुपर्ने खतरा बढेको हो।

डेमोक्रेटहरू हेल्थ केयर (स्वास्थ्य बीमा) को सब्सिडी बढाउन चाहन्छन्। रिपब्लिकनहरूलाई सब्सिडी बढाइयो भने सरकारलाई खर्च गर्न थप पैसाको आवश्यकता पर्नेछ, जसले अन्य सरकारी कामहरूलाई असर गर्नेछ भन्ने डर छ ।

शटडाउन रोक्नका लागि राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक नेताहरूले सोमबार ह्वाइट हाउसमा बैठक गरेका थिए तर त्यसको कुनै नतीजा निस्किएन।

अमेरिकाको आर्थिक वर्ष १ अक्टोबरबाट सुरु हुन्छ। यो एक प्रकारले सरकारको आर्थिक वर्ष हो, जसमा उसले आफ्नो पैसा खर्च गर्ने र बजेट बनाउने योजना बनाउँछ ।

यस अवधिमा सरकारले सेना, स्वास्थ्य वा शिक्षा जस्ता क्षेत्रहरूमा कहाँ कति बजेट छुट्याउने गर्ने भनेर तय गर्छ। यदि यो मितिसम्म नयाँ बजेट पारित भएन भने सरकारी कामकाज प्रभावित हुन्छ ।

विपक्षी सांसदहरू : ‘निर्णय ट्रम्पको हातमा छ’

डेमोक्रेट सांसद चक शुमर अब निर्णय ट्रम्पको हातमा रहेको बताउँछन् । यदि ट्रम्पले डेमोक्रेटको कुरा माने भने शटडाउन टर्न सक्छ ।

त्यस्तै, डेमोक्रेट सांसद पीटर वेल्चले भने, ‘हामी स्वास्थ्य संकटबाट गुज्रिरहेका छौँ। ट्रम्पले कङ्ग्रेस (संसद) को निर्णयहरू मान्नुपर्छ। तर ‘डिल’ हुने सम्भावना कम देखिएको छ।’

अर्कोतर्फ, रिपब्लिकन नेताहरूले शुमरमाथि जबर्जस्ती फन्डिङ बिल रोकेको आरोप लगाइरहेका छन्। रिपब्लिकन सांसद जोश हलीले भने, ‘शटडाउनको हेल्थ सब्सिडीसँग के लेनादेना छ र ? हामी कुराकानी गर्न तयार छौँ, तर गभर्नमेन्ट शटडाउन नगरौँ ।’

सांसद एरिक श्मिटले भने, ‘शुमर ट्रम्पसँग काम गर्न डराउँछन्। यसले अमेरिकी जनतालाई तनाव बढ्नेछ ।’

शटडाउनले अमेरिकामा के असर पार्छ?

यदि अमेरिकामा सरकारी शटडाउन भयो भने, सरकारसँग खर्चका लागि पैसा हुँदैन । यसले गर्दा सरकारी कर्मचारीहरूले पाउने तलबदेखि लिएर अन्य सबै खर्चहरू रोकिन्छन् ।

शटडाउन हुँदा अमेरिकी सरकारले आफ्नो खर्चमा कटौती गर्नुपर्छ। यद्यपि, आपतकालीन सेवाहरू जस्तै- मेडिकल सेवा, सीमा सुरक्षा र हवाई सेवाहरू भने जारी रहन्छन् ।

अमेरिकामा विगत ५० वर्षमा फन्डिङ बिल अड्किएका कारण २० पटक शटडाउन भएको छ। ट्रम्पको अघिल्लो कार्यकालमा नै सरकारले ३ पटक शटडाउनको सामना गर्नुपरेको थियो।

सन् २०१९ को शटडाउन सबैभन्दा लामो (३५ दिनसम्म) चलेको थियो, जसमा अमेरिकी अर्थतन्त्रलाई उल्लेख्य क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?