+
+
Shares

घाटा खाएरै मोफसलमा संगीत पसल थापिरहेका विकेश

उनको पसलमा गीतार, युकेलीली, मादल, बाँसुरी, हार्मोनियम लगायतका विभिन्न वाद्यवादन सामग्री पाइन्छ ।

सापेक्ष सापेक्ष
२०८२ असोज २७ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाका ३२ वर्षीय विकेश चौधरीले विदेश जाने सपना त्यागेर गतवर्ष उदयपुरको बेल्टारमा 'रक ग्यारेज' संगीत पसल खोले।
  • उनले बेल्टारमा संगीत सामग्री बेच्ने र मर्मतसम्भार गर्ने काम गर्दै आएका छन् तर व्यापार सोचेअनुसार चलेको छैन।
  • विकेशले ग्राहकलाई दुई वर्षको वारेन्टी र निःशुल्क सर्भिसिङ दिँदै पसल विस्तार गर्ने योजना बनाएका छन्।

केही राम्रो हुने आशामा नै मान्छेहरू बसाई सर्छन् । एक ठाउँदेखि अर्को ठाउँ । एक देशबाट अर्को देश । झापा घर भएका ३२ वर्षीय विकेश चौधरी पनि केही राम्रै हुने आशामा विदेश जान लागेका थिए, आजभन्दा करिब ५ वर्षअघि ।

त्यसअघि उनी वैदेशिक रोजगारीका लागि एक पटक दुबई गएका थिए । ६ वर्षको भिषा थियो, ५ वर्ष काम गरेर स्वदेश फर्किए ।

यस पटक विदेश जानबाट उनलाई एउटा आशाले रोक्यो, उदयपुरको बेल्टारमा संगीत पसल खोल्ने ।

१७/१८ वर्षदेखि धरानको छाता चोकमा उनका दिदी भिनाजुले ‘रक ग्यारेज’ नामक संगीत सामग्रीको पसल चलाइरहेका थिए । त्यस्तै पसल बेल्टारमा खोल्न यस आसपासका धेरै जनाले विकेशलाई आग्रह गरिरहेका थिए ।

उनलाई विदेश जान पनि खासै मन थिएन । परिवारसँगै बस्ने रहर थियो। अर्को बेल्टार आसपासकाले स्थानीय बजारमा पसल खोल्न गरेको आग्रह । त्यहाँ पसल खोले राम्रै चल्छ भन्ने लाग्यो उनलाई ।

त्यही आशापछि उनले सोही पसलको शाखा बेल्टारमा खोल्ने विचार गरे । अनि विदेश जाने सपना त्यागेर गतवर्ष झापादेखि बेल्टार सरे । र, खोले– बेल्टार रक ग्यारेज ।

त्यसअघि उनी दिदी भिनाजुको सोही पसलमा काम गर्थे । अहिले सपरिवार उनी बेल्टारमै बसिरहेका छन् । उनले सुरुमा जे सोचेर बेल्टारमा संगीतसम्बन्धी पसल खोलेका थिए, त्यो सोचेजस्तो भएन । उनले मनमा कल्पेजस्तो व्यापार भइरहेको छैन ।

‘सुरुमा त यता धेरै ग्राहक हुन्छन् जस्तो लागेको थियो’ विकेश भन्छन् ‘तर अहिले व्यापार खासै चलेको छैन । भाडा मात्र तिर्न पुग्छ ।’

बेल्टारमा रहेको उनको पसलमा गीतार, युकेलीली, मादल, बाँसुरी, हार्मोनियम लगायतका विभिन्न वाद्यवादन सामग्री पाइन्छ । अनि उनले तिनलाई मर्मतसम्भार गर्ने काम पनि गर्छन् ।

खोल्नुअगाडि आशा गरेजस्तो ग्राहक नआएको दु:खेसो छ उनको । त्यसमाथि उनले बेल्टारमा मात्रै दुई पटक पसलको ठाउँ सारिसकेका छन् । यस्तो हुँदा पनि एक दिन त राम्रो होला भन्ने आशाले अझैं पसल गर्ने ऊर्जा दिइरहेको उनी सुनाउँछन् ।

