+
+
Shares

जाफर पनाही : जेलदेखि पाम डी’ओरसम्म

धेरै इरानी फिल्ममेकरहरू आफ्नै देशबाट निर्वासित भएका छन् । तर पनाही आफू इरानबाट भाग्ने कुनै योजना नरहेको बताउँछन् ।

प्रवीण प्रवीण
२०८२ असोज २५ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानी फिल्ममेकर जाफर पनाहीलाई २०१० मा ६ वर्ष जेल सजाय र २० वर्ष सिनेमा बनाउन प्रतिबन्ध लगाइएको थियो।
  • पनाहीले नजरबन्दमा रहँदा 'दिस इज नट अ फिल्म' डकुमेन्ट्री बनाएका थिए, जुन कान्स फिल्म फेस्टिभलमा युएसबीमा पठाइएको थियो।
  • उनले सन् २०२५ मा कान्समा जेल जीवनबाट प्रेरित 'दिस इज नट एन याक्सिडेट' फिल्मका लागि पाम डी’ओर जितेका थिए।

सन् २०११, फेब्रुअरी ११ । बर्लिनेल फिल्म फेस्टिभलको उद्घाटन समारोह । जहाँ जाफर पनाही निर्णायक मण्डलमा थिए । तर उनी त्यहाँ उपस्थित भएनन् । उनको कुर्सी खाली थियो ।

फेस्टिभलकी जुरी प्रेसिडेन्ट इजाबेल रोसेलिनीले विश्वभरका दर्शकहरूलाई पनाहीले लेखेको एउटा खुला पत्र पढेर सुनाइन्, जुन इरानबाट गोप्यरूपमा लुकाएर त्यहाँसम्म ल्याइपुर्‍याइएको थियो ।

‘अन्ततः मेरो मुद्दाको फैसलाको यथार्थ यो हो कि अब मैले ६ वर्ष जेलमा बिताउनुपर्छ । म अबको ६ वर्षसम्म मेरा सपनाहरू वास्तविकतामा परिणत हुनेछन् भन्ने आशामा बाँच्नेछु ।

म चाहन्छु, यो संसारका हरेक कुनामा रहेका मेरा सहकर्मी फिल्ममेकरहरूले यति सुन्दर सिनेमाहरू सिर्जना गरून् कि जेलबाट निस्किँदासम्म उनीहरूले आफ्नो सिनेमामा देखेको संसारमा म पुन: बाँच्न सकुँ । त्यसैले अबदेखि, र अर्को २० वर्षसम्म, म मौन रहन बाध्य छु । देखेर पनि नदेखेजस्तो गर्न बाध्य छु, म आफ्ना सोचहरूमा लगाम लगाउन बाध्य छु, म फिल्महरू नबनाउन बाध्य छु । म यो बन्धन र बन्धकहरूको वास्तविकतालाई स्वीकार गर्छु । म तपाईंका सिनेमाहरूमा मेरा सपनाहरूको अभिव्यक्ति खोज्नेछु । आशा छ, ती सिनेमामा त्यो पाउनेछु जुनदेखि म वञ्चित भएको छु ।’

सन् २०१०, मार्च १० । २००९ को इरानको चुनावमा विपक्षी दललाई खुला समर्थन र शासनको विरोध (इरानियन ग्रीन मुभमेन्ट) गरेको आरोपमा पनाहीलाई गिरफ्तार गरिएको थियो । जसकारण, अन्तर्राष्ट्रिय मिडिया र सिनेमा जगतमा तुरुन्तै आक्रोश फैलियो । त्यतिबेला कान्स फिल्म फेस्टिभल चलिरहेको थियो । उक्त फेस्टिभलमा जाफर पनाहीलाई निर्णायक मण्डलमा राख्न छनोट गरिएको थियो । तर उनी त्यहाँ पनि उपस्थित हुन पाएका थिएनन् । पनाहीलाई पक्राउ गरेको विरोधको संकेतमा उनको कुर्सी खाली छोडियो । जुलिएट बिनोचे, अब्बास किरोस्तामी र अन्य फिल्ममेकरहरूले पनाहीको गिरफ्तारीप्रति आफ्नो आक्रोश र दुःख व्यक्त गरेका थिए ।

