
क्रिसमस ट्रीलाई सजाउनका लागि विभिन्न खालका गहनाहरु भिराएको त हामीले देखेकै छौं । तर, के क्रिसमस ट्री जस्तै एक सुइपाते रुख अर्थात् स्प्रूसका तिखा पातमा साँच्चीकै सुन लुकेको हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ ?
हालैको अध्ययनले नर्वे स्प्रूस नामक वनस्पतीका तिखा पातहरुमा सुक्ष्म कण (नानो पार्टिकल्स) का रुपमा सुन हुने तथ्यको खुलासा गरेको छ ।
फिनल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार पाइसिया एबिस वैज्ञानिक नाम भएको उक्त वनस्पतीले ब्याक्टेरियाको सहयोगमा जराबाट पानीसँगै सुनका कणपनि सोसेर लिन्छ ।
इन्भारोमेन्टल माइक्रोबायोम जर्नलमा प्रकाशित उक्त शोध अनुसार यो तथ्यको खुलासा भएको हो ।
वैज्ञानिकहरुले फिनल्याण्डको उत्तरी क्षेत्रमा रहेको युरोपकै ठूलो किटिला नामक सुनखानी आसपासका स्प्रूस वनस्पतीहरुको अध्ययन गरेका थिए ।
त्यसक्रममा २३ वटा वनस्पतीबाट १३८ वटा सुइपातको नमूना लिइयो । अध्ययनका क्रममा चारवटा रुखका सुइपातमा सुनका सूक्ष्म कण फेला परे । ती कण यति सूक्ष्म थिए कि त्यो एक मिलिमिटरको एक लाख भाग हो ।
फिनल्याण्डको ओउलु विश्वविद्यालयकी वातावरणशास्त्री समेत रहेकी अध्ययनकी प्रमुख लेखिका केसा लेहोस्माका अनुसार रुखको भित्र रहने ब्याक्टेरिया तथा अन्य सूक्ष्म जिवहरुले सुनलाई एकत्रित गर्नमा सहयोग गर्दछन् । ती ब्याक्टेरियालाई एन्डोफाइट्स भनिन्छ । यी वनस्पतीको भित्र रहने लाभकारी जीव हुन्, जसले रुखको हर्मोन बनाउँछन् र पोषक तत्व सोस्नमा सहयोग गर्दछन् ।
कसरी जम्मा हुन्छ सुन ? ब्याक्टेरियाको जादु
बोट विरुवाले जराबाट पानी सोस्दछन् । माटोमा घुलेको सुन पनि पानीसँगै आउँछ । तर सुन वनस्पतीका लािग विषाक्त हुन्छ । त्यसैले वनस्पतीले उक्त सुनलाई पातका सुइमा जम्मा गर्न चाहँदैन । त्यसबेला एन्डोफाइट ब्याक्टेरिया काम आउँछन् । ती ब्याक्टेरियाले बायोमिनिरलाइजेसन प्रक्रियाबाट सुनका कणहरुलाई छुट्टाउँछन् ।
बायो मिनिरलाइजेसन यस्तो प्रक्रिया हो जसमा जीवहरुले आफ्ना तन्तुमा खनिज बनाउँछन् र नियन्त्रण गर्दछन् । ब्याक्टेरियाले सुनका कणलाई घेरेर बायोफिल्म बनाउँछन् । उक्त बायोफिल्म सुगर र प्रोटिनबाट बनेको हुन्छ, जसले वनस्पतीभित्र ब्याक्टेरियालाई सुरक्षित राख्दछ ।
अध्ययनको क्रममा सुनयुक्त सुइपातमा क्युटिब्याक्टेरियम, कोरिनेब्याक्टेरियम तथा एघइद्य(द्धद्द जस्ता ब्याक्टेरियाको संख्या कम पाइएको थियो । साथै अरु अध्ययनमा पनि अधिक धातुयुक्त वनस्पतीमा ब्याक्टेरियाको विविधता कमी रहने पाइएको छ । ब्याक्टेरियाले सुनलाई कम विषाक्त बनाउनका लागि यस्तो गर्दछ ।
पातबाट सुइ निकाल्नु कति सम्भव ?
शोधकर्ताहरुका अनुसार सुइपातमा सुन यतिधेरै कम हुन्छ कि रुख काटेर त्यसबाट सुन निकाली धनी बन्नु असम्भव हुन्छ । तर यो खोज वास्तवमा सुनको खोजीको क्षेत्रमा निकै उपयोगी भएको बताइएको छ ।
वैज्ञानिकहरुका अनुसार रुखका पातहरुमा यस्ता ब्याक्टेरियाको खोजीले सुनखानी पत्ता लगाउन सहज हुनेछ ।
शोधकर्ता लेहोस्माका अनुसार ती ब्याक्टेरियाहरुको अध्ययन खानी कम्पनीहरुका लागि निकै उपयोगी हुन्छ ।
यो अध्ययनले प्रकृतिमा ब्याक्टेरियाहरु कतिधेरै चमत्कारी छन् भन्ने पनि देखाएको छ । रुखले माटोबाट धातुलाई सोसेर पर्यावरणलाई सफा राख्दछ । यसबाट खानी उद्योगमा नयाँ प्रविधि प्राप्त हुनसक्छ । त्यसैगरी यो खोजले कुनै पनि सानो जीवले ठूलो रहस्योद्घाटन पनि गर्नसक्छ भन्ने तथ्य उजागर गरेको छ ।
प्रतिक्रिया 4