+
+
Shares

भोट हाल्न उत्साहित छन् जेनजी नयाँ मतदाता (भिडिओ)

‘जेनजी शहीदको बलिदन खेर जान दिदैनौँ’

चुनावलाई जेनरेसन जेड (जेनजी) ले विशेष उत्साहका साथ स्वागत गरेका छन् । चुनावको वातवरण बनाउन पनि सरकारलाई अनुरोध गरिरहेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असोज २३ गते २२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ वर्षीय सविन कटुवालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मतदान गर्न नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय काठमाडौं पुगेका छन्।
  • जेनजी आन्दोलनले युवा मतदातालाई उत्साहित बनाएको र निर्वाचन कार्यालयमा नाम दर्ता गर्ने युवाको संख्या बढेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख मुगाराम राईले बताए।
  • मतदाता नाम दर्ता प्रक्रिया सजिलो भएको र ३० कात्तिकसम्म नयाँ मतदाता नाम दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

२३ असोज, काठमाडौं । गोठाटारका २४ वर्षीय सविन कटुवाल जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा मतदाता नामवलीमा नाम दर्ता गराउन फोटो खिच्ने लाइनमा थिए ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मतदान गर्न उनी नाम दर्ता गराउन निर्वाचन कार्यालय आएका हुन् । उनले थाहा पाएदेखि अहिलेसम्म एउटै अनुहार निर्वाचित भएको देखिरहे । तर यसपटक नयाँ पुस्तालाई मत दिन नाम दर्ता गर्न आएको उनले बताए ।

‘पुरानो पार्टीहरूलाई हेर्‍यौं । कुरा धेरै, काम थोरै भयो । यसपटक नयाँ उम्मेदवारलाई मत दिन्छु,’ उनले भने, ‘भ्रष्टाचार हटाउने र विकास गर्ने सही उम्मेदवारलाई मत हाल्ने हो । एक भोटको पनि महत्त्व हुन्छ । राम्रो उम्मेदवारलाई मत दिने हो ।’

२०६२/०६३ सालको जनआन्दोलनपछि पुराना नेतालाई विश्वास गरेको तर आफ्नो लागि मात्र सोचेकाले अहिलेको परिस्थिति आएको बुझाइ उनको छ । ‘२०६२/०६३ को जनआन्दोलनपछि उहाँहरूलाई विश्वास गरेर मत दिएको हो नि । तर आफ्नो लागि मात्र सोच्नुभयो,’ उनले भने ।

सविन कटवाल।

अबको मतदान केवल अधिकार मात्र होइन, नागरिकको जिम्मेवारी पनि रहेको बोध गर्छन् उनी । र, गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनले उनलाई नाम दर्ता गर्न उत्साहित बनायो । उनी जेनजी शहीदको सपना साकर गर्नुपर्ने आफ्नो कर्तव्य ठान्छन् ।

‘७६ जनाको बलिदान खेर जान नदिन राम्रो मान्छेलाई जिताउनुपर्छ । देशको नागरिक भएकाले यो मेरो पनि कर्तव्य हो । त्यसैले यसपटक भोट हाल्न जेनजी तयार छन् । सही उम्मेदवारलाई मतदान गर्नुपर्छ,’ उनले भने ।

नाम दर्ता गर्न उनले जेनजीहरूलाई अनुरोधसमेत गरे । ‘एक भोटले देश परिवर्तन गर्न सकिन्छ । त्यसैले सबै युवालाई नाम दर्ता गर्न अनुरोध गर्छु,’ उनले भने ।

गोरखाकी २१ वर्षीया अनामिका अधिकारी पनि मतदाता नामवलीमा नाम दर्ताको लागि फोटो खिच्न निर्वाचन कार्यालय आएकी थिइन् । जेनजी आन्दोलनले उनलाई पनि नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालयमा पुर्‍याएको हो ।

‘भोटको माध्यमबाट नै सांसद बन्ने हो । एक-एक भोट गरेर चुनाव जित्ने हो । यसका लागि जेनजी तयार छन्,’ उनले भनिन्, ‘जेनजी आन्दोलनने थप उत्साहित बनाएर मतदाता नामावलीमा नाम दर्ता गर्न आएको हुँ ।’

