+
+
Shares

एक सातामा ४१३ जनामा डेंगु संक्रमण, मृत्यु हुने संख्या ४ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो सातामा काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा ४१३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
  • सन् २०२५ को सुरुदेखि हालसम्म ५ हजार ८७४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
  • डेंगुबाट ७५ जिल्लामा ४ जनाको मृत्यु भइसकेको छ र गण्डकी प्रदेशमा सबैभन्दा बढी १५१ संक्रमित थपिएका छन्।

२७ असोज, काठमाडौं। पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ।

पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म ५ हजार ८७४ जनामा डेंगु पुष्टि भएको छ।

७५ जिल्लामा डेंगु संक्रमण फैलिँदा ४ जनाको मृत्यु भएको छ। (ईडीसीडी) को तथ्यांक अनुसार पछिल्लो साता गण्डकीमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। गण्डकीमा १५१, बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए।

सुरुमा डेंगु तराईमा मात्र सीमित भए पनि सन् २०१८ पछि पहाडी क्षेत्रमा समेत फैलियो र २०१९ मा पहाडमा ठूलो प्रकोपकै रूपमा देखा पर्यो।
२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार संक्रमित भए। ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो। त्यसयता हरेक वर्ष ठूलो संख्यामा संक्रमित देखिन थालेको छ।

अब यो रोग स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहिरहेको छ।

सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए। उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो।

२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो। २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए। सन् २०२४ मा १५ जनाको मृत्यु र ४१, ८६५ जना संक्रमित भएका थिए।

डेंगुका लक्षण
१० हजार व्यक्ति समुदायमा संक्रमित भएमा १ हजार जतिलाई डेंगुका लक्षणहरू देखिन्छन्। यसमध्ये ५०० जनालाई साधारण भाइरल फ्लु जस्ता लक्षण देखिन्छन्, जसलाई हड्डी भाँचिएको ज्वरो वा ब्रेक बोन फिभर भनिन्छ।

डेंगु भएका व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, आँखाका गेडी दुख्ने, मांसपेसी दुख्ने, घुँडा दुख्ने, पिँडौला करकर खाने र ढाड दुख्ने जस्ता लक्षण देखिन्छन्। केही व्यक्तिमा शरीरमा राता दानाहरू पनि देखा पर्छन्।
डेंगु संक्रमण भएका व्यक्तिमा ज्वरो घटेको अवस्थादेखि ७२ घण्टासम्म क्रिटिकल फेज हुन्छ, जसमा जटिलतामा जाने सम्भावना रहन्छ।

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन्।
लामखुट्टेको वृद्धि विकास हुने ठाउँ भनेको पानी जमेको ठाउँ हो। वर्षाको कारणले पानी जमेको ठाउँमा मुख्यतः टायरहरू, गमलाका प्लेटहरू र फालेका कन्टेनरहरूमा यसको वृद्धि विकास हुनसक्ने अवस्था रहन्छ। लामखुट्टे हुर्किन चाहिने तापक्रम मुख्यतः २८ देखि ३२ डिग्री सेन्टिग्रेड हो।

अहिले यसको अर्को प्रजाति एडिज एल्बोपिक्टस १६ डिग्री सेन्टिग्रेडभन्दा तलको तापक्रममा पनि विभिन्न युरोपियन देशहरूमा पाइएको छ जसले डेंगु संक्रमण गराइरहेको छ। मुख्यतः अहिलेको हाम्रो तापक्रम र आर्द्रताले यसलाई वृद्धि विकास गर्न एकदमै मद्दत गर्छ।

यो लामखुट्टे विशेषगरी मानिसहरूसँग बस्न रुचाउँछ। घरभित्र पर्दामुनि अँध्यारो ठाउँमा, अलिकति छायामुनि र टेबलमुनि बस्न रुचाउँछ। यसले मुख्यतः घाम झुल्कने समय र घाम अस्ताउने समयको केही घण्टा अगाडि पछाडि टोक्ने गर्छ।

डेंगुबाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो। त्यसका लागि साँझ–बिहान बाहिर ननिस्कनु, पूरा शरीर ढाक्ने लुगा लगाउनु, झ्याल–ढोकामा जाली हाल्नु, झुलमा सुत्नु र धुप वा अन्य कीटनाशक प्रयोग गर्नु प्रभावकारी उपाय हुन्। साथै सामुदायिक तहमा लामखुट्टे वृद्धि हुने स्थानलाई नष्ट गर्नु आवश्यक छ।
डेगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सबैभन्दा मुख्य उपाय हो। यसले लामखुट्टेको पूरै वृद्धि विकासलाई रोक्छ।

डेंगु सामान्य रोग मात्र होइन। एउटै व्यक्तिलाई दोस्रो पटक संक्रमण भयो भने अवस्था गम्भीर हुनसक्छ। आन्द्रामा रक्तस्राव वा शरीरमा प्लाज्मा लिकेज भएर रक्तचाप घट्दा मृत्यु नै हुन्छ।
विशेषगरी बच्चा, बृद्ध, दीर्घरोग भएका (जस्तै मधुमेह, उच्च रक्तचाप) व्यक्तिहरू बढी जोखिममा हुन्छन्। त्यसैले जोगाउन सक्ने एउटा मुख्य उपाय भनेकै लामखुट्टेको वृद्धि विकास रोक्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?