+
+
Shares
विचार :

एमालेमा नेतृत्व त्यागको सकस र तीन विकल्प

एमालेका नेताहरु धैर्यपूर्वक समीक्षा गर्नुहोस् । व्यक्तिको माया त लाग्छ नि इतिहासमा सँगै लडेको। तर, मनन गर्नुस् – पार्टी र आन्दोलन बचाउनका लागि व्यक्ति केही होइन । जोसुकैलाई पार्टीको माया लाग्छ- जसको निर्माणमा आफ्ना श्रम र पसीना बगाइएको छ तर आन्दोलनका अघि पार्टी केही होइन।

कोमल भट्टराई कोमल भट्टराई
२०८२ असोज २७ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई मनमोहन अधिकारीसहित तीन सदस्यले हटाएपछि मनमोहन अधिकारी महासचिव बनेका थिए।
  • नेकपा मालेका संस्थापक महासचिव चन्द्र प्रकाश मैनालीलाई गलहत्याएर हटाइएपछि झलनाथ खनाल संक्रमणकालीन महासचिव बनेका थिए।
  • एमालेमा नेतृत्व हस्तान्तरणका लागि ईश्वर पोखरेल, अमृत कुमार बोहोरा र भूपू राष्ट्रपति विद्या भण्डारीलाई सम्भावित नेताका रूपमा प्रस्ताव गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई पाँच सदस्यीय पोलिटब्यूरोका मनमोहन अधिकारी सहित तीन सदस्यहरु मिलेर हटाए । त्यसपछि महासचिव भए – मनमोहन अधिकारी । मनमोहन चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा सहभागी हुन र उपचार गर्न चीन गए ।

उपचारमा लामो समय बस्नुपर्ने भएका कारण उनको कार्यवाहक खोजियो । कार्यवाहक लिन पुष्पलाल बाउँठिएपछि अर्का प्रस्ताव गरिएका डीपी अधिकारीले विनम्रतापूर्वक जिम्मेवारी लिन मानेनन् । त्यसपछि डा. केशरजङ्ग रायमाझीले बाध्य भई कार्यवाहक लिए ।

कार्यवाहक लिएपछि रायमाझीले महासचिवमा रहन अनेक छलप्रपञ्च गर्दै निरन्तर भए । २०१७ सालको कू पछि पनि राष्ट्रियता खतराको भय देखाउँदै राजाको कदमलाई अप्रत्यक्ष स्वीकार गर्दै अंकगणितीय खेलबाट नेपाल कम्युनिस्ट पार्टीलाई उनैले कव्जा गरिरहे ।

यसको विरोधमा तुल्सीलाल र पुष्पलालले तेस्रो महाधिवेशन गरी अर्को नेपाल कम्युनिष्ट पार्टी गठन गरे । यसमा पनि मतभेद भई पुष्पलालले अर्को नेकपा निर्माण गरे । त्यसपछिका ८ वर्षसम्म त्यसका महासचिव रहँदारहँदै उनको निधन भयो ।

तुल्सीलाल र मनमोहनहरु स-साना समूहमा संगठित भई वक्तव्यवाजी गर्दै रहे । ‘पञ्चायत जीवित सत्य हो’ भन्दै समय-समयमा केही मुद्दाहरुमा पञ्चायती व्यवस्थाको विरोध गर्दै आन्दोलनमा संलग्न रहे । जनमत संग्रहमा बहुदल पक्षको प्रचारमा बलियो उपस्थिति जनाए ।

मोहन विक्रम सिंहले न्युक्लियस गठन गरे । त्यसैको नामबाट पुष्पलाललाई गद्दार करार गर्दै २०३२ सालमा नेकपा चौथो महाधिवेशन गरी महासचिव भए । त्यसपछि भनिएको ‘नेकपा चौम’ मा विभिन्न कमरेडलाई कहिले पछार्दै र कहिले पछारिँदै सिंह हाल नेकपा मसाल नामक पार्टीका महासचिव छन् । त्यसैबाट पुष्पकमल दाहाल उदाए, प्रचण्ड भए, दश वर्षसम्म जनयुद्ध गरे । समानान्तर सरकार प्रमुखका रुपमा नेपाल राज्यसँग सम्झौता गरे ।

