
२२ असोज काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलिरहेकै बेला शेखर कोइराला पक्षधर नेताहरू भने मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने बताउन थालेका छन्।
महामन्त्री गगन थापा पक्षले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमार्फत विशेष महाधिवेशन बोलाउन दबाब दिने तयारीमा छन् । उनीहरूले धमाधम हस्ताक्षर अभियान चलाइरहेका छन् ।
हस्ताक्षर अभियानमा सहयोग गरिरहेको शेखर कोइराला पक्षका नेताहरू भने मंसिरमा विशेष हैन, नियमितै महाधिवेशन गर्नुपर्ने भन्न थालेका छन् ।
सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको अवधि नियमित अवधि आगामी मंसिरमा सकिने हुँदा १५ औं महाधिवेशन गर्नु उपयुक्त हुने उनीहरूको धारणा छ।
२०७८ मंसिर २४ गतेबाट कांग्रेसको १४ औं महाधिवशेन सुरु भएको थियो । त्यस अनुसार देउवा नेतृत्वको समितिको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ ।
प्रतिकूल अवस्थामा एकवर्षे कार्यकाल थप्न सकिने विधानको व्यवस्था छ । हालको बदलिँदो अवस्था र पार्टी पुर्नगठनको माग समेत उठिरहेको हुँदा चारवर्ष सकिए लगत्तै नियमित महाधिवेशन गर्नुपर्ने तर्क नेताहरु गरेका छन् ।
नियमित महाधिवेशन गर्नका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सक्नुपर्ने चुनौती कांग्रेस सामु छ ।
कांग्रेसको विधान अनुसार महाधिवशेनको वर्ष सदस्यता प्रदान र नवीकरण गर्न मिल्दैन । विगतमा विधानको उक्त व्यवस्था विपरीत सदस्यता वितरण र नवीकरण हुँदै आएको थियो ।
विधान कार्यान्वयन गर्ने उद्धेश्यले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मातहतका संरचनालाई पत्राचार एवं निर्देशन दिँदै आएका थिए ।
यद्यपि, महामन्त्रीले गरेको परिपत्रलाई मातहतका संरचनाले कार्यान्वयन गरेका थिएनन् ।
सदस्यता व्यवस्थापन समितिको संयोजक स्वयं महामन्त्री थापा बनेर नवीकरणको काम टुंगाउन पटक पटक ताकेता गरेका थिए ।
उनी नेतृत्वको समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण टुंगाउने निर्णय गरेको थियो । तर, केन्द्रीय समितिको बैठकले असोज मसान्तसम्मको समयावधि थप गर्यो ।
सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार जेनजी आन्दोलन अघि २२ जिल्लामा नवीकरण सकिने क्रममा थियो ।
सदस्यता व्यवस्थापन समितिको बैठक पछिल्लोपटक बुधबार (आज) बसेको थियो । जेनजी आन्दोलनबाट पार्टी ४० बढी कार्यालयमा क्षति पुगेको हुँदा नवीकरणको अवस्था यकिन हुन नसकेको केन्द्रीय सदस्य रसाइलीले जानकारी गराए ।
‘४० बढी जिल्लामा आगजनी भएको छ । कागजातहरु सबै नष्ट भएका छन्,’ रसाइलीले अनलाइनखबरसँग भने ‘जिल्लाहरुमा नवीकरणको अवस्थाको बुझेर केन्द्रीय समिति बैठकमा महामन्त्रीले हालसम्मको अवस्था जानकारी गराउने निर्णय आज भएको छ ।’
कांग्रेस विधान अनुसार सदस्यता वितरण अधिकार प्रतिनिधि सभा क्षेत्रीय समितिलाई हुनेछ । सदस्यता नवीकरणको जिम्मेवार जिल्ला समितिलाई हुन्छ ।
क्रियाशील सदस्यता नवीकरणको कार्य सकिए लगत्तै नयाँ सदस्यता वितरण गर्ने कांग्रेसको तयारी थियो ।
जेनजी विद्रोहपछि पार्टी पुर्नगठनको माग जोडतोडसँग उठेको छ ।
कांग्रेसका नेताहरुले वर्तमान नेतृत्वबाट चुनावमा जान नसकिने बताउँदै विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने विषय उठाइरहेका छन् ।
पार्टी पुर्नगठनको माग सम्बोधन हुने र विशेष महाधिवेशनको आवश्यकता नहुने गरी उपयुक्त विकल्प नियमित महाधिवशेन हुने नेताहरु बताउँछन् ।
नियमित महाधिवशेन गर्नका लागि पहिलो शर्त क्रियाशील सदस्यता टुंगिनुपर्ने हुन्छ ।
महामन्त्री थापा पुरानो क्रियाशील सदस्यताको नवीकरण जुन अवस्था रहेको छ, त्यही अवस्थामा छोडेर नयाँ सदस्यतका लागि दुई महिना अवधि राखेर नियमित महाधिवेशन गर्न सकिने बताउँछन् ।
महामन्त्री थापा नियमित महाधिवशेन हुन नसके विशेष महाधिवशेन गर्नुपर्ने वा विधानको सबै धारा निलम्बन गरी पार्टीका सदस्यबाट सिधै सभापति छान्नुपर्ने विचार राख्छन् ।
