+
नेपाली क्रिकेट :

ओमानी भूमिमा नेपाली क्रिकेट टोलीसामू अर्को चुनौती

२०८२ असोज  २० गते १३:५६ २०८२ असोज २० गते १३:५६

ओमानमा नेपाली क्रिकेट टोलीको विगत भने त्यति राम्रो छैन । नेपालका लागि यसपटक पनि ओमानमा खेल्दै गर्दा पहिलेको खराब नतिजा सुधार गरेर नयाँ कथा लेख्ने अवसर छ ।

ओमानी भूमिमा नेपाली क्रिकेट टोलीसामू अर्को चुनौती

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोली ओमानमा आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न पुगेको छ ।
  • नेपालले विगतमा ओमानमा धेरै प्रतियोगितामा सेमिफाइनलमा पराजित भएर विश्वकप र एसिया कप छनोटमा असफलता भोगेको छ।
  • नेपालले यसपटक ओमानमा भाग्य फेर्ने अवसर पाएको छ।

२० असोज, काठमाडौं । नेपाली क्रिकेट टोली यतिबेला ओमानमा छ । बुधबारदेखि ओमानमा सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान पुगेको नेपाली टोलीले अभ्यास पनि थालिसकेको छ ।

पहिलो अभ्यास खेलमा नेपालले ओमानमाथि ६ विकेटको सहज जित निकालिसकेको छ । यसपछि नेपालले आज नै कतारसँग अर्को अभ्यास खेल्दै छ ।

ओमान आउनुअघि नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला खेलेर अनि जितेर फर्किएको छ । नेपालले इतिहासमै पहिलोपटक टेस्ट राष्ट्रविरुद्ध खेल र शृंखला दुवै जितेर इतिहास रचेको थियो ।

यस छनोटका लागि नेपालले यति मात्र नभएर विभिन्न देशमा गएर क्याम्पदेखि अभ्यास खेलहरू खेलेर फर्किएको छ र लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको छ ।

यद्यपी हाल खेल्न लागेको प्रतियोगिता हुने स्थान अर्थात् ओमानमा नेपाली क्रिकेट टोलीको विगत भने राम्रो छैन । नेपालका लागि यसपटक पनि ओमानमा खेल्दै गर्दा पहिलेको खराब नतिजा सुधार गरेर नयाँ कथा लेख्ने अवसर छ ।

ओमानमा नमीठो विगत

नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कप २०२४ ओमानमा खेलेको थियो । त्यहाँ प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बेलासम्म उपाधिको दाबेदारजस्तै रहेको नेपाली टोली सेमिफाइनलमा यूएईसँग पराजित भयो ।

सेमिफाइनलमा पराजित हुनु भनेको आगामी एसिया कप क्रिकेटका लागि ढोका बन्द हुनु थियो । त्यसपछि भएको तेस्रो स्थानको खेलमा पनि नेपाल हङकङसँग पराजित भयो । त्यसबेला फाइनलमा यूएईले ओमानलाई हराएर एसिया कपमा छनोट भयो ।

पछि एसिया कप खेल्ने टोलीको संख्या ६ बाट ८ पुर्‍याइयो । उपविजेता ओमान र तेस्रो भएको हङकङले पनि मौका पाए । नेपाल हङकङसँग पराजित हुनाले दोस्रो मौकामा पनि एसिया कपका लागि योग्य हुन सकेन ।

त्यसैगरी त्यसभन्दा अघि २०२२ मा ओमानमै भएको आईसीसी टी-२० विश्वकप छनोट ए मा पनि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएर विश्वकपका लागि छनोट हुन सकेको थिएन । यद्यपी त्यसपछि २०२३ मा घरेलु मैदानमै भएको छनोटमा भने नेपालले यूएईलाई नै हराएर विश्वकपको टिकट काट्न सफल भयो ।

यीबाहेक अन्य खेलहरूमा पनि नेपाल ओमानमा सुखद नतिजा निकाल्न सकेको छैन । सन् २०१९ ओमानमा भएको पाँचदेशीय शृंखलामा २ खेल जित्दा २ मा पराजित भयो । उक्त शृंखलामा नेपालले हङकङ र नेदरल्यान्ड्सलाई हराउँदा आयरल्यान्ड र ओमानसँग पराजित भयो । ओमानसँग त ६४ रनमा अलआउट भएको थियो ।