माले-एमालेको नेतृत्व हस्तान्तरणको झलक

झापा संघर्षपछि बनेको अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट कोअर्डिनेशन कमिटी (कोके)का पहिला सचिव बने चन्द्र प्रकाश (सीपी) मैनाली । तिनले ‘व्यक्ति हत्यारा’ भनी चिनिएको समूहलाई एक राजनैतिक समूहका रुपमा परिचित र स्थापित गराउन सफल भए । तिनको अगुवाइमा नेकपा माले गठन भयो ।

तिनले आफ्नो संज्ञान र सामर्थ्यले सामुहिक नेतृत्व दिए । पार्टी विवादलाई हल गर्न माथिबाट तलसम्म विचारहरु पुर्‍याई छलफल गर्ने अभ्यास गरे । सीपीकै अगुवाइको सामुहिक नेतृत्वले नै विद्यार्थी आन्दोलन, जनवादी गीति अभियान र शिक्षक आन्दोलनलाई संयोजन र अगुवाइ गरे । ती आन्दोलनहरुले ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ भन्दै नेकपामालेलाई गाँउगाउँ बस्ती बस्ती पुर्‍याए ।

नेकपा माले देशव्यापी भएपछि चन्द्र प्रकाश मैनाली पार्टीभित्र अल्पमतमा परे । उनले अर्को महासचिव तयार हुन आग्रह गरिरहेका र राजीनामा दिन चाहेका भए पनि गलहत्याइए । जसरी नेकपाका संस्थापक महासचिव पुष्पलाललाई गलहत्याएका थिए, त्यसरी नै नेकपा मालेका संस्थापक महासचिव हटाइए । यी दुवै षडयन्त्र हुन्, जसलाई नेपाल कम्युनिष्ट आन्दोलनले धिक्कारिरहनेछ र भर्त्सना गरिरहनेछ ।

सीपीको बर्खास्तीपछि संक्रमणकालीन महासचिव बनाइए- झलनाथ खनाल । पार्टीमा कुनै पकड नभएका उनी अनेकन अपमान सहेर महासचिव रहे । उनले मदन भण्डारीलाई स्वेच्छाले नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिव पद हस्तान्तरण गरे । मदन भण्डारी एक ‘करिस्माटिक’ नेताका रुपमा उदाए ।

उनले पार्टीभित्रका असहमतिलाई लोकतान्त्रिक व्यवहार तथा अभ्यास गरी व्यवस्थापन गरे । उनले दरबारिया ‘एलाइट’सँग सम्वादको ढोकामा पुर्‍याउन सक्ने मनमोहन अधिकारीलाई वैधानिक अध्यक्ष स्वीकार गरे । मदनले जनआन्दोलनको विरासत लिन ०४६/०४७ जनआन्दोलनको वाममोर्चाकी संयोजक सहाना प्रधानलाई महत्वका साथ स्थान दिए ।

सहाना प्रधानले नेकपा एमालेभित्र काठमाडौं उपत्यकाका प्रमुख जातीय तथा सांस्कृतिक पहिचानलाई भित्र्याइन् । उनले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) लगायत अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसँग एमालेलाई परिचय गराइन् । उनीसँगै नेकपा एमालेले शहीद गंगालाल र संस्थापक महाचिव पुस्पलालको विरासत पायो । मदनले मालेका संस्थापक महासचिव चन्द्रप्रकाश मैनालीलाई एकतर्फी सम्मान दिइरहे ।

मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई बहुलताको विचार दिए तर अभ्यास र व्यवहारको जग बसाल्न नपाई दुर्घटनाबाट बिते । उनका मानसपुत्रहरुले उनलाई देवत्वकरण गर्दै जनताको बहुदलीय जनवादको पोथा गाइरहे । उनको मृत्युपश्चात् माधव नेपाल महासचिव भए ।

उनले एमालेमा विचारलाई चटपटाउन नदिने गरी विधि र विधानभित्र कसे । उनले विरोधीका विचारलाई पार्टी विरोधी करार गरिरहे । उनले फरक मतलाई ठाउँका ठाउँ ठहरै पारे । अकारण राधाकृष्ण मैनालीलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरे । तर, २०६४ को आमनिर्वाचनमा एमालेको हारपछि नैतिकताको कारण देखाई राजीनामा गरे।

