News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले महिला राष्ट्रिय क्रिकेट टिमका लागि विदेशी मुख्य प्रशिक्षक पदमा आवेदन खुला गरेको छ।
- आवेदन दिनका लागि ईसीबी वा सीए लेभल-३ प्रमाणपत्र र कम्तीमा पाँच वर्षको व्यावसायिक प्रशिक्षण अनुभव अनिवार्य छ।
- चयनित प्रशिक्षकलाई पूर्ण बोर्ड आवास, प्रतिस्पर्धात्मक तलब र भ्रमण खर्च उपलब्ध गराइनेछ।
२५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक पदमा आवेदन खुला गरेको छ।
क्यानले विदेशी प्रशिक्षक नियुक्त गर्ने हिसाबले आवेदन खुलाएको छ । ईसीबी वा सीए लेभल-३ वा सो सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको व्यक्तिले मात्र आवेदन दिन सक्नेछन्।
क्यानका सचिव पारस खड्काले विदेशी प्रशिक्षक नै अनुबन्ध गर्ने हिसाबले आवेदन खुलाएको जानकारी दिए । ‘महिला क्रिकेटको लागि विदेशी प्रशिक्षक अनुबन्ध गर्नका लागि भ्याकेन्सी खुलाएको हो’ खड्काले अनलाइनखबरसँग भने, ‘सिनियर टिमको टी२० महिला विश्वकप ग्लोबल क्वालिफायर र यू१९ विश्वकप छनोट लाई मध्यनजर गर्दै प्रशिक्षक नियुक्त गर्ने योजना हो।’
आवेदनमा उल्लेख भएअनुसार नयाँ प्रशिक्षकले टिमको प्रदर्शन सुधार गर्नुका साथै सहयोगी स्टाफको नेतृत्व गर्नु पर्नेछ र दीर्घकालीन प्रतिभा पहिचान तथा विकास योजनामा काम गर्नु पर्नेछ।
उम्मेदवारले क्रिकेट संस्कृति र महिला क्रिकेटको संरचनाको ज्ञान राख्नु पर्ने र अंग्रेजीमा दक्ष हुनुपर्ने बताइएको छ। नेपाल क्रिकेट र एसोसिएट क्रिकेटको ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।
चयन हुने प्रशिक्षकलाई नेपालमा पूर्ण बोर्ड आवास, प्रतिस्पर्धात्मक तलब र टिमको भ्रमण खर्चको व्यवस्था गरिनेछ।
इच्छुकले आफ्नो सीभी र पोर्टफोलियो २०२५ अक्टोबर २५ भित्र क्यानलाई बुझाइसक्नुपर्ने छ ।
नेपाली महिला टोलीले सन् २०२६ को जनवरीमा नेपालमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।
प्रतिक्रिया 4