+
+
Shares

टोखाबाट २५ करोडसहित पक्राउ परेका कुसाङ लामा पनि कारागारबाट फरार

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १२:४२
फाइल तस्वीर

२७ असोज, काठमाडौं । टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ ।

सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा रहेका उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार फर्केका छन् न अहिलेसम्म पक्राउ नै परेका छन् ।

कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरुको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा लामाको पनि नाम छ ।

४ चैत २०८१ मा टोखाबाट प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । ट्रकका चालक लामा पनि पक्राउ परेका थिए ।

५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० यूरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर (तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ), ट्रक र भरिया लामा पक्राउ परेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानले पक्राउ गरेका लामा र रकम, ट्रकसहित थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाएको थियो । विभागले अनुसन्धान गर्दा यसका मालिक सिन्धुपाल्चोककै नारायण पौडेल रहेको खुलेको थियो ।

भरिया लामा र फरार मालिक पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुरमा २ वैशाखमा मुद्दा दायर गरिएको थियो । भरिया लामा भने पुर्पक्षका लागि कारागार चलान भएर जगन्नाथ देवल पुगेका थिए ।

फरार मालिकपछि सुटुक्क अदालत उपस्थित भएर धरौटीमा रिहा भएका थिए । जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको ३२ असारको इजलासले पौडेललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भएका थिए ।

अहिले कारागारबाट फरार भएका लामा यसअघि पनि मुद्दा चलेका व्यक्ति हुन् । लामा यसअघि पनि १३ पुस २०७३ मा ७ किलो सुनसहित पक्राउ परेका थिए । यो प्रकरणमा उनी ५ वर्ष जेल बसेर २०७८ मा छुटेका थिए ।

लामाजस्तै करिब साढे ५ हजार कैदीबन्दी अझै पनि फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?