माधवपछि झलनाथ खनाल कार्यवाहक महासचिव हुँदै बुटवलको आठौं महाधिवेशनबाट अध्यक्ष बने । उनले मालेकालको झैं आफ्नो कार्यकालभर अनेकन हुर्मत बेहोरे । उनी संसदीय दलको नेता हुँदाहुँदै चोरबाटोबाट छिरेर माधव नेपाल प्रधानमन्त्री भए ।

झलनाथ आफू अध्यक्ष र संसदीय दलका नेता हुँदाहुँदै संसदभित्र दुई तिहाइ देखाउन एमालेको शर्त पूरा गरेर मात्र प्रधानमन्त्री बने। खनालको सरकार पतन गराउन एमालेको माधव-ओली गुटले पूरै जीउज्यान लगायो । करीव ७ महिनामा उनको सरकार ढल्यो ।

यस्तो अवस्थामा उनले अध्यक्ष दोहोर्‍याउन नसकिने देखेर अलग रहन चाहे । नवौ महाधिवेशनमा माधव र ओलीले एक-आपस प्रतिस्पर्धा गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओली निर्वाचित भए ।

केपी ओलीले कम्युनिस्ट आन्दोलन एक हुनपर्ने आवाजलाई माओवादीसँग एकता गरेर मूर्त बनाउन नेतृत्व लिए । अध्यक्षद्वय ओली र प्रचण्ड नेतृत्वले सदनमा पार्टीको करीव दुई तिहाइ संसद उपस्थित गराए । तर, त्यो एकता शक्तिका प्यासाहरुको एकताजस्तो बन्यो ।

त्यसले कायम रहिरहन सकेन । शक्तिसंघर्ष चल्यो । त्यसलाई सल्ट्याउन अनेक सुलह र सम्झौता गराइए । वैध-अवैध अंशभाग लगाइए । तैपनि तिनीहरुको प्यास मेटिएन । ती पार्टी हत्याउन पार्टीभित्र मात्र होइन, सडक र सदनमा समेत शक्ति संघर्षमा ओर्लिए । त्यसैबेला न्यायाधीशको एकल इजलासले ‘तिमेरको एकता अवैध छ’ भन्दै ‘पुनः प्रक्रिया थाल’ भनेपछि एमाले र माओवादी आ-आफ्ना खोली फर्के । यहीबेला एकताकाका एमालेका अध्यक्ष र शक्तिशाली महासचिव माधव र झलनाथले नेकपा एकीकृत समाजवादी समूह बनाए ।

अहिले एमाले, माओवादी र एकीकृत समाजवादीका नेतृत्व सबै जनताको कठघरामा छन् । तर, तिनले आफ्ना स्थानबाट डेग नचल्ने गरी कम्युनिस्ट आन्दोलनलाई विद्रूप बनाइरहेका छन्। कम्युनिस्ट आन्दोलनका प्रस्तावनाका प्रथम नेताहरु कार्ल मार्क्स र एङ्गेल्सले आफ्ना शिष्यहरुले यस्तो गर्लान् भनेर कल्पना पनि गरेका थिएनन्।

नेपालका कम्युनिस्ट मार्क्सका विरोधी

मार्क्स र उनका शुरुवाती अभ्यासकर्ताहरुले पार्टीभित्रको विवादलाई कस्तो व्यवहार गर्थे भन्नेबारे मार्क्सवादी दस्तावेज प्रशस्त छन्। तर तीबाट हाल हामी कम्युनिस्टहरुप्रति उठेको प्रश्नको उत्तरलाई वैध र स्वीकार गर्ने अवस्था रहेन। यसर्थ मैले यहाँ कम्युनिस्ट पार्टीका प्रखर विरोधी र पार्टीभित्र “नयाँ वर्ग” उदाएको देख्ने मिलोवास जिलासको एक लामो उद्धरण पेश गर्छु ।

उनको उद्धरण कम्युनिस्ट आन्दोलनका हितैषी आलोचक र विरोधीलाई समेत वैध र ग्राह्य हुन सक्छ । मिलोवान जिलासले कम्युनिस्ट सत्ताको संरचनात्मक विकृति र पार्टी भ्रष्टाचार विरुद्ध खुला आलोचना गर्दै नयाँ वर्ग पुस्तक लेखे । त्यसमा उनले भनेका छन्