अनामिका अधिकारी।

पार्टीबाट आए पनि स्वतन्त्रबाट आए पनि युवा उम्मेदवार आउनुपर्ने भन्दै उनले युवालाई नै मतदान गर्न नाम दर्ता गराएको बताइन् ।

‘पुरानो पुस्ताप्रति नयाँ पुस्ताको आक्रोश छ । अब नयाँ पुस्ताले केही गर्नसक्छ । तर राजनीतिक दलबाट पनि युवा आउनुपर्छ,’ उनले भनिन्, ‘अहिलेको समयमा नेतृत्व गर्न सक्ने, टेक्नोलोजीको ज्ञान र नयाँ विचार भएको नयाँ फेस आउनुपर्छ । जेनजीले यसपटक नयाँ फेस ल्याउने छन् ।’

तर, जेनजी पुस्ताले भोट हाल्ने जोश देखाए पनि चुनौती पनि देखेका छन् । पुराना पार्टीको संरचना, संगठन र मतदाताको मनोविज्ञान तत्कालै बदलिँदैन कि भन्नेमा जेनजी सचेत देखिएका छन् ।

‘भोट हाल्ने जेनजी मात्र होइन । कति जेनजी विदेश छन् । कति जेनजी दलका पनि छन् । पुरानो जग बसाएको दलको संगठन छ । त्यसैले सोचेभन्दा फरक नतिजा आउन सक्छ । त्यताको भोट पनि जेनजीमा ल्याउनुपर्छ । युवालाई जागरुक बनाउन आवश्यक छ,’ उनले भनिन् ।

सविन र अनामिका मात्र होइन, निर्वाचन कार्यालयमा नाम दर्ता गर्न आउने अधिकांश युवाको उस्तै साझा धारणा छ ।

जेनजी आन्दोलनले परिवर्तनको ढोका खोलेको र यस पटकको चुनामा पुरानो अनुहार मात्र होइन, सोच पनि फेर्ने अवसरको रूपमा उनीहरूले लिएका छन् ।

चुनावलाई जेनरेसन जेड (जेनजी) ले विशेष उत्साहका साथ स्वागत गरेका छन् । चुनावको वातवरण बनाउन पनि सरकारलाई अनुरोध गरिरहेका छन् ।

यसरी निर्वाचन कार्यालयमा नाम दर्ता गर्न आउने पनि अधिकांश युवा छन् । ‘नाम दर्ताका लागि आउने जेनजी उल्लेखनीय छन् ।्

जेनजी आन्दोलनले पनि होला त्यो उमेर समूहको धेरै आइरहेका छन्,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन व्यवस्थापन शाखाका प्रमुख मुगाराम राईले भने । नाम दर्ता गराउन आउनेको संख्या बढेपछि कार्यालयले डेस्क पनि बढाएको छ ।

मुगाराम राई, जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन व्यवस्थापन शाखा प्रमुख।

‘आजदेखि ४ वटा डेस्क राखेका छौँ । हिजोसम्म तीन वटा डेस्कबाट काम गरेका थियौं । दैनिक ८०० को नाम दर्ता गर्ने लक्ष्य हो । क्रमशः बढिरहेको छ,’ उनले भने, ‘औसतमा दैनिक ५०० बढीले दर्ता गरिरहेका छन् । आजदेखि झन् बढेको छ ।’

दर्ताको लागि धेरै समय नलाग्ने उनले बताए । ‘धेरै लामो समय लाइन बस्नु पर्दैन । २ मिनेटसम्ममा काम पूरा हुन्छ । अनलाइन सिस्टमले विगतको भन्दा सजिलो भएको छ,’ उनले भने ।

कतिपय भने पहिले नै दर्ता भइसकेका पनि फेरि दर्ता गर्नुपर्ने हो कि भनेर आइरहेका छन् । एक पटक नाम दर्ता गरेकाहरूलाई दर्ताको लागि नआउन उनले आग्रह गरे । र, २१ फागुन २०८२ मा हुने प्रतिनिधिसभा चुनावका लागि ३० कात्तिकसम्म नयाँ मतदाता नामवली दर्ता गर्न सकिने छ ।

१६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने छ ।

आयोगको बेवसाइटमा प्रि-रजिष्ट्रेसन प्रणालीबाट आवेदन भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक विवरण उपलब्ध गराउनुपर्नेछ ।

र, विवाह भएर अन्यत्र गएका, बसाइँसराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने छन् । नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिने छ ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?