+

चाडपर्वको खानपानले वास्तवमै तौल बढ्छ ? नियन्त्रण कसरी गर्ने ?

२०८२ असोज  २१ गते १७:३६ २०८२ असोज २१ गते १७:३६
चाडपर्वको खानपानले वास्तवमै तौल बढ्छ ? नियन्त्रण कसरी गर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चाडपर्वमा मासुजन्य, मसलेदार र उच्च क्यालोरीयुक्त खानेकुरा बढी खाइन्छ जसले औषत १–२ केजी तौल बढ्न सक्छ।
  • तौल नियन्त्रणका लागि सन्तुलित आहार, नियमित व्यायाम र विशेषज्ञसँग परामर्श लिनुपर्ने पोषणविद् र चिकित्सकहरूको सुझाव छ ।

चाडपर्वको रौनकसँगै खानपानको मज्जा लिने चलन छ । दशैं, तिहार जस्ता चाडहरूमा मासुजन्य परिकार, मिठाइ, चिल्लो र मसलेदार खानेकुरा तथा पेय पदार्थहरूको उपभोग बढ्छ । साथै यो बेला खानाको मात्रा बढ्छ, खाने समय र अवधि लम्बिन्छ ।

मसलेदार, मासुजन्य र उच्च क्यालोरीयुक्त भारी खानेकुरा बढी खाइन्छ । यसले तौल बढाउने समस्या निम्त्याउन सक्छ । पोषणविद्, चिकित्सक र फिटनेस ट्रेनरहरूका अनुसार, यो तौल बढाइ सामान्यतया अस्थायी हुन्छ र नियन्त्रण गर्न सकिन्छ । तर, यदि ध्यान नदिएमा स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ ।

चाडपर्वमा तौल बढ्नुको कारण

चाडपर्वमा खानपानको मात्रा र प्रकार परिवर्तन हुन्छ । सामान्य दिनहरूमा भन्दा बढी क्यालोरीयुक्त खानेकुरा खाइन्छ, जसले शरीरमा बोसो र तौल बढ्ने पोषणविद् अर्षा प्रधान कोइराला बताउँछिन् ।

‘चाडपर्वको बेलामा नन–भेज आइटमहरू जस्तै रातो मासु बढी खाइन्छ’ कोइराला भन्छिन्, ‘फुरुनदाना, चिप्स जस्ता चिल्लो तेलमा तारेका खानेकुरा, मसलेदार आइटम, जङ्क फुड, सफ्ट ड्रिंक्स र अल्कोहल बढी हुन्छ । यसले तौल बढ्छ साथै स्वास्थ्यलाई असर गर्छ ।’

पहिलेदेखि उच्च कोलेस्टेरोल भएकाहरूमा चाडबाडको बेला यो समस्या बढ्ने उनको भनाइ छ ।

दशैं जस्ता चाडमा खाइने कार्बोहाइड्रेट र फ्याटी कुराहरूले तौल बढाउने कन्सल्टेन्ट फिजिसियन डा.रमेश पन्त बताउँछन् । उनका अनुसार दैनिक मासु खाँदा युरिक एसिड बढ्ने समस्या पनि देखिन्छ ।

‘वर्षमा एक चोटी आउने हो, खाइहालौँ’ भन्ने सोचले क्यालोरी नियन्त्रण हुँदैन ’ डा.पन्त भन्छन् ।

फिटनेस ट्रेनर सबाना खातुनले पनि चाडबाडको खानाले तौल बढ्ने कुरालाई जोड दिन्छिन् । ‘ अरूबेला स्वास्थ्यप्रति सजग हुनेहरू पनि दशैंमा त मस्त खाने हो भन्छन्’ खातुन भन्छिन्, ‘यसको नतिजा चाड सकिएपछि तौल बढेर देखिन्छ ।’ व्यायाम नगरी बस्दा यो समस्या बढ्ने उनी बताउँछिन् ।

चाडपर्वमा औसत १–२ केजी तौल बढ्न सक्छ, जसमा उच्च क्यालोरी मासुमा प्रति १०० ग्राम २००–३०० क्यालोरी र यही मात्राको मिठाइमा ४०० भन्दा बढी क्यालोरी हुन्छ ।

डा.पन्तका अनुसार यो तौल बढाइ अस्थायी हुन्छ । चाडपछि नियमित जीवनशैलीमा फर्किँदा शरीरले अतिरिक्त बोसो घटाउँछ । तर, यदि नियन्त्रण नगरेमा मोटोपन, कोलेस्टेरोल वा युरिक एसिड जस्ता समस्या बढ्न सक्छन् ।

यस्तो तौल घटाउन कति कठिन ?