नियमित महाधिवेशन गर्न सकिने विकल्पमा छलफल गर्न महामन्त्री शर्माले शीर्ष तहका नेताहरुलाई निरन्तर भेटिरहेका छन् ।
पार्टीको आन्तरिक आगामी बाटोबारे महामन्त्री शर्माले शर्माले मंगलबार उपसभापति पूर्णबहादुर खड्का, संस्थापनइतरका नेता डा.शेखर कोइराला, नेता डा.शशांक कोइराला लगायतसँग भेटेका थिए ।
संस्थापनइतरका नेताहरुका अनुसार डा. शेखर अन्य माध्यम भन्दा नियमित महाधिवेशनको पक्षमा छन् । उनी पक्षीय नेताहरु विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानमा लागेका छन् ।
शेखर निकटका नेता डा. गोविन्द पोखरेल अहिलेको संकटको बेलमा प्रविधिको प्रयोग गरेर नियमित महाधिवेशन नै समयमा गर्न सकिने विचार राख्छन् ।
उनी भन्छन्,‘विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर नियमित महाधिवेशन गराउने दबाबका रुपमा लिन सकिन्छ ।’ मातहतका संरचनाको अधिवेशन छिटो टुंगाउने गरी निर्णय गरी नियमित महाधिवशेन गर्न सकिने पोखरेल बताउँछन् ।
१३ औं महाधिवेशनको क्रममा केन्द्रको बाहेक अन्य संरचनाको अधिवशेन एकै महिनामा सकिएको पोखरेल स्मरण गर्छन् । विशेष महाधिवशेनमा सभापति मात्रै चुनिने हुँदा उक्त विधि भन्दा नियमित महाधिवशेन गर्न उपयुक्त हुन नेताहरुको तर्क छ ।
नियमित महाधिवशेनबाट केन्द्र देखि तल्लो तहसम्म सबै समितिमा निर्वाचित समिति अवस्था बन्छ ।
केन्द्रीय समितिबाट नियमित महाधिवशेनको निर्णय गरी तल्लो नवीकरण, सदस्यता वितरण र तल्लो तहका अधिवेशन गराउन दुई महिना अवधि छुट्याउन सकिने नेताहरु बताउँछन् ।
महामन्त्री शर्मा मंसिरभित्र नियमित महाधिवेशन गर्न सकिने विचार राख्छन् । शर्माले भने,‘मेरो प्रष्ट धारणा छ – मंसिर मसान्तभित्र गर्नेगरि पार्टीको १५ औं महाधिवेशन आयोजना गर्नु यतिबेलाको सर्वोत्तम बाटो हो ।’
नियमित महाधिवेशन हुने अवस्था नभए ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार विशेष महाधिवशेन गर्नुपर्ने उनको तर्क छ ।
सरकारले चुनावको मिति तय गरिसकेको महाधिवशेनमा ध्यान केन्द्रीत नगरी चुनावी तयारी गर्नुपर्ने मत समेत कांग्रेसमा छ । पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको हुँदा नियमित वा विशेष महाधिवशेनमा ध्यान नदिई निर्वाचन केन्द्रित हुनुपर्ने नेता विमलेन्द्र निधि बताउँछन् ।
सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेर पार्टी निर्वाचनमा होमिनुपर्ने निधिको विचार छ । निधिले अनलाइनखबरसँग भने,‘पार्टीले गर्नुपर्ने अहिले धेरै कामहरू छन् । महाधिवशेनतिर लाग्दा चुनावको तयारी गर्न समय कम हुन्छ । कार्यवाहक सभापति तोकेर पार्टीको कमि कमजोरी सुर्धादै चुनावमा जानुपर्दछ ।’
सभापति देउवाले केन्द्रीय समितिअघि कार्यवाहक सभापति तोक्ने सम्भावना समेत रहेको कांग्रेसभित्र चर्चा छ । महाधिवेशनलाई टार्ने गरी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी देउवाले गरेको एक केन्द्रीय सदस्यले दाबी गरे ।
‘पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाउने र केन्द्रीय समितिमा देउवा अनुपस्थित हुने सम्भावना छ,’ ती केन्द्रीय सदस्यले भने,‘देउवा र आरजु साधारण सदस्य मात्रै रहने गरी पदीय भूमिका छोड्ने मनस्थितिमा देखिन्छन् ।’
नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने अडानमा रहेका महामन्त्री थापा र शर्मा भने कार्यवाहक तोकेर समस्याको समाधान नहुने पक्षमा छन् । नियमित वा विशेष महाधिवशेन गरेर नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने दुई महामन्त्रीको जोड छ ।
महामन्त्री थापा निकट एक केन्द्रीय सदस्य भन्छन्,‘कार्यवाहक सभापति तोकेर जेनजी आन्दोलन, कार्यकर्ता, शुभेच्छुकको माग पुरा हुन सक्दैन । देउवाको ठाउँमा उस्तै शैली र क्षमताको व्यक्ति आएर कार्यकर्ता र जनताको अपेक्षा पुरा हुँदैन ।’
प्रतिक्रिया 4