+

नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडीको नाम दर्ता

२०८२ असोज  २७ गते १७:३३ २०८२ असोज २७ गते १७:३३
नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडीको नाम दर्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को ड्राफ्टका लागि ५१२ जना नेपाली खेलाडी दर्ता भएका छन् ।
  • एनकेएल सिजन २ मा बागमती प्रदेशबाट १५५, सुदूरपश्चिमबाट १३३, लुम्बिनीबाट ९८, मधेशबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७ र गण्डकीबाट २४ खेलाडी दर्ता भएका छन्।
  • पहिलो सिजनमा चार देशका १८ विदेशी खेलाडी सहभागी भएका थिए।

२७ असोज, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ । सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विहीबार जनाएको छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । ‘दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका छन् । त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्याधिक बृद्धि भएको पाएका छौं’ उनले भनेका छन् ।

एनकेएल सिजन २ को लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्वाधिक १ सय ५५ खेलाडी छन् । त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन् । गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो ।

‘विदेशी खेलाडीको आकर्षण पनि अत्यधिक बढेको छ । धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन् । हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना विदेशी खेलाडी लिनेछौं । उनीहरू पक्कै पनि माथिल्लो स्तरका हुनेछन्’ बेगानीले बताए । पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए ।

नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो । फ्रेन्चाइजको आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।

पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।

सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।

नेपाल कबड्डी लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय