
१८ असोज, ठोरी । गएराति देखिको अविरल वर्षापछि पर्साको ठोरी स्थित ढेडुखोलामा ठूलो बाढी आएको छ । बाढीका कारण खोला किनारमा रहेका दर्जन बढी घर बाढीको जोखिममा परेको छ ।
ठोरी गाउँपालिका वडा–१ स्थित सरस्वती चोक र दीपक नगर वरपरको नदी किनारको बस्ती जोखिममा रहेको स्थानीय युवा कमलविक्रम तिमिल्सिनाले जानकारी दिए ।
उनले भने, ‘ढेडुखोलाको सिरानमा बाढी रोकथामका लागि बाँध बाँधिएको छ । तर बाँधभन्दा माथिबाट बाढी बस्तीमा पस्ने जोखिम बढेको छ । यसरी नै वर्षा निरन्तर रहे बाढी गाउँमा पस्ने जोखिम बढेको छ ।’
पानी रोकिने छाँट नदेखिएकोले जोखिम बस्तीलाई सुरक्षित स्थानमा सार्न ढिलाइ गर्न नहुने उनको सुझाव छ ।
वीरगञ्ज र भरतपुरसँग सडक सम्पर्क विच्छेद
ढेडुखोलामा अहिलेसम्म पुल नबनेका कारण ठोरी भएर वीरगञ्ज र चितवनको माडी हुँदै भरतपुरसँगको सडक सम्पर्क विच्छेद भएको छ ।
वीरगञ्जदेखि ठोरीसम्मको हुलाकी सडक अनतर्गत पर्ने अन्य खोलाहरूमा पुल बनेको भए ढेडुखोलामा अहिलेसम्म पुल बन्न सकेको छैन । डेढ सय मिटर लामो पुल बनाउन डीपीआर भइसके पनि पुलको काम सुरू हुन नसकेको स्थानीय युवा शिवराज फुँयाल बताउँछन् ।
खोलाको शीरमा सामान्य वर्षा हुँदा पनि बाढी आउँदा आउजाउमा समस्या हुने गरेको गुनासो उनी गर्छन् ।
ठोरीबाट चितवनको भरतपुर तर्फ दर्जन बढी यात्रुबाहक बस छुट्ने गर्छन् भने वीरगञ्ज तर्फ पनि त्यतिकै मात्रामा बस गुड्ने गर्छन् ।
बाढीका कारण दशैं मनाउन आउजाउ गर्नेहरूले सास्ती भोग्नु परेको फुँयालले बताए ।
प्रतिक्रिया 4