
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीका ५४ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमध्ये ४४ जनाले पार्टीको विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सहित माग गरेका छन्।
- पत्रमा भनिएको छ, जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न, आन्दोलनका ध्वंसात्मक घटनाको छानबिन गर्न र संविधान तथा लोकतन्त्र जोगाउने जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा आएको छ।
- प्रतिनिधिहरूले विशेष महाधिवेशनलाई पार्टीभित्र आत्ममन्थन, आत्ममूल्याङ्कन र आत्मसंकल्प गर्ने अवसरको रूपमा वर्णन गरेका छन्।
२४ असोज, गुल्मी । नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन बोलाउन औपचारिक माग गरेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपाली राजनीति असामान्य मोडमा पुगेको भन्दै गुल्मी जिल्लाबाट प्रतिनिधित्व गर्ने ८५ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका हुन् ।
सभापति, केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै गुल्मीका ५४ महाधिवेशन प्रतिनिधिमध्ये ४४ जनाले विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र पठाएका छन् ।
ध्यानाकर्षण पत्रमा देशमा अहिले राजनीतिक, सामाजिक र आर्थिक आघातबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा सामान्य निर्णयले होइन, असामान्य र साहसिक कदमले मात्र मुलुक र पार्टीलाई स्थायित्व दिलाउन भनिएको छ ।
पत्रमा भनिएको छ, ‘जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न, आन्दोलनका ध्वंसात्मक घटनाको छानबिन गर्न र संविधान तथा लोकतन्त्र जोगाउने जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा आएको छ ।’
‘वर्तमान अवस्थामा दलहरूको मौजुदा नेतृत्वबाट देशको बदलिँदो भावनालाई सम्बोधन गर्न सकिने अवस्था छैन,’ पत्रमा उल्लेख छ ।
पार्टीभित्र नीति, नेतृत्व र संरचनामा समयसापेक्ष सुधार गर्न विशेष महाधिवेशनमार्फत निर्णायक छलफल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
नेताहरूले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल सकिन लागेको र आम निर्वाचन (फागुन २१, २०८२) का लागि पार्टीलाई तयारी अवस्थामा राख्नुपर्ने जिम्मेवारी भएकाले तत्काल विशेष महाधिवेशन बोलाउनु जरुरी भएको बताएका छन् ।
२०१४ सालमा जस्तै वर्तमान असामान्य राजनीतिक अवस्थालाई सामना गर्न देशभरका कार्यकर्ताहरू एक ठाउँमा बसेर सामूहिक निर्णय लिनुपर्ने समय आएको उल्लेख छ ।
प्रतिनिधिहरूले विशेष महाधिवेशनलाई पार्टीभित्र आत्ममन्थन, आत्ममूल्याङ्कन र आत्मसंकल्प गर्ने अवसर का रूपमा वर्णन गरेका छन् ।
जेनजी आन्दोलनपछि देशको राजनीतिक दिशाबारे स्पष्ट मार्गचित्र बनाउने जिम्मा कांग्रेसले नै लिनुपर्ने पत्रमा उल्लेख छ ।
पत्रको अन्त्यमा भनिएको छ, कांग्रेसको भौतिक संरचनामा प्रहार भए पनि हाम्रा विचारहरू अजेय छन् र हाम्रो हिम्मत सगरमाथा भन्दा अग्लो छ । विशेष महाधिवेशनले यही आत्मबललाई संस्थागत रूप दिनेछ भनिएको छ ।
कांग्रेसको विधान २०१७ को धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन बोलाउन माग गरिएको यस पत्रमा जिल्लास्तरका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर रहेको बताइएको छ ।
प्रतिक्रिया 4