“मार्क्सदेखि ख्रुस्चेभसम्मका नेताहरू तथा उनीहरूले (वैचारिक बहसमा स्तम्भकारको जोड) अपनाएका विधिहरू विविध प्रकारका र परिवर्तनशील थिए । अरुलाई आफ्ना विचार व्यक्त गर्नबाट रोक्नुपर्छ भन्ने मार्क्सलाई कहिल्यै लागेन । लेनिन आफ्नो पार्टीभित्र हुने स्वतन्त्र छलफलहरूप्रति सहिष्णु रहे र पार्टी नेताको त कुरै छाडौं पार्टी मञ्चले पनि “सही” अथवा “गलत” विचारको अभिव्यक्तिलाई नियमन गर्नुपर्छ भन्ने ठानेनन् ।

स्टालिनले सबै प्रकारका अन्तरपार्टी छलफलहरूको उन्मूलन गरे र विचार अभिव्यक्तिको अधिकारलाई मात्र केन्द्रीय फोरम अर्थात् आफ्नै अधिकार बनाए । अन्य कम्युनिष्ट आन्दोलनहरू भिन्न थिए । उदाहरणका लागि अन्तर्राष्ट्रिय श्रमिक युनियन (फर्स्ट इन्टरनेशनल) विचारधारात्मक रूपले मार्क्सवादी थिएन बरु त्यो त विभिन्नखाले समूहहरूको युनियन थियो र उसले आफ्ना सदस्यहरूको सर्वसम्मत निर्णयहरू मात्र ग्रहण गर्थ्यो ।

लेनिनको पार्टी एक प्रकारको प्रजातन्त्रसहितको आन्तरिक क्रान्तिकारी नैतिकता र वैचारिक पूर्णरूपले एक समान संरचनाको मेल भएको अग्रगामी समूह थियो । स्टालिनको समयमा पार्टी विचारधारात्मक चाखरहित मानिसहरूको झुण्डमा परिणत भयो ।

यस्ता मानिसहरू विचार माथिकाबाट तलकाले प्राप्त गर्दथे तर आफूलाई अपार सुविधा प्रदान गर्ने व्यवस्थाको रक्षा गर्न कृत संकल्पित र एक ढिक्का हुन्थे । वास्तवमा मार्क्सले कहिल्यै पार्टी बनाएनन् ; लेनिनले आफ्नो पार्टी बाहेक समाजवादीसहित अन्य सबै पार्टी ध्वस्त पारे । स्टालिनले बोल्सेभिक पाटीको मियोलाई नयाँ वर्गको मियो बनाउँदै र पार्टीलाई कसैसँग सरोकार नराख्ने – (अनुत्तरदायी) र सुविधाप्राप्त तर रङ्गहिन समूहहरूमा रूपान्तरण गर्दै पार्टीलाई दोस्रो दर्जामा झारे ।

आफूले आविस्कार नगरेता पनि मार्क्सले समाजमा वर्गहरुको भूमिका र वर्ग युद्धको प्रणाली निर्माण गरे । उनले मानव जाति विवेकशील वर्गहरुका सदस्यहरु मिलेर बनेको देख्दा टेरेन्सको तपश्वी (स्टोइक दर्शन) झैं ‘म मानव जाति हुँ ।

म मानवभन्दा बाहिरका कुरालाई कुनै महत्व दिन्न’ लाई पुनःउद्घोष गरेका मात्र हुन् । लेनिनले मानिसलाई विवेकशीलका रुपमा नहेरी विचार आदान-प्रदान गर्ने वस्तुका रुपमा हेरे । स्टालिनले त मानिसलाई कि त आज्ञाकारी प्रजा वा शत्रुका रुपमा मात्र हेरे ।

मार्क्स एक गरीब आप्रवासीका रुपमा लण्डनमा मरे, तर विद्धानहरुले र आन्दोलनले उनलाई महत्वका साथ ग्रहण गरे । लेनिन एउटा विशाल क्रान्तिको नेताका रुपमा तर आफ्नो सम्प्रदाय बन्दै गरेको अधिनायक बन्ने क्रममा मरे । जब स्तालिन मरे, उनले आफूलाई देवतामा रुपान्तरण गरिसकेका थिए ।” (द न्यू क्लास – मिलोवान जिलास १९६०)