पनाहीले भोक हडताल थाले । दबाब बढ्यो र इरानले उनलाई जमानतमा रिहा गर्‍यो । तर उनलाई अर्को ८/९ महिनासम्म आफ्नै घरमा नजरबन्दमा राखियो । उनी आफ्नो मुद्दाको फैसालाको पर्खाइमा थिए । सन् २०१०, डिसेम्बर २० मा उनको मुद्दाको फैसाला आयो, जुन अत्यन्त दु:खलाग्दो थियो । उनी दोषी ठहर भए । उनलाई ६ वर्ष जेल सजाय सुनाइयो । त्यतिमात्र होइन, उनलाई २० वर्षसम्म सिनेमा बनाउन प्रतिबन्ध लगाइयो । साथै, यात्रा गर्न नपाइने र विदेशी प्रेससँग अन्तर्वार्ता समेत दिन नपाइने भनियो ।

उनलाई देशको राष्ट्रिय सुरक्षाविरुद्ध अपराध गरेको र इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गर्ने उद्देश्यले सभा गरेको आरोप लगाइएको थियो । चलचित्र बनाउन तथा विदेश यात्रा गर्न नपाउने शर्तमा उनलाई दुई महिनापछि जमानतमा रिहा गरिएको थियो।

त्यस नजरबन्दको समयमा उनले एउटा डकुमेन्ट्री बनाए– ‘दिस इज नट अ फिल्म’ । जसको आधा भाग उनले आफ्नो आइफोनले खिचेको थिए भने आधा भाग उनकै घनिष्ठ साथी मोज्तबा मिर्तहमास्बले गोप्य रूपमा छायांकन गरेका थिए । यस डकुमेन्ट्रीको शीर्षक आफैँमा क्रान्तिकारी थियो नै र इरानी फिल्म अधिकारीहरूप्रति गरिएको मजाक जस्तो पनि थियो । ‘दिस इज नट अ फिल्म’ सन् २०११ को कान्स फिल्म फेस्टिभलमा प्रिमियरका निम्ति केकभित्र लुकाइएको युएसबी स्टिकमा फ्रान्समा पठाइएको थियो । यो डकुमेन्ट्रीमा जाफर पनाहीको ‘जीवनको एक दिन’ खिचिएको छ, जसमा उनले घरमै नजरबन्दमा हुँदा मुद्दाको अपिलको निर्णय पर्खिरहेका बेला आफ्नो दैनिक जीवनको दस्तावेजीकरण गरेका छन् ।

इरानमा नौरोज उत्सव (फारसी नव वर्ष) चलिरहेको छ । बाहिर पटकाहरूको आवाज सुनिन्छ, जसले तेहरानको आफ्नो अपार्टमेन्टमा चिया बनाउँदै र खाजा खाइरहेका पनाहीका सौम्य दृश्यहरूलाई एउटा हिंस्रक बिम्ब दिएजस्तो लाग्छ । अझ धेरै उनको मनको छट्पटीको आवाजजस्तो । उनी फोनमा वकिलसँग आफ्नो मुद्दाको अन्तिम फैसालाबारे कुरा गर्छन् । उनी जेल जाने लगभग निश्चित छ । यसैबीच, उनी उनका घनिष्ठ साथी मिर्तहमास्बलाई फोन गर्छन्, र उनलाई क्यामेरा लिएर आउन आग्रह गर्छन् ।

मिर्तहमास्ब आउँछन् र भान्सामा क्यामेरा सेट गर्छन् । पनाही आफू पक्राउ पर्नुअघि आफूले बनाउन लागेको फिल्मको बारेमा क्यामेरासँग कुरा गर्छन् । उनको हातमा त्यस फिल्मको पटकथा छ । उनी भन्छन्, ‘सायद म यो फिल्मको छवि सिर्जना गर्न सक्छु, जुन मैले बनाउन पाइनँ ।’ उनीहरू बैठक कोठामा जान्छन् र पनाहीले भुइँमा रहेको कार्पेटमा एउटा काल्पनिक सेट तयार गर्छन् र उक्त फिल्मका दृश्यहरू वर्णन गर्न थाल्छन् । पनाही पूर्णरूपमा बोलेरै त्यस फिल्मका दृश्यहरू निर्माण गर्न लागिपर्छन् । उनले फिल्म पहिलो शट कस्तो हुन्छ भनेर वर्णन गर्छन्, ती दृश्यहरूको अभिनय गर्छन्, स्टेजिङ गर्छन् ।

क्यामेरासहित मिर्तहमास्ब उनको वरिपरि घुम्छन्, कहिले उनको टाउको माथिबाट क्यामेरा तेर्साउँछन्, जहाँ विशाल फारसी कार्पेट (जहाँ काल्पनिक कोठा छ, भर्याङ छ, झ्याल छ, फोन छ)मा पनाही आफ्नो फिल्मका दृश्यहरू सम्झाइरहेका छन् ।

तर बोल्दाबोल्दै एक बिन्दुमा पुगेर उनी भावनाले अभिभूत हुन्छन् र रोकिन्छन् । उनको अनुहारमा निराशा छाउँछ, उनी विरक्तिन्छन् र आफैंलाई भन्छन्, ‘यदि बोलेर सबथोक बुझाउन सकिन्छ भने हामीले फिल्म किन बनाउनुपर्‍यो ?’

