
२६ असोज, काठमाडौं । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन ।
आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाटमा परिणत हुन थालेपछि लुटेराको समूहले बैंक नै तोडफोड गरेर लुटपाट गरेको थियो ।
बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीकाअनुसार नयाँ बानेश्वरको यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो ।
उनका अनुसार उक्त बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । लुटिएको यो सुन कसले कहाँ पुर्यायो भन्ने अहिलेसम्म केही खुलेको छैन ।
यो घटनाबारे अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले अनुसन्धान गरिरहेको छ । परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराई अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको बताउँछन् ।
पक्राउ पर्नेहरुमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन् । उनीहरुले २४ भदौको प्रदर्शनका बैंक लुटपाट गरेको आरोप छ ।
पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुविरुद्ध चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराई बताउँछन् । उनीहरुबाट करिब चार लाख र केही सुन पनि बरामद भएको प्रहरीले बताएको छ ।
सुन र नगद गरी करिब साढे ३८ लाख लुटपाट भएको बताइए पनि पक्राउ परेकाहरुबाट सुन र नगद गरी ५/६ लाख रुपैयाँ बराबर मात्रै भेटिएको छ । बाँकी रकम, सुन कसले कहाँ पुर्यायो केही खुल्न सकेको छैन ।
पक्राउ परेकाहरुले पनि बरामद सुन र नगद बाहेक आफूहरुले अरु नलगेको दाबी गर्दै आएका छन् । उनीहरुले अन्य व्यक्तिलाई आफूहरुले नचिन्ने पनि बताउँदै आएका छन् ।
प्रहरीले अहिले म्यानुअल्ली र प्राविधिक कोणबाट घटनाको अनुसन्धान गरिहेको छ । भिडिओ फुटेजहरु, सार्वजनिक तस्बिर, सीसीक्यामेराका फुटेजहरुलाई आधार मानेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यसरी लुटिएका सुन किनबेच हुनसक्ने भन्दै प्रहरीले बिल बिजक बिनाका सरसामानहरु खरिद नगर्न आग्रह पनि गरेको छ ।
बैंकमा धितो राखेर कर्जा लिएका सुन लुटेराहरुले लुटेका थिए । उक्त सुनहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ । सुन पसलमा ती सुनहरु किनबेच हुनसक्ने सुनचाँदी पसलहरुमाथि पनि प्रहरीले निगरानी राखेर अनुसन्धान अघि बढाएको छ ।
५ लाख बुझाउने भन्छन्–मान्छे चिन्दिनँ
यो बैंक लुटपाट भएको पाँच दिनपछि २९ भदौमा ललितपुर घर भएका सुरेश देउलाले प्रहरीमा ५ लाख १० हजार ५ सय रुपैयाँ बुझाएका थिए । जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पुगेर उनले तत्कालीन एसएसपी श्यामकृष्ण अधिकारीको रोहबरको उक्त रकम बुझाएका थिए ।
उक्त रकम नयाँ बानेश्वरकै राष्ट्रिय वाणिज्य बैंकको रहेको उनले बताएका थिए । कसरी कसरी प्राप्त भयो भन्ने प्रहरीले सोधपुछ गर्दा उनले लुटेराले पैसाको बिटो आफूतिर फालिदिएको बताएका थिए ।
‘बैंक लुटपाट हुँदै गरेको भिडिओ मोबाइलमा खिच्न थालेपछि तैले यही खोजेको होला भन्दै पैसाको बिटो फालेर उनीहरु गए’ देउलाले प्रहरी समक्ष भनेका छन् ।
पैसा बुझाउने देउलालाई प्रहरीले लुटपाटमा संलग्नहरुबारे पनि सोधपुछ गरेको थियो । तर उनले कोही कसैलाई पनि नचिन्ने बताएको प्रहरी अधिकारीहरु बताउँछन् ।
सेनाले पक्राउ गरेका पाँच जनाको संलग्नता देखिएन
आन्दोलनपछि राजधानीमा आगजनी, तोडफोड र लुटपाट मच्च्नि थालेपछि नेपाली सेनाले सम्पूर्ण सुरक्षाको कमाण्ड गर्दै फिल्डमा खटिएको थियो । सो क्रममा लुटपाट गर्ने खोज्नेहरुलाई पक्राउ समेत गरिएको थियो ।
त्यतिबेला सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ गरेको बताएको थियो ।
‘हालको परिस्थितिको अनुचित फाइदा उठाएर’ लुटपाट गर्ने कोसिस भएको सेनाले बताएको थियो । लुटपाट गर्न खोजेको आरोपमा समातिएका उनीहरुविरुद्ध भने मुद्दा चलेन । प्रहरी स्रोतले भन्यो, ‘उनीहरुले लुटेको देखिएन । लुटपाट गर्न खोजेको भनेर सेनाले भनेको थियो । कुनै प्रमाण फेला नगरेपछि उनीहरुविरुद्ध मुद्दा चलेन’ प्रहरी स्रोतले भन्यो ।
प्रतिक्रिया 4