यति उद्धरणले विश्वका कम्युनिस्ट आन्दोलनका पार्टीहरुभित्रका वैचारिक विवादलाई हल गर्ने तरिका सुझाउँछ । र, यसले नेपालको कम्युनिस्ट पार्टीहरुभित्र भए गरिएका अभ्यासको चित्र हेर्न ऐना उपलव्ध गराउँछ। यति लेखेपछि म अब जेन्जी पुस्ताले नेतृत्व हस्तान्तरण मागबारे नेपाली कम्युनिष्ट आन्दोलनले गरेको अनुक्रियामा चर्चा गर्नेछु।

नेपाली कम्युनिस्ट नेतृत्व लिप्सा र बहिर्गमन

केशरजंग रायमाझी कम्युनिस्ट आन्दोलनको गद्दारको पदवी भिरेर मरे । मोहनविक्रमका ‘गद्दार पुष्पलाल’ सानो समूहको नेताका रुपमा बिते । तर पुष्पलालको मृत्युपश्चात् उनका उत्तराधिकारीका सतत् र निष्ठापूर्वक प्रयाश र संघर्षले नेपाली राजनीति र कम्युनिस्टका महान नेताका रुपमा स्थापित भए र रहे ।

झापाको वर्गशत्रु हत्यापछि त्यसका कर्ताहरु सयौं भागे र सयौं गिरफ्तार भए। यसपछि चन्द्रप्रकाश मैनालीले केही युवाहरु भेला गरेर त्यसको विरासतलाई जोगाए। उनलाई प्राधिकार नेतृत्व बनाउने प्रयाश हुँदाहुँदै उनी सहकर्मीहरुबाट गलहत्याइए । प्रचण्ड र ओलीलाई देवत्वकरण गर्ने प्रयाश जारी छ। यसैबेला जेन्जी झड्कासँगै नेपाली राजनीतिले तिनीहरुको बहिर्गमनको माग गरिरहेको छ।

नेपाली राजनीतिको विस्तृत मैदानका सक्रियकर्मीहरुले मुख्यतया शेरबहादुर देउवा, केपी ओली र प्रचण्डको हस्तक्षेपबाट मुक्त हुन चाहेको छ। जमिनमा काम गर्ने राजनीतिक कार्यकर्ताहरु, समूहमा मत निर्माण गर्ने सामाजिक सञ्जालेहरु, यूट्युवेहरु र टोलटोलमा चिया पसलमा गफ गर्नेहरुले समेत उनीहरुको शिघ्रातिशीघ्र बहिर्गमन चाहेका देखिन्छन्।

तिनीहरुका पक्षमा सञ्चार माध्यम छैनन् । हिजो साथ दिँदै आएका नागरिक समाजहरु छैनन् । सुरक्षाकर्मीहरु तिनीहरुलाई पक्रन कुरेर बसेका छन् । वास्तवमा चेसमा चारैतिर घेरिएको राजा झैं भएका छन् ।

यस मामलामा देउवा र प्रचण्डले सकारात्मक संकेत दिएका छन्। तर, नेकपा एमालेको नेतृत्व ठसठसी कनेर नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनलाई दुर्गन्धित गरिरहेको छ ।

देउवाले आफैंले हुर्काएको सुसंस्कृत व्यक्ति तर न्यायोचित भन्न सकिने पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्न चाहेका छन् । तर उनी र आरजूको सुरक्षा शेखर कोइरालाबाट हुन सक्नेमा उनले ध्यान दिनुपर्ने अवस्था देखिन्छ । ढिलो चाँडो देउवाले विधिसम्मत नेतृत्व हस्तान्तरण गर्लान् र ज्योतिषीलाई बेवकुफ बनाउन प्रधानमन्त्री नहुने विकल्प प्रस्तुत गर्नेछन्।

प्रचण्ड गतिशील छन् । रङ, भेष र चरित्र बदलेर समयको भेलसँगै अनुकुलित हुन सक्छन्। उनले समेत नेतृत्व त्याग गर्ने स्पष्ट संकेत दिएका छन् र उनका असली उत्तराधिकारीलाई बोल्नसमेत लगाएका छन्।

समस्या एमालेमा छ । एमाले नेतृत्व खुम्चँदै खुम्चँदै गएको छ । तैपनि पूरै नेपाली राजनीतिको मागलाई हुङ्कार गरिरहेको छ । यो केन्द्रीय पदाधिकारीभित्र पूराका पूरा अल्पमतमा परेको छ । अध्यक्ष ओलीलाई बाहेक गरेर ऐतिहासिक जिम्मेवारी बहन गर्न तयार हुनु पर्ने हो, त्यो देखिएको छैन।

