+
+
Shares

प्रदेश र जिल्लाका नेताले पुनर्गठनको कुरा उठाएपछि ओलीले भने- जबसम्म सक्छु, छाड्दिनँ

‘पार्टी खरानीको थुप्रोमा छ, त्यहीँबाट उठाउँछौं’

‘पार्टी केही न केही सम्हालिएर अघि बढ्नुपर्छ, पुनर्गठन नै गरेर जानुपर्छ भन्नेतिर छलफल गयो,’ ती नेताले अनलाइनखबसँग भने, ‘त्यसपछि उहाँले आफू सक्ने बेलासम्म नछाड्ने बताउनुभएको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १९:५७

२२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत २३ र २४ गते भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा धेरै असंवैधानिक कार्यहरू भएकाले नआत्तिकन अघि बढ्न आग्रह गरेका छन् ।

सोमबार, मंगलबार र बुधबार विभिन्न प्रदेश र जिल्लाका अध्यक्षहरूसँग भर्चुअल संवादमा जोडिएका ओलीले नेता कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् ।

उक्त संवादमा जोडिएका एक नेताका अनुसार, ओलीले पार्टी खरानीको थुप्रोमा रहेको र त्यही थुप्रोबाट अघि बढ्नुपर्ने बताएका थिए ।

‘पार्टी खरानीको थुप्रोमा पुगेको छ । यही थुप्रोबाट हामी माथि उठाउँछौं,’ ओलीले सम्बोधनको क्रममा भनेका भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंहरू नआत्तिकन अघि बढ्नुस् ।’

प्रदेशका नेताहरूसँगको ब्रिफिङका क्रममा ओलीले त्यहाँको अवस्थाबारे ब्रिफिङ लिएका थिए । त्यस्तै, उनले संसद् पुनर्स्थापनाका लागि अघि बढ्नुपर्ने बताउँदै अदालत जाने तयारी भइरहेको बताएका थिए ।

‘संसद् पुनर्स्थापना गराउन अघि बढ्नुपर्छ भनेर भन्नुभयो । त्यसका लागि तयारी भइरहेको पनि उहाँको ब्रिफिङ थियो,’ एक नेताले भने ।

महाधिवेशन गराउन जोड

नेकपा एमाले मोरङ अध्यक्ष अजम्बर राईले पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने कुरा उठेको बताए । उनीसहित भोजपुर,उदयपुर र धनकुटाका अध्यक्षहरूले पार्टीको नियमित महाधिवेशन माग गरेका हुन् । नेताहरूले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

प्रदेश तथा जिल्लाका नेताहरूले ओलीलाई चाँडोभन्दा चाँढो महाधिवेशन गराउन ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा ओलीले पार्टी महाधिवेशन हुने र त्यसको निष्कर्ष सबैले स्वीकानुपर्ने बताए । ‘पार्टी महाधिवेशनमा जाने नै हो, जाऔंला, त्यसअघि अहिलेको परिस्थितिसँग सबै एकजुट भएर जुट्नु छ,’ एक जिल्ला अध्यक्षले भने ।

विशेषगरी कोशी प्रदेशका जिल्ला अध्यक्षहरूले पार्टीको महाधिवेशनका लागि जोड गरेका थिए ।

पुनर्गठनको विषय उठेपछि ओलीले भने– ‘जबसम्म सक्छु, छाड्दिनँ’

ब्रिफिङका क्रममा अध्यक्ष ओलीले आफूले सक्ने बेलासम्म कुनै हालतमा शिर नझुकाउने बताएका छन् । ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ । अडानको हिसाबले, जबसम्म म सक्छु, सक्न छाडेपछि छाडिदिन्छु,’ ओलीले भनेका छन् ।

उनले यो कुरा भन्नुअघि धेरैले पार्टी पुनर्गठनको मुद्दा उठाएका थिए ।

‘पार्टी केही न केही सम्हालिएर अघि बढ्नुपर्छ, पुनर्गठन नै गरेर जानुपर्छ भन्नेतिर छलफल गयो,’ ती नेताले अनलाइनखबसँग भने, ‘त्यसपछि उहाँले आफू सक्ने बेलासम्म नछाड्ने बताउनुभएको हो ।’

ओलीले अहिले पार्टीमा नेता र कार्यकर्तालाई जोड्नेगरी कार्यक्रम बनाउनुपर्ने पनि बताएका थिए ।

‘अहिले यो बेलामा पार्टीमा नेता र कार्यकर्तालाई जोड्नेगरी कार्यक्रम बनाउने बेला भएको छ, नआत्तिकन आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बेला छ,’ ओलीले सम्बोधनको क्रममा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

‘सिंहदरबार जलाउनेलाई नेपाली भन्ने कि नभन्ने ?’

ओलीले जेनजी प्रदर्शनका क्रममा अराजक गतिविधिमा विदेशी शक्तिको समेत हात रहेको चर्चा चलिरहेको र यस्ता गतिविधिबारे अझै केही आकलन हेनुपर्ने सम्बोधनको क्रममा बताएका थिए ।

‘विदेशी घुसपैठबाट यी सबै गतिविधि भएका भन्ने आएका छन् । यसका आकलन हेर्नुपर्छ । अहिले जे जे भइरहेका छन् यी सबै असंवैधानिक कार्य भइरहेका छन्,’ ओलीले भनेका थिए ।

उनले सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी गर्नेलाई नेपाली भन्ने कि नभन्ने ? भन्दै प्रश्न पनि गरेका थिए ।

‘संविधानलाई मिच्ने कुरा भएका छन् । जनताले दु:ख गरेर बनाएको संविधान हो । जेनजीका नाममा धेरै गलत मान्छेले कार्य गरेका छन्,’ ओलीले भनेक थिए, ‘सिंहदरबार जलाउने मान्छेलाई नेपाली भन्ने कि नभन्ने ? अदालतमा आगजनी गर्नेलाई नेपाली भन्ने कि नभन्ने ?’

नेकपा एमाले भोजपुरका अध्यक्ष मक्कर खड्काले राष्ट्रिय महाधिवेशन गर्नुपर्ने आवाज उठाएको बताए ।

‘राष्ट्रिय महाधिवेशन गर्नुपर्छ भन्ने  सबैको सुझाव रह्यो,’ उनले भने, ‘अहिले नेतृत्वको विषयमा कुरा भएन ।’

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जेनजी आन्दोलनअघि नै पार्टीले महाधिवेशन गर्ने पक्षमा उभिएको बताए । यद्यपी छलफलमा महाधिवेशनको विषयमा थप कुरा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?