
१७ असोज, काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । जनमत नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि गठबन्धनका विभिन्न विकल्पमा छलफल भइरहेको छ ।
एउटा मात्र दलको सरकार बन्ने सम्भावना नरहेकाले कांग्रेस–एमालेसहित र कांग्रेस–एमाले इतरको गठबन्धनको प्रयास भइरहेको नेताहरु बताउँछन् ।
नेपाली कांग्रेस र नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मनाएर सरकार बनाउने कसरतमा छन् ।
मधेश प्रदेशमा कांग्रेसकी सांसद अंजना पंडित नयाँ सरकार गठनका लागि छलफल चलिरहेको बताउँछिन् । ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ होला । एमालेसँग छलफल भइराखेको छ’ उनी भन्छिन्, ‘बन्ने गठबन्धनकै सरकार हो ।’
मधेशको अङ्कगणित
मधेश प्रदेश सरकारमा सबैभन्दा ठूलो दल एमाले हो । एमालेका २५ जना सांसद् छन् । दोस्रो ठूलो दल कांग्रेसका २२ जना सांसद् रहेका छन् ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसद आवश्यक पर्छ । कांग्रेस–एमाले मिल्दा ४७ मत पुग्छ ।
प्रदेश सभामा जनता समाजवादी पार्टी, नेपालका १९ जना, जनमत पार्टीका १३ जना छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र माओवादी केन्द्रका ९/९ जना छन् ।
नेकपा एकीकृत समाजवादीका ७ जना छन् । नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक जना छन् ।
कांग्रेसकी सांसद अंजना पंडितले भनेअनुसार कांग्रेस र एमालेलाई लोसपाले साथ दिएको खण्डमा नयाँ सरकार बनाउन आवश्यक संख्या पुग्छ ।
महन्थ ठाकुरले मधेशमै पुगेर गरे छलफल
तर सरकारको नेतृत्वमा लोसपाले पनि दाबी गरेको छ । नयाँ सरकार गठनको सन्दर्भमा छलफल गर्न लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर मधेशमै पुगेका थिए ।
उनी विभिन्न पार्टी र आफ्नै पार्टीका नेताहरुसँग छलफल गरेर काठमाडौं फर्किएका छन् । अब केन्द्रीय स्तरमा नेताहरूसँग छलफल गरेर ठाकुरले निर्णय लिएपछि नयाँ सरकार गठनको गृहकार्य थप अगाडि बढ्ने नेताहरुको भनाइ छ ।
लोसपाका प्रदेश सांसद उपेन्द्र महतो केन्द्रीय अध्यक्ष ठाकुरले निर्णय गरेअनुसार अगाडि बढिने बताउँछन् । ‘नेतृत्व लिने वा नलिने, नेतृत्व लिँदा कसलाई मुख्यमन्त्री बनाउने र नेतृत्व नलिँदा के गर्ने भन्ने विषयमा केन्द्रीय अध्यक्षले निर्णय दिनुहुन्छ । त्यसअनुसार हामी अगाडि बढ्छौं’ प्रदेश सांसद महतोले अनलाइनखबरसँग भने ।
कांग्रेस–एमाले इतरको पनि गठबन्धन प्रयास
प्रदेश सांसद महतोका अनुसार सरकार गठनका दुई विकल्पमा छलफल भइरहेको छ ।
कांग्रेस–एमालेसहितको एउटा गठबन्धनको प्रयास भइरहेको छ । अर्कोतर्फ कांग्रेस–एमाले बाहेकका सबै दलको गठबन्धन सरकार बनाउने पनि प्रयास भइरहेको छ ।
दुवै खालको गठबन्धनको प्रयास गर्नेहरूले लोसपालाई नै सरकारको नेतृत्व दिन तयार रहेको सांसद महतोको दाबी छ ।
यही असोज ८ गते नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका नेता सतिशकुमार सिंह अल्पमतमा परेका छन् ।
प्रतिक्रिया 4