अहिलेको उनको पसल बेल्टारको लाफा चोक नजिकै छ । उनले भान्सा र बेडरूम पनि यही पसलमै बनाएका छन् ।

डेरा गरेर बसेको घर बिस्तार गर्ने काम भइरहेकाले उनी पसलमै बस्न थालेका छन् । फेरि अहिलेको कमाइले अर्को छुट्टै कोठा लिएर बस्न पनि गाह्रो भइरहेको छ उनलाई । पसलका लागि अर्को सस्तो सटर खोजिरहेका छन् अहिले ।

यति हुँदाहुँदै पनि तत्काल बेल्टार छोड्ने योजनामा भने छैनन् । बरु अब संगीतको सामग्री बेच्नेबाहेक संगीत सिकाउने योजना पनि रहेको सुनाउँछन् ।

‘मैले अहिले भने जस्तो मान्छे भेटिरहेको छैन । यदि त्यस्तो मान्छे भेटेँ भने यहीँबाट संगीत सिकाउने योजना छ । सायद कोठा अलि ठूलो भयो भने म एउटा शिक्षक राख्छु,’ उनले योजना सुनाए ।

उनको पसलमा राखेका सामानहरू धरानमा रहेको दिदी भिनाजुको पसलबाट आउँछ । यता विक्री नभए फेरि उतै लगेर बेच्ने गरिएको छ । यो कारणले पनि आफू धेरे हतास नभएको विकेश सुनाउँछन् ।

उनले पसलमा खासै महँगा सामान पनि राखेका छैनन् । बेल्टार-बसाहामा संगीतको राम्रै माहोल भए पनि मान्छेले सस्तो सामग्री नै खोज्छन् । यदि कसैले राम्रो सामग्री खोजे धरानबाट मगाउने तर यहाँ नराख्ने उनले सुनाए ।

बेल्टारका चुनौती

निकै आशाले बोकेर नयाँ ठाउँ आएका उनले बेल्टारमा धेरै चुनौती सामना गर्नुपर्‍यो । सुरुमा राष्ट्रिय वाणिज्य बैंक अगाडि पसल खोलेका थिए । भाडा मासिक १० हजार थियो । उनी होटलमा खाना खान्थे । व्यापार शून्य बरबर थियो । उनले आफ्नो पसलको विज्ञापन स्थानीय सञ्चारगृहमा दिए । अनि चिनजानका साथीभाइहरूमार्फत स्वयंले पनि पसलको प्रचार गरे । यसले केही ग्राहकहरू उनी कहाँ आए । ९ महिनासम्म त्यस ठाउँमा बस्दा पसल घाटामै रह्यो ।

त्यसपछि सस्तो भाडामा भएको सटर खोज्दै अहिलेको ठाउँमा आइपुगे ।

अब पसल विस्तारै चल्दै जाला भन्ने उनको आशा छ । त्यसका लागि उनले आउने ग्राहकहरूलाई सक्दो सेवा दिइरहेका छन् ।

‘ग्राहकहरूलाई मैले दुई वर्षको वारेन्टी र दुई वर्षकै निःशुल्क सर्भिसिङ दिइरहेको छु । त्यसले गर्दा केही ग्राहकहरू नियमित आउनुहुन्,’ विकेशले भने । अहिले उनको मा नयाँ सामान किन्ने भन्दा मर्मत गर्न आउने धेरै छन् ।

राम्रो सामान ठूलो शहरमा मात्र पाइन्छ भन्ने सोचले पनि यो ठाउँमा आफ्नो पसल राम्रो नचलेको उनको बुझाइ छ । त्यो सोच बिस्तारै परिवर्तन हुने र बेल्टा आफ्नो संगीत पसल राम्रो चल्ने उनको विश्वास छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?