शब्द/तस्विर : जीतेन्द्र भट्टराई
गुरिल्ला ट्रायलको नाम सुन्दा तपाईहरुलाई राजनीतिजस्तो लाग्न सक्छ । तर, यो एउटा पर्यटकीय गन्तव्यको नाम हो । बाग्लुङदेखि रुकुम रोल्पासम्म लामो र रोमाञ्चक यात्राको नाम ।
बाटोमा विशाल फाँट, हरियाली जंगल अनि सेताम्य हिमालको दृश्य हेर्न पाइने यो पहाडी यात्रा प्राकृतिकमात्रै नभएर सांस्कृतिक एवं सामाजिक हिसाबले पनि रोचक छ । कुनै समय द्वन्द्वको केन्द्रका रुपमा प्रख्यात रहेकोे रुकुम-रोल्पाले अहिले विस्तारै पर्यटकीय सम्भावनाहरु खोज्न थालेको छ, गुरिल्ला ट्रयाकका नाममा ।

नेपालमा आउने विदेशी पर्यटकहरुले पोखरा, लुम्बिनी, अन्नपूर्ण रेञ्ज, सगरमाथा र लाङटाङ लगायतका क्षेत्रहरु रोज्छन् । रारा र खप्तडका लेकहरु पनि पर्यटकहरुको रोजाइमा पर्ने गरेका छन् । तर, अब विस्तारै पडाडका अन्य मनोरम वस्तीससमेत पदयात्राका लागि महत्वपूर्ण गन्तव्यमा पर्ने प्रयासमा छन् । यही कुरालाई मध्यनजर गर्दै अहिले गुरिल्ला पदयात्राको नक्शा तथा पदयात्राको मार्ग तय गरिएको छ ।
बाग्लुङ्गको दरबाङ्गदेखि सुरु हुने गुरिल्ला पदयात्रा तीन खण्डमा विभाजित गरिएको छ । सबैभन्दा छोटो पदयात्रा १४ दिनको रहेको छ भने सबैभन्दा लामो पदयात्रा २७ दिनको रहेको छ । यो पदयात्राका क्रममा हिमाल, जंगल, नदीनाला एवं जनावरकोहरुको अवलोकन गर्न पाइन्छ ।
पदयात्रामा प्रमुख रुपमा खाम मगरको बाहुल्य रहेका वस्तीहरु भेटिने हुनाले यो जातिको रहन-सहन एवं संस्कृतिको समेत अध्ययन गर्न सकिन्छ ।
पदयात्राका क्रममा धौलागीरी, सिस्ने, अन्नपूर्ण, चुरेन, कुन्था लगायतका हिमालहरु हेर्न पाइन्छ । ४०६० मिटरको फागुने लेकसमेत उही गन्तव्यमा पर्छ ।

पदयात्राको सबैभन्दा रमाइलो स्थान फागुने लेक हो । यो लेकमा पुग्दा हरियाली फाँटको छेउमा मिलाएर रोपिएका रुखहरु र ती रुखका पछाडि नजिकैजस्तो देखिने सेताम्य हिमालले त्यहाँ पुग्ने जो कोहीलाई स्वर्गीय आनन्द प्रदान गर्छ ।
पदयात्राका क्रममा चर्चित ढोरपाटन शिकार आरक्षण हुँदै जानुपर्ने भएकाले त्यहाँ रहेका नाउर, घोरल, झारल, चितुवा र डाँफे लगायतका जनावर र चराहरुको समेत अवलोकन गर्न पाइन्छ ।
नयाँ पदमार्ग भएकाले बाटामा चाहेजस्ता होटलको सुविधा पाइँदैन । तैपनि बाटोघाटोमा खान र बस्नलाई त्यति समस्या छैन । मनारेम पर्यटकीय स्थलहरु रहेकाले यो मार्गमा पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको खण्डमा स्थानीयहरुको आर्थिक सुधार हुने र होटल लगायताका सुविधाहरु विस्तार हुँदै जाने सम्भावना रहेको छ ।
सरकारले यो क्षेत्रलाई महत्वपूर्ण पदमार्गका रुपमा विकसित गर्ने योजना ल्याएको खण्डमा यसबाट बाग्लुङ, रुकुम र रोल्पाका स्थानीयवासीहरु मात्रै लाभान्वित हुने नभई राष्ट्रिय अर्थतन्त्रमा पनि यसले योगदान गर्ने राम्रो सम्भावना देखिन्छ ।





















प्रतिक्रिया 4