
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मैझारो'ले ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको छ र पूर्वी नेपालका सहरबाट प्रचारप्रसार सुरु गरेको छ।
- निर्देशक विल्सनविक्रम राईले सांगीतिक कार्यक्रममार्फत फिल्मको प्रचार गर्दै दर्शकलाई मनोरञ्जन र जानकारी दिइरहेका छन्।
- धरान, दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी र विर्तामोडमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी नेपालका सहरबाट प्रचारप्रसार थालेको छ ।
फिल्म प्रवर्धनको लागि फिल्मले पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । पूर्वका सडकमा गुड्ने विद्युतीय रिक्ससहितका अटो ‘मैझारो’मय भएका छन् ।
हाँस्य कलाकार समेत रहेका निर्देशक विल्सनविक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन कस्सिएर लागिपरेका छन् । उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिदैछन् ।
उनीसँग गायक राजेशपायल राई, संगीतकार तथा गायक अनमोल गुरुङसहितका कलाकारले प्रस्तुति दिनेछन् । विहिबार धरानमा फिल्मको प्रचारका रुपमा कन्सर्टको आयोजना गरिएको थियो ।
शुक्रबार गृहजिल्लामा निर्देशक राईसहितको टोलीले सांगीतिक प्रस्तुति दिँदैछ । शनिबार विर्तामोडको मुक्ति चोकमा कार्यक्रम भएको छ । दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी, धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।
‘फिल्म मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’ उनले भने, ‘दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ । यो नौलो तरिका पनि हो ।’
यसअघि यो फिल्मको प्रचारसामाग्री पोस्टर, दुई गीत र टिजर सार्वजनिक भैसकेका छन् ।
निर्देशक राईकै लगानी र पटकथा लेखन रहेको यस फिल्मले मौलिक प्रेम कथालाई चित्रण गर्नेछ । फिल्ममा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा फिल्म निर्माण भएको हो ।
प्रतिक्रिया 4