एमालेभित्र नेतृत्वको हस्तान्तरणका लागि केही प्रस्ताव

नेतृत्वको हस्तान्तरण भनेको जादूगरले खोकिलाबाट निकालेको परेवा देखाउने काम होइन । यो एक प्रक्रिया हो । तर एमालेभित्र नेतृत्वको हस्तान्तरण प्रक्रियालाई तहसनहस गर्ने काम ०३९ सालदेखि नै भयो । त्यसबेला ०३५/ ०३६ सालको विद्यार्थी आन्दोलनका नेताहरुलाई संहार गरियो । त्यसमा टङ्क कार्कीको नाम सुनिए पनि हामी जस्ता सयौं अरुलाई गुमनाम बनाइयो ।

०४६/०४७ का जनआन्दोलनका युवाहरु घनश्याम भूसालहरु लगायतलाई लिइएको हुर्मत सबैलाई थाहा नै छ । ०६२/०६३ का जनआन्दोलनका विद्यार्थी नेताहरु राजेन्द्र राई, ठाकुर गैरे, राम कुमारी झाँक्रीहरु लगायत केही अरुहरु आफ्नै बलबुँता सक्रियताका साथ र अलिअलि झुक्दै नेपाली राजनीतिमा सास गन्दैछन्। यहाँनेर रवीन्द्र अधिकारीलाई स्मरण गर्न चाहन्छु।

तथापि एमालेभित्र यसको प्रारम्भिक संरचनाकालको ‘कोके’ देखिका राजनीतिक रुपमा प्रौढ र त्यसपछिका प्राविधिकरुपमा उदाएका र काखमा हुर्काइएका नेताहरु छन् । जसले एमालेमा वैकल्पिक नेतृत्व छैन भन्ने कुरा गलत हो । यसैले यहाँभित्र सम्भावित नेतृत्वको पहिचान गरिनु पर्छ। यस संगीन घडीमा मुख्य नेतृत्वमा हुनुपर्ने केही आग्रहहरु त हुन्छन् नै । त्यसैले मुख्य नेतृत्व यस्तो हओस् भन्नेमा मेरा कुराहरु राख्न चाहन्छु । जुन सामान्तया अरु पार्टीका लागि पनि सान्दर्भिक हुन सक्दछ, जसले-

१. पार्टीले चिन्तन धाराको व्याख्या गरोस् र निरन्तरता देओस् साथै पार्टीको ऐतिहासिक व्यक्ति पनि होओस् ।

२.आमरुपमा पार्टी पङ्क्तिले स्वीकारोस् र विश्वास लिन सकोस् ।

३. नेपालको राष्ट्रिय राजनीति लगायत सञ्चार माध्यम र हरेक तहका नागरिक समाज र व्यक्तिहरुले परिचय पाएका हुन् र त्यो पार्टीको नेता त्यही बमोजिमको भयो भनेर स्वीकारेको होओस् ।

४. अन्तर्राष्ट्रिय जगतमा सापेक्षितरुपमा परिचित र छिमेकी मित्रहरुबीच ग्राह्य होस्

५. कुनै सामरिक पक्षमा संलग्न भएको आरोपित नहोस् ।

यी बाहेक अन्य कुराहरु पनि छन्, तथापि म एमालेभित्र नेतृत्वका लागि उदार र चौडा गुणहरु नै हाललाई यथेस्ट हुन्छ भन्ने आग्रह गर्दछु, जसका आधारमा म पात्रविशेषलाई अघि सार्न चाहन्छु।

पहिलो प्रस्ताव – एमालेमा यसको मूलधार ‘कोके’का तीन संस्थापक छन् । ती ऐतिहासिक व्यक्तिहरु हुन्- अमृत कुमार बोहोरा, ईश्वर पोखरेल र मुकुन्द नेउपाने । यिनीहरुमध्ये एकमा एमालेको वर्तमान संकटलाई मोचन गर्ने पुनः अभिभारा आएको छ । यसमा वरिष्ठ उपाध्यक्ष भएको नाताले र विधानतः ईश्वर पोखरेलले हिम्मत गर्नुपर्छ । यसमा एमाले पार्टीका असली कार्यकर्ताले उहाँलाई साथ दिनु पर्छ।