उनीहरू विश्राम लिन्छन् । पनाहीले आफ्नो अपर्टामेन्टमा ‘इगी’ नाम गरेको एउटा ठूलो छेपारो पालेका छन्, जो बेलाबेला क्यामेरामा कैद हुन्छ, जो किताब राखिएका दराज र सोफाहरूमाथि घस्रिरहेको हुन्छ । यसले पनाहीको अवस्थालाई प्रतिबिम्बित गरिरहेको भान हुन्छ ।

मुद्दाको फैसालाको पर्खाइमा उनका दिनहरू पनि उनको पाल्तु छेपारोझैं घिस्रिरहेका छन् । पनाहीले कानुनी मुद्दाबारे वर्षौंदेखि इरानी फिल्म अधिकारीहरूसँग जुध्नु परेको समस्याका बारेमा कुरा गर्छन् । आफ्ना केही बुँदाहरू स्पष्ट पार्न उनी आफ्नै फिल्महरू: ‘क्रिमसन गोल्ड’ र ‘द सर्कल’का डीभीडी लगाएर टेलिभिजन खोल्छन् ।

उनी ती फिल्मका केही दृश्यहरूमा रोकिन्छन्, ती दृश्यहरूको छायांकनबारे कुरा गर्छन् । फिल्मको कुनै दृश्यलाई जायज र सिद्ध बनाउन स्थानले कति फरक पार्छ भन्ने बारे खुलाउछन् । उनी भनिरहेका हुन्छन्- कुनै दृश्यमा कसरी एउटा कलाकारले आफ्नो अभिनयमा एउटा यस्तो सुन्दर चीज ल्याइदिन्छ, विल्कुल एउटा फरक दृष्टिकोण प्रस्तुत गरिदिन्छ, जुन न एउटा लेखकले लेख्न सकेको हुन्छ, न एउटा निर्देशकले सोच्न ।

‘दिस इज नट अ फिल्म’का यी दृश्यहरूले पनाहीको काम गर्ने प्रक्रियाको झल्को दिन्छ । साथै दुर्घटना र आश्चर्यका साथ आफ्नो फिल्म बनाउँदाको प्रकियामा आएका कुराहरूलाई उनले कसरी अनुमति दिन्छन् भन्ने कुरा स्पष्ट पार्छ । यही कुरा यो डकुमेन्ट्रीमा पनि देखिन्छ ।

जस्तो: पटका पट्केको आवाज, जसले यो डकुमेन्ट्रीलाई हस्तक्षेप गर्न खोजेको देखिए पनि त्यो वातावरणको वास्तविकता हो भन्ने कुरालाई पर राखेर हेर्न मिल्दैन । जस्तो: डकुमेन्ट्रीको अन्तिमतिर पनाही बस्ने अपार्टमेन्ट कम्प्लेक्सको फोहोर व्यवस्थापनमा सहयोग गरिरहेको कलेज पढिरहेको एउटा विद्यार्थी केटो देखा पर्छन् । पनाही क्यामेरा बोकेर उसको पछि-पछि लिफ्टमा जान्छन् । उक्त केटो फोहोर उठाउन प्रत्येक तलामा ओर्लिन्छ । ऊ पूर्णतया फोटोजेनिक र आकर्षक छ । पनाहीको निर्देशकीय रुचि उसमा महसुस गर्न सकिन्छ । ऊ क्यामेरातिर हेरेर पनाहीसँग विभिन्न कुरा गरिरहन्छ । जब उनीहरू अपार्टमेन्ट कम्प्लेक्सको ढोकाबाहिर निस्किन्छन्, त्यहाँ विशाल आगो बालेर केही मान्छेहरू हल्ला गरिरहेका हुन्छन् ।

त्यो केटोले पनाहीलाई कोमल चिन्ता मिसिएको आवाजमा कति सजिलै यति दु:खलाग्दो कुरा भन्छ– बाहिर नआउनुहोला, मिस्टर पनाही । तिनीहरूले तपाईंको क्यामेरा देख्नेछन्।