त्यस्तै २०२२ मा विश्वकप छनोटअघि ओमानमै भएको चारदेशीय सिरिज २०२२ मा १ जित मात्र निकाल्दा २ हार बेहोरेको थियो । यसरी विगतलाई हेर्दा नेपाललाई ओमानमा सुखद नतिजा नआएको देखिन्छ । यद्यपी नेपाललाई त्यो भाग्य फेर्ने अवसर पनि छ ।

यसपटकको चुनौती

यसपटकको छनोट प्रतियोगिता अल फर्म्याटमा हुँदैछ । एसिया र पेसिफिक छनोटलाई समग्र रूपमा एसिया तथा इस्ट एसिया पेसिफिक छनोट नाम दिइएको छ । जहाँ ९ टोली सहभागी छन् ।

३-३ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ जहाँबाट २ टोली सुपर सिक्समा पुग्ने छन् । नेपालको समूहमा जापान र कुवेत रहेका छन् । नेपालले कम्तीमा एक खेल जिते अगाडि बढ्ने पक्का हुनेछ ।

समूह चरणबाट अगाडि बढेमा नेपालको भेट यूएई, ओमान, मलेसिया, पीएनजीजस्ता चिरपरिचित प्रतिद्वन्द्वीसँग हुने देखिन्छ ।

यहाँबाट शीर्ष ३ मा पर्न सके विश्वकपमा नेपालको स्थान पक्का हुनेछ । यद्यपी नेपाल महत्वपूर्ण खेलमा धेरैजसो सम्हालिन नसकेर पराजित हुँदै आएको छ । त्यसकारण यसपटक संयमित भएर खेल्नुपर्ने चुनौती नेपालसामू हुनेछ ।

यूएई र ओमान भर्खर एसिया कप खेलेर फर्किएका छन् जहाँको अनुभवले नेपाललाई टक्कर दिन सक्छन् । त्यस्तै कुवेत, मलेसिया, पीएनजीले नेपाललाई हराइसकेकाले पनि उनीहरू पनि नेपालका लागि कमजोर प्रतिद्वन्द्वी पक्कै हुने छैनन् ।

भाग्य फेर्ने अवसर

नेपाली क्रिकेट टोलीलाई ओमानमा भाग्य फेर्ने अवसर समेत छ । यसअघि राम्रो विगत नरहेपनि यसपटक नेपालले ओमानमै मुख्य प्रतियोगिता जितेर विश्वकपको टिकट काट्न सक्छ ।

नेपालले पछिल्लो समय इंग्ल्यान्डदेखि अस्ट्रेलियामा गएर खेलेको अनुभवदेखि २ पटकको विश्वविजेता वेस्ट इन्डिजसँग खेलेको अनुभवले धेरै मद्दत गर्नेछ । यो कुरालाई लिएर खेलाडीहरू पनि आत्मविश्वासी देखिएका छन् ।

कप्तान रोहित पौडेलले वेस्ट इन्डिजसँग खेलेको अनुभव र यहाँ देखाएको लयलाई निरन्तरता दिँदै विश्वकपमा छनोट भएर नेपालीलाई अर्को खुसी दिलाउने बताएका छन् । ‘हामी एकदम कन्फिडेन्ट छौं, पछिल्लो समय हामीसँग पनि विभिन्न प्रतियोगिता खेलेको अनुभव छ, मोटिभेसन पनि छ’ उनले वेस्ट इन्डिजसँगको शृंखलाका क्रममा भनेका थिए, ‘यो शृंखला जितिसकेका छौं, अब विश्वकपमा छनोट हुनेछौं।’

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेमा नेपाली क्रिकेट टोलीले ओमानमा भोग्दै आएको नमीठो हारको शृंखला तोडेर तेस्रोपटक विश्वकपमा स्थान बनाउनेछ ।

***

विश्वकप छनोटको पहिलो खेलमा नेपालले बुधबार कुवेतसँग खेल्दैछ भने शुक्रबार जापानसँग खेल्नेछ ।

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी

नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय