+
+
Shares

बीपी राजमार्गमा राति गाडी चलाउन रोक

मनसुन सक्रिय हुन लागेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा अत्यावश्यक सेवा बाहेक सबै सवारी साधन रातिको बेला चलाउने रोक लगाइएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज १६ गते १४:३३

१६ असोज, काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुबाहक सवारीसाधन सन्चालनमा रोक लगाएको हो ।

मनसुन सक्रिय हुन लागेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन रातिको बेला नचलाउने निर्णय भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रे जिल्लामा पनि भारी वर्षाको सम्भावना उच्च रहेको उच्च सतर्कता अपनाउन भनेको थियो । त्यसपछि जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधनहरु रोक्न सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले एक विज्ञप्ति प्रकाशन गर्दै असोज १६ गतेदेखि २१ गतेसम्म अत्यावश्यक नभइकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न र पहिरोको जोखिममा रहेका क्षेत्र तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

गत वर्षको असोज ११  र १२ गतेको वर्षा, बाढी र पहिरोले बीपी राजमार्ग क्षतविक्षत बनाएको थियो । क्षति पुगेका ठाउँमा अहिलेसम्म पनि पुनर्निर्माणको काम सकिएको छैन । त्यसले यसपालिको वर्षामा क्षतिको जोखिम कायमै रहेको हो ।

त्यसैले बीपी र अरनिको राजमार्गका आयोजनाहरु (सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजना) ले तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्ने, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू अलर्टमा रहने लगायतका निर्णय गरेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?