
१९ असोज, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको मौसमविदले बताएका छन् ।
यद्यपि काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको छ । यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ ।
काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले अनलाइनखबरसँग भने, ‘काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सिस्टम कमजोर भइसकेको छ र ठूलो पानी पर्ने संकट अब टरेको छ ।’
मधेश प्रदेशमा अझै पनि पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको उनले बताए ।
उनका अनुसार अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा देखिन्छ । त्यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । आज पनि कुनै-कुनै ठाउँमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि त्यो पनि कमजोर हुने उनले बताए ।
‘आजको हकमा इलामदेखि कोशी प्रदेशको तराईका भूभागमा आइसोलेटेड रुपमा भारी वर्षाको सम्भावना देखिन्छ,’ अर्यालले भने, ‘तर त्यो पनि दिउँसोबाट मत्थर हुँदै जाने छ ।’
गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर मापन भएको छ ।
प्रतिक्रिया 4