+
+
Shares

चुनाव केन्द्रित रास्वपा, स्वर्णिम वाग्लेले बनाउँदैछन् वाचा पत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ११:१८

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव केन्द्रित भएको छ । रास्वपाका प्रवक्ता मनीष झाका अनुसार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति बनेको छ । आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउन लागिएको हो । प्रवक्ता झा भन्छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं । वाचा पत्र बनाउने काम भइराखेको छ ।’

दुई ठूला दल कांग्रेस र एमाले चुनावप्रति शंका गरिरहेका बेला रास्वपाले चुनाव केन्द्रित भएको जनाएको हो । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अगाडि बढाउन खोजिरहेको छ । यो विषयमा कांग्रेसले औपचारिक रुपमा केही निर्णय लिएको छैन् । माओवादी केन्द्र पनि चुनावको पक्षमा उभिएको छ ।

यो बेला विघटित प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपा भने चुनावको वातावरण बनाउन र पार्टीको वाचापत्र लेखनमा लागेको हो ।

रास्वपाका सहमहामन्त्री विपिन आचार्य उल्टै कांग्रेस र एमालेमाथि शंका गर्छन् । सामाजिक सञ्जालमार्फत उनले पुराना दल पुरानो संसदीय अंकगणित हेरेर अगाडि नबढ्न सुझाएका छन् ।

शंका नगरी चुनावमा होमिने निर्णय लिन कांग्रेस र एमालेलाई उनको आग्रह छ । उनी लेख्छन्, ‘पुराना पार्टीका पुरानो नभइसकेका र देशलाई सर्वोपरि मान्ने यदि कोही बाँकी हुनुहुन्छ भने, आफ्नो मूल नेतृत्वलाई हटाएर फ्रेस म्यान्डेट लिन (नयाँ चुनावबाट जनमत लिन)का लागि  मन, वचन र कर्मले लाग्न अनुरोध गर्दछु ।’

विघटित प्रतिनिधिसभाको संसदीय अंकगणित हेरेर अगाडि बढ्न खोजे अस्तित्व समाप्त हुन सक्ने उनको चेतावनी छ । सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘पुरानो अंकको दम्भ बोकेर अगाडि बढ्ने प्रयास भयो भने, त्यसले देशलाई केही समय दु:ख त पुर्‍याउनेछ तर पुराना पार्टीहरूको अस्तित्व सदाका लागि समाप्त गर्नेछ ।’

रास्वपा फागुन २१ को चुनावको तयारीबारे निरन्तर छलफलमा समेत छ ।

यही असोज ७ गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टी प्रतिनिधिसभाको चुनावको तयारी केन्द्रित हुने निर्णय लिएको थियो । चुनावी रणनीति बनाउने सम्बन्धमा यही असोज २२ गते बुसेको रास्वपाको सचिवालय बैठकमा छलफल भएको थियो ।

आज पनि रास्वपाको सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठकमा आगामी चुनावको तयारीसहितका विषयमा छलफल गर्ने एजेन्डा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?