
२३ असोज, काभ्रेपलाञ्चोक । गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको तीन स्थानमा डाइभर्सन बनेको छ ।
काभ्रे खण्डको रोशी गाउँपालिका ७ मा रहेको घुमाउनेमा डाइभर्सन बनेको छ । डाइभर्सन बनेपछि कटुञ्जे डाँडादेखि चारसयबेसीसम्म सहजै दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । तर चौकीडाँडामा डाइभर्सन निर्माण पश्चात मात्र चारसयबेसीसम्म गाडी चढेर जान सकिन्छ ।
बीपी राजमार्गको काभ्रे खण्डमा पाँच र सिन्धुली खण्डमा एक स्थानबाट डाइभर्सन बनिरहेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार काभ्रे खण्डको चौकीडाँडा, चारसयबेसी, पिन्थली र भ्याकुरेखोलामा डाइभर्सन बनाउने काम भइरहेको छ ।
काभ्रे खण्डमा १२ वटा स्काभेटर, ४ वडा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरेर डाइभर्सन बनाउने काम भइरहेको छ ।
साँझसम्म सिन्धुली खण्डमा डाइभर्सन बनिसक्ने
बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फ नेपालथोक र बालुवामा डाइभर्सन बनेको छ । बालुवा भन्दा थोरै माथि रोशीले नयाँ कटान गरेकाले खोला फर्काएर डाइभर्सन बनाउने काम भइरहेको छ । साँझसम्म सिन्धुली खण्डमा डाइभर्सन बनिसक्ने सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए ।
काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको छ । दाप्चा खोलाले एक स्थानमा क्षति पुर्याएको छ ।
बीपी राजमार्गमा बाढीले १६ वटा डाइभर्सन बगाइएको थियो । रोशी खोलाले चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी, पिप्लेमा चार स्थानमा तथा माम्तीमा दुई स्थानमा डाइभर्सन बगाएको छ । त्यस्तै बर्खेखोलादेखि नेपालथोकसम्म तीन स्थानमा डाइभर्सन बगाएको छ । गत असोजमा बगेर बनाइएको डाइभर्सन यो पटक सबै बगाएको छ ।
कुलमान घिसिङले बीपी राजमार्ग निरीक्षण गर्दै
यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग चौकीडाँडा-नेपालथोक खण्डमा भइरहेको डाइभर्सन निर्माणको काम अनुगमन गर्ने भएका छन् ।
रोशीले बीपी राजमार्ग बगाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री कुलमान घिसिङले ३–४ दिनभित्रमा राजमार्ग सुचारु गरिने बताएका थिए । तर उनले भनेको समय गुज्रेपछि उनी अनुगमनमा आउन लागेका हुन् ।
प्रतिक्रिया 4