यो डुकुमेन्ट्री आफैंमा विद्रोह हो, र ती कला र कलाकार दबाउने शक्तिहरूको निम्ति झापड पनि । यो हेरिरहँदा सकस लाग्छ, पनाहीलाई यो अवस्थामा देख्नु निराशाजनक छ, तर उनको दृढ संकल्प प्रेरणादायी छ । यो सेन्सरसिप र उत्पीडनप्रति क्रोध र निराशाको आवाज हो । यो कलात्मक प्रक्रियाको झलक हो । यसले एकैसाथ कलाको विलाप र प्रशंसा गरिरहेको छ र यो दमनकारी शासनविरुद्ध उभिएको एउटा सिनेम्याटिक कविता हो ।

जाफर पनाही कहिल्यै आफूलाई राजनीतिक फिल्ममेकरको रूपमा उभ्याउन चाहँदैनथे । उनी भन्छन्, ‘मेरो परिभाषामा, एक राजनीतिक फिल्म निर्माताले त्यस्तो विचारधाराको रक्षा गर्छ, जहाँ उसलले त्यसलाई पछ्याउँछ र खराबले त्यसको विरोध गर्छ । मेरा फिल्मका नराम्रा पात्रहरूलाई व्यक्तिगत रोजाइले होइन, प्रणालीले आकार दिन्छन् ।’

सन् २०२२ मा पक्राउ परेका अर्का इरानी फिल्ममेकर मोहम्मद रसौलोभको अवस्था बुझ्न पनाही न्यायाधिवक्ताको कार्यालय गएका थिए । त्यहाँका गार्डहरूले उनलाई हिरासतमा लिए । र, त्यसको केही समयपछि इरानको न्यायपालिकाले उनको ६ वर्षको जेल सजाय लागू गर्ने घोषणा गर्‍यो । इरानको न्यायपालिकाले आफूविरुद्ध ‘गैरकानुनी र अमानवीय व्यवहार’ गरेको भन्दै भोक हड्ताल गरेपछि उनी सन् २०२३ फेब्रुअरीमा धरौटीमा रिहा भएका थिए ।

त्यसपछि, इरानको सर्वोच्च अदालतले उनको सन् २०१० को सजाय उल्ट्याइदियो । पनाही कानुनीरूपमा स्वतन्त्र भए, तर कलात्मक रूपमा अझै पनि उनी एउटा प्रणालीद्वारा बाँधिएका छन्, जसको अधीनमा बस्न उनी अस्वीकार गर्छन् ।

उनी भन्छन्, ‘मलाई फिल्म बनाउनबाट कसैले रोक्न सक्दैन । किनकि जब म अन्तिम कुनामा धकेलिन्छु, म मेरो आत्मासँग जोडिन्छु र यस्ता निजी ठाउँ र सीमितताहरूका बाबजुद सिर्जना गर्ने आवश्यकता मेरा लागि झन् आवेग बनेर आइदिन्छ । सिनेमा एउटा कला हो र यो नै मेरो मुख्य काम हो । त्यसैले आफ्नै नजरमा माथि उठ्न र जीवित महसुस गर्न मैले कुनै पनि परिस्थितिमा फिल्म बनाइरहनुपर्छ ।’

सन् २०२५ मा उनले कान्स फिल्म फेस्टिभलमा ‘इट वाज जस्ट यन याक्सिडेन्ट’ का लागि पाम डी’ओर जिते, जुन फिल्म उनको जेल जीवनको वास्तविकताबाट प्रेरित थियो । यस फिल्मका पात्रहरू जेलमा हुँदा उनले अन्य कैदीहरूसँग गरेका कुराकानी र उनीहरूले पनाहीलाई सुनाएका इरानी सरकारको हिंसा र क्रूरता कथाहरूमा आधारित छ ।

धेरै इरानी फिल्ममेकरहरू आफ्नै देशबाट निर्वासित भएका छन्– जसमा पनाहीका साथी मोहम्मद रसौलोफ (निर्देशक, ‘द सीड अफ द सेक्रेड फिग’) पनि पर्छन् । तर पनाही आफू इरानबाट भाग्ने कुनै योजना नरहेको बताउँछन् । उनी भन्छन्, ‘म अर्को समाजमा गएर एडजस्ट हुन पूर्णरूपमा असमर्थ छु ।’

यद्यपि उनको फिल्म निर्माण र यात्रामा प्रतिबन्ध हटाइए पनि, उनी अझै पनि धेरै सीमित कलाकार र टिमसहित गोप्य रूपमा काम गर्न बाध्य छन् ।

लेखक
प्रवीण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?