
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको चंखेली गाउँपालिकाले विकास बजेटबाट नौ लाख रुपैयाँ खर्च गरी चीनको सीमा क्षेत्रसम्म पाँचपटक हेलिकप्टर सवारी गरेको आरोप लागेको छ।
- गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले दुई देशीय व्यापार प्रवर्द्धनका लागि चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न हेलिकप्टर प्रयोग गर्नु परेको दाबी गर्नुभयो।
- स्थानीयवासीले विकास बजेट हेलिकप्टर सवारीमा खर्चिनु गैरजिम्मेवार भएको भन्दै असन्तोष व्यक्त गरेका छन्।
२२ असोज, हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाले विकास बजेट दुरुपयोग गरेर चीनको सीमा क्षेत्रसम्म हेलिकप्टर सवारी गरेको आरोप लागेको छ ।
गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा गत २७ र २८ साउनमा सदरमुकाम सिमकोटबाट चीनको सिमानामा लाग्ने हाटबजार आउजाउ गर्न पाँचपटक हवाई भ्रमण गरेर विकास बजेट दुरुपयोग गरेको आरोप लागेको हो ।
हवाई यात्रामा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, वडा नम्बर १ का वडाध्यक्ष गोविन्द बोहरा, वडा नम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङ, वडा नम्बर ६ का वडाध्यक्ष जयबहादुर सिंरा लगायत सहभागी थिए । उनीहरूको हवाई भ्रमण वाफत नौ लाख रुपैयाँ विकास बजेटबाट खर्च गरिएको स्रोतले जनाएको छ ।
पालिकाले सिम्रिक एयरलाई पठाएको पत्रमा पनि हेली उडान बापत नौ लाख रुपैयाँ भुक्तानी दिने प्रतिबद्धता जनाएको व्यहोरा उल्लेख छ ।
स्थानीयवासीले भने दुर्गम क्षेत्रमा आवश्यक पूर्वाधार अभाव भइरहँदा विकास बजेट हेलिकप्टर सवारीमा खर्चिनु गैरजिम्मेवार भएको बताएका छन् ।
‘त्यो रकमले टाँके नाकासम्मका खोलानालामा काठे पुल बनाएको भए जनताले सुविधा पाउँथे,’ नेप्काका एक स्थानीयले भने ।
चंखेली गाउँपालिका–५ नेप्का गाउँका बासिन्दा अझै पनि स्वास्थ्यचौकी पुग्न एक दिन पैदल हिँड्न बाध्य छन् । दुर्गम भिरालो बाटो र जोखिमपूर्ण यात्रा बीच पनि स्थानीयले सामान्य उपचारका लागि गाउँपालिका केन्द्र धाउनुपर्ने अवस्था छ । पैदल यात्राको क्रममा भिरबाट खसेर हालै एक जनाको ज्यान समेत गएको छ ।
पालिकाका पदाधिकारीहरूको हेलिकप्टर सवारी उपलब्धिविहीन भएको भन्दै स्थानीयमा असन्तोष बढेको छ ।
तर, गाउँपालिका अध्यक्ष शाही भने दुई देशीय व्यापार प्रवर्द्धनका लागि चीनका अधिकारीहरूसँग वार्ता गर्नका लागि हेलिकप्टर प्रयोग गर्नु परेको दाबी गर्छन् ।
अध्यक्ष शाहीले अनलाइनखबरसँग भने, ‘गाउँपालिकामा जडीबुटी लगायतका स्थानीय उत्पादन प्रशस्त हुन्छन् । ती उत्पादनहरू चिनियाँ बजारसम्म पुर्याउँदा स्थानीयहरू नै बढी लाभान्वित हुन्छन् । त्यसका लागि चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न टाँके नाकासम्म जान हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता पालिकालाई परेको हो ।’
चीनसँग सडक सञ्जाल विस्तार गर्ने लगायत दुई देशीय व्यापारिक प्रवर्द्धनमा सहजीकरण गर्नका लागि हेलिकप्टर प्रयोग गर्नु परेको अध्यक्ष शाहीको दाबी छ ।
चीनबाट पनि दैनिक उपभोग्य सामानहरू आयात गर्नु पर्ने भएकोले टाँके नाका सञ्चालनमा सहजता गरिदिन चिनियाँ अधिकारीहरूसँग वार्ता भएको र वार्ता फलदायी भएको अध्यक्ष शाहीको दाबी छ ।
पालिकाभित्रकै नागरिकको हितका लागि हेलिकप्टर प्रयोग गरिएको भन्दै अध्यक्ष शाहीले गाउँपालिकाकै आन्तरिक स्रोतबाट हेलिकप्टरको भाडा भुक्तानी गरिने बताए ।
प्रतिक्रिया 4