+
+
Shares

इजरायली संसद्‌मा ट्रम्प बोलिरहँदा किन भयो हंगामा ?

ट्रम्प बोलिरहँदा इजरायली संसद्‌मा सोमबार एकैछिन ‘हंगामा’ भयो । जसका कारण ट्रम्पले केहीबेर आफ्नो भाषण नै रोक्नुपर्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १८:४८

२७ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायलको संसद्‌मा सम्बोधन गरे । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भाषणपछि ट्रम्पले सम्बोधन गरेका थिए ।

इजरायल–गाजा युद्धको प्रसंग उठाउँदै ट्रम्पले अब मध्यपूर्वमा शान्ति कायम भएको बताए र त्यो सँधै कायम रहनेछ भन्ने विश्वास व्यक्त गरे ।

ट्रम्प बोलिरहँदा इजरायली संसद्‌मा सोमबार एकैछिन ‘हंगामा’ भयो । जसका कारण ट्रम्पले केहीबेर आफ्नो भाषण नै रोक्नुपर्‍यो ।

खासमा ट्रम्प बोलिरहँदा इजरायली विपक्षी दलका एक सांसदले एउटा कागज देखाए । जसमा लेखिएको थियो– ‘प्यालेस्टाइनलाई मान्यता देऊ ।’

लगत्तै मर्यादापालकले ती सांसदलाई संसद्‌बाट बाहिर निकालिदिए । प्यालेस्टाइनलाई मान्यता दिनुपर्ने लेखिएको कागज देखाउने सांसदलाई तत्कालै बाहिर निकाल्न मर्यादापालकको सक्रियता देखेरे ट्रम्पले भने, ‘त्यो त निकै छिटो भयो ।’ त्यसपछि ट्रम्पले आफ्नो सम्बोधन जारी राखे ।

सम्बोधनका क्रममा ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई धन्यवाद दिए । इजरायल र हमासबीच युद्धविराम सम्झौता गराउन मध्यस्थता गरेका अरब देशहरू इजिप्ट, कतार, टर्कीलाई पनि ट्रम्पले धन्यवाद दिए ।

ट्रम्पले भने, ‘मध्यपूर्वमा अराजकता, आतंक र बर्बादीका शक्तिहरू, जसले दशकौंदेखि यस क्षेत्रलाई त्रस्त बनाए, अब कमजोर, अलगथलग र पूर्णरूपले हारेका छन् ।’

यस वर्ष इरानको तीन परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको प्रसंग कोट्याउँदै ट्रम्पले भने, ‘इरानमा आक्रमण नगरिएको भए गाजामा शान्ति सम्झौता सम्भव थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?