दोस्रो प्रस्ताव- नेपाली राजनीतिले माग गरेको निर्वाह गर्न नसकेपछि पदाधिकारी र केन्द्रीय कमिटिले पार्टीका स्वायत्त निकायहरुको सहयोग लिन प्रस्ताव गर्नु पर्छ । साथै पार्टीका ४ केन्द्रीय निकायहरुले पहल लिनु पर्छ। (एमालेभित्र केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग स्वायत्त र महाधिवेशनबाट प्रत्यक्ष निकायहरु छन्) । अमृत कुमार बोहोरा माले संस्कारका एक प्रणेता हुनुहुन्छ।

उहाँजस्ताको सादगी, विनम्रता र जमिनी चरित्र नै पहिलेको माले र हाल बचेखुचेको माले संस्कार हो । उहाँले नै कोके कालमा सबै नेतृत्व पक्राउ परेका बखत कुशल नेतृत्व दिनुभएको थियो । हाल एमालेको वर्तमान संकटका लागि जिम्मेवारी लिन र दिन आग्रह गर्नु पर्छ। उहाँले अर्को नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियाभर केन्द्रीय निकायहरुको सहयोगमा संयोजनकारी नेतृत्व गर्नु बेस हुने देखिन्छ ।

तेस्रो प्रस्ताव– उदारवादी लोकतन्त्रको कथित आदर्शमा लठ्ठिएका तर त्यसलाई लत्याएको नदेख्नेहरुको पूर्वाग्रही अनुगामीहरुलाई सुपाच्य नहुने प्रस्ताव गर्दछु । भूपू राष्ट्रपति विद्या भण्डारी नै एमालेको नेतृत्वका लागि उपयुक्त छिन्। त्यसकारण सम्मान दिन खोसिएको सदस्यता फिर्ता गरियोस् ।

जोमाथि उल्लेखित ५ कुराहरुको कसीमा घोटिन सक्छिन्। यो पनि अनुरोध गर्दछु कि ‘हे! राष्ट्रपतिलाई मर्यादित स्थानहरुमा बसाउन चाहनेहरु हो! कृपा गरेर उनीमाथि नबिस्ट्याओ। राम्ररी कम्युनिस्ट पार्टीको सदस्यताको उच्चतालाई सम्मान गर! इतिहासमा कम्युनिस्ट पार्टीको महिमाको मनन गर!

अन्तमा,

नेपाली काँग्रेस बौरिसकेको छ । उसले सम्मानपूर्वक देउवाको बहिर्गमनको मार्ग खुला गरिसकेको छ । त्यसले संस्कारयुक्त ऐतिहासिक पार्टी भएको परिचय दिनेछ र निखार्नेछ। उसले करीव-करीव आम निर्वाचन या ढोक्सामा थापेको संसद पुनर्स्थापना दुवैका लागि आफूलाई तयार गरिसकेको छ।

यसले देउवाको स्वेच्छिक बहिर्गमन र सम्मानपूर्वक विदाइको प्रबन्ध गर्ला । एमालेले पनि संस्कारयुक्त र माले संस्कार विकास गरेको पार्टीलाई पुन स्थापित गरोस् । माले एमाले रहँदाका सीपी, झलनाथ र माधवको पदचिह्न पहिल्यायोस् ।

यसर्थ एमालेका नेताहरु धैर्यपूर्वक समीक्षा गर्नुहोस् । व्यक्तिको माया त लाग्छ नि इतिहासमा सँगै लडेको। तर, मनन गर्नुस् – पार्टी र आन्दोलन बचाउनका लागि व्यक्ति केही होइन । जोसुकैलाई पार्टीको माया लाग्छ- जसको निर्माणमा आफ्ना श्रम र पसीना बगाइएको छ तर आन्दोलनका अघि पार्टी केही होइन।

आन्दोलन भूमि हो, त्यो भूमिमा पार्टी उभ्याइएको हुन्छ। त्यो पार्टीमा तपाईंको नेतृत्व ओत लागेको हुन्छ । जब आन्दोलन नै धूलीसात हुन्छ, त्यसबेला न त पार्टी उभिन सक्छ न त हामी र हाम्रा मन परेका नेताहरु ओत लाग्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?