चाडपर्वमा बढी खाएमा तौल बढ्छ, तर यो घटाउनै नसकिने खालको नहुने पोषणविद् कोइरालाले स्पष्ट पारिन । ‘दुई–चार केजी बढेको छ भने सचेत भएर वा डाइटिसियनसँग परामर्श गरेर घटाउन सकिन्छ’ उनी भन्छिन्, ‘नर्मल बीएमआई भएकाहरूमा जथाभावी खाँदा तौल बढ्छ, तर यो लगातार बढिरहँदैन खानपानमा नियन्त्रण गरियो र व्यायाम गरियो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।’

तौल नियन्त्रण गर्ने उपाय

तौल नियन्त्रण गर्न चाडपर्वमै सतर्कता अपनाउनु राम्रो हुने डा.पन्त बताउँछन् । चाडपर्वमा पनि स्वस्थ खानेकुरा मिलाएर खान सकिए त्यो समस्या नै नहुने उनको भनाइ छ ।

१. खानपानमा नियन्त्रण

पोषणविद् कोइरालाका अनुसार दशैँमा चिल्लो, मसलेदार खानेकुरा खानै नहुने होइन, तर विचार पुर्‍याएर खानुपर्छ । यस्ता खानेकुरा कम मात्रामा खाने र साथै सन्तुलित खानेकुरामा पनि जोड दिनुपर्छ । दशैँ सकिए लगत्तै प्रशोधित खानेकुरा, चिनीयुक्त पेय पदार्थहरू खान बन्द गर्नुपर्छ ।

घरको सादा खाना खानुपर्छ । बेलुकाको खाना ठिक समयमा र ठिक मात्रामा खानुपर्छ। आहारमा हरेक व्यक्तिको आवश्यकता फरक हुन्छ, त्यसैले विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुने उनको सुझाव छ ।

चाडपर्वमा अन्य खानासँगै फलफूल र हरियो तरकारी बढी खानुपर्ने डा. रमेश पन्तको सुझाउँछन् । क्यालोरी धेरै भएको खानेकुरा, रातो मासु, मिठाइ र कोल्ड ड्रिंक्स नियन्त्रण गर्नुपर्छ । मासु छाकैपिच्छे खाने भन्दा पनि दिन बिराएर खानुपर्छ । दशैँ सकिए लगत्तै सामान्य खानपानमा फर्किएर व्यायाम पनि गर्नुपर्ने उनले बताए ।

तौल नियन्त्रणका लागितारेको र भुटेको परिकार केही दिन खान बन्द गर्नुपर्ने फिटनेस ट्रेनर सबानाको भनाइ छ ।

शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । कम्तीमा दिनमा ३ लिटर पानी पिउनुपर्छ । साथै प्रशस्त निन्द्रा लिनुपर्छ ताकि शरीर पुनः सन्तुलनमा फर्कियोस् ।

२. व्यायाम र जीवनशैली

चाडबाडको बेलामा जिम जाने फुर्सद छैन भने घरमै अनलाइन क्लास लिन सकिने सबाना बताउँछिन् । बिहान हिँड्ने‍, दौडने, जगिङ, साइक्लिङबाट सुरु गर्न सकिन्छ । घरमै आधा घण्टा दौडिने, उफ्रिने, ब्याडमिन्टन वा भलिबल खेल्न सकिन्छ । योग, स्ट्रेचिङ र श्वासप्रश्वास सम्बन्धी व्यायमले पनि शरीरलाई डिटक्स गर्न र मेटाबोलिज्म बढाउन मद्दत गर्छ ।

चाडपर्वमा विदा हुने भएकाले परिवारसँग घुम्ने, ट्रेकिङ जाने गर्न सकिन्छ । दैनिक कम्तीमा ३० मिनेट व्यायाम गरियो भने यसले तौल सन्तुलनमा राख्ने डा.पन्त बताउँछन् ।

व्यायाम, आहार र जीवनशैली संयोजन गरेर बढेको तौललाई नियन्त्रण गर्न सकिने पोषणविद् कोइरालाले सुनाइन् ।

ध्यान दिनुपर्ने कुरा

पोषणविद् आयुष अधिकारीका अनुसार तौल घटाउन व्यायाम र आहार दुवै महत्त्वपूर्ण हुन्छ । यी दुई एकअर्काका पूरक हुन् ।केवल व्यायाममा ध्यान केन्द्रित गरेर खाना घटाएन भने र खाना घटाएर व्यायाम भएन भने तौल घटाउन गाह्रो हुन्छ । व्यायाम र खाना दुवैलाई समान रूपमा मिलाएर मात्र तौल नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

‘क्यालोरी काउन्ट तौल कम गर्न लागि आवश्यक हुने एउटा पाटो हो’ अधिकारीले भने, ‘तर क्यालोरी कुन खानाबाट लिइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । तौल कम गर्न जंकफुडबाट टाढा रहनुपर्छ र पोषक तत्त्वले भरिपूर्ण आहार छनोट गर्नुपर्छ ।’

तौल नियन्त्रण गर्ने धेरै उपाय छन् । तर सबै उपाय सबैका लागि उपयोगी नहुन सक्छ । सामान्यतया, तौल घटाउन सन्तुलित आहार, नियमित व्यायाम र जीवनशैलीमा केही सकारात्मक परिवर्तन गर्नुपर्छ । कुनै पनि नयाँ आहार, व्यायाम वा दिनचर्या सुरु गर्नुअघि विशेषज्ञको परामर्श लिनु फाइदाजनक हुने अधिकारीकको सुझाव छ ।

चाडपर्व तौल
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय