
News Summary
Generated by OK AI. Editorially reviewed.- नाइजेरियाली चित्रकार उजो इगोनुको १९८१ को \'राज्यविहीन मानिसहरू\' श्रृङ्खलाले बसाइँसराइ र राज्यविहीनताको जटिलता देखाएको छ।
- लण्डनको टेट मोडर्न ग्यालरीमा नाइजेरियाली मोडर्निज्मको पहिलो ठूलो प्रदर्शनीमा २५० भन्दा बढी कलाकृतिहरू प्रदर्शन भएका छन्।
- कलाकार बेन एनवोन्वू र लाडी क्वालीले नाइजेरियाली आधुनिक कलामा युरोपेली र आदिवासी प्रविधि मिसाएर विश्वव्यापी प्रतिष्ठा पाएका छन्।
चित्रमा सुन्तला, पहेँलो, नीलो जस्ता बलिया रङका घुमाउरा रेखाहरू मार्फत कलाकारले मानव आकृति सिर्जना गरेको छ । जुन अमूर्त आकारहरूका घेराको फ्रेमभित्र रहेजस्तो देखिन्छ । अलि नजिकबाट हेर्दा ती सबै आकृतिको टाउकोमा वृत्तहरू भएको टोपी देख्न सकिन्छ ।
यो विवरण भएको चित्र नाइजेरियाली चित्रकार उजो इगोनुको हो । जुन सन् १९८१ मा उनको ‘राज्यविहीन मानिसहरू’ (स्टेटलेस पिपुल) नामक श्रृङ्खलाको एक चित्र हो ।
इगोनु नाइजेरियनमा जन्मे, हुर्किएका हुन् । उनी सन् १९४० को दशकपछि बेलायतको लण्डनमा बसे । र, सन् १९९६ मा आफ्नो मृत्यु नहुँदासम्म आफ्नो अधिकांश समय त्यहीँ बिताए ।
उनी विदेशी भूमिमा बसे पनि आफ्नो मातृभूमिका लागि तड्पिरहेका थिए । राज्यविहीनता र बसाइँसराइको जटिलता भोगिरहेका थिए । त्यही भावनालाई दर्शाउन उनले ‘स्टेटलेस पिपुल’ श्रृङ्खाला सुरु गरेका थिए ।
अहिले आधुनिक कलाबारे झट्ट सोच्दा पाब्लो पिकासो, जर्जिया ओकिफ वा साल्भाडोर डाली जस्ता कलााकर नै दिमागमा आउँछन् । तर, लण्डनको टेट मोडर्न ग्यालरीमा गरिएको एक कला प्रदर्शनीले नाइजेरियाली कलाकारहरूले २०औं शताब्दीभरि यस आन्दोलनमा कसरी योगदान पुर्याएका छन् भन्ने देखाएको छ ।
त्यस प्रदर्शनीमा ‘नाइजेरियाली मोडर्निज्म’ अर्थात् आधुनिक कलामा योगदान गर्ने ५० भन्दा बढी कलाकारहरूलाई समेटिएको छ । नाइजेरियाका लागि आधुनिक कलाको खोजी गर्ने सङ्ग्रहालयमा यो पहिलो प्रदर्शनी पनि हो ।
यसमा सन् १९४० देखि १९८० को दशकसम्म सिर्जना गरिएका २५० भन्दा बढी कलाकृतिहरू समावेश छन् ।
000
नाइजेरिया आधुनिक अफ्रिकी कलाको विकासका लागि एउटा मुख्य केन्द्र थियो । त्यसको आंशिक कारण बेलायतसँगको यसको औपनिवेशिक सम्बन्ध हो ।
प्रदर्शनीमा समावेश गरिएका धेरै कलाकारहरूले नाइजेरिया फर्कनुअघि लण्डन वा अन्य युरोपेली शहरहरूमा कुनै न कुनै समयमा कलाको प्रशिक्षण लिएका थिए । जसले गर्दा पनि उनीहरूले आफ्नो काममा युरोपेली, आदिवासी प्रविधि र दुवैलाई मिसाएका हुन् ।
नाइजेरियाली आधुनिकतावादी मध्ये एक कलाकार हुन्, बेन एनवोन्वू । उनको जीवनी ‘बेन एनवोन्वू: द मेकिङ्ग अफ एन अफ्रिकन मोडर्निस्ट’ का लेखक सिल्भेस्टर ओक्वु्नोडु ओग्बेचीका अनुसार बेन विश्वव्यापी पहिचान र प्रतिष्ठा प्राप्त गर्ने पहिलो अफ्रिकी कलाकार हुन् ।
सो भेगमा उनले कलालाई एक सम्मानजनक पेशाको रूपमा सोच्न सम्भव बनाएको लेखक सिल्भेस्टरको भनाइ छ । सन् १९१७ मा नाइजेरियाको दक्षिणपूर्वी क्षेत्रको ओनित्शामा जन्मेका बेनलाई समकालीन समीक्षकहरूले युरोपेली आधुनिक कलाकारहरूकै स्तरमा राखेका थिए ।
त्यसको महत्त्वपूर्ण कारण हो, सन् १९५७ मा बेनले बेलायतकी तत्कालीन महारानी एलिजाबेथ द्वितीयको मूर्ति बनाउने अवसर पाउनु । त्यसले उनलाई कलात्मक पहिचान दिनुका साथै प्रतिष्ठा बढायो ।
त्यति हुँदाहुँदै पनि उनले आफ्नो इग्बो जातीय पहिचान र विरासतलाई कलामा प्रयोग गरिरहे । जुन उनले आफ्नो बुबाबाट सिकेका थिए ।
000
त्यस्तै नाइजेरियाली मोडर्निज्म अर्का प्रमुख कलाकार हुन्, लाडी क्वाली (१९२५-१९८४) । उनले बनाएको चित्रलाई नाइजेरियाली २० नायरा (२० रुपैयाँ भने जस्तै नोट) मा समेत राखिएको छ ।
उनी भने उत्तरी नाइजेरियाको ग्वारी क्षेत्रमा जन्मेकी हुन् । उनले सानैमा माटाका भाँडा बनाउने तालिम लिन सकिन् । र, कालान्तरमा उनी आफ्नो आधुनिक सिरेमिक कलामा परम्परागत शैलीहरू मिसाएर प्रख्यात पनि भइन् ।
लण्डनको निजी लिलामी घर बोन्हम्सका आधुनिक तथा समकालीन अफ्रिकी कलाका विभाग प्रमुख हेलेन लभ अलोटेका अनुसार लाडी क्वालीले सधैं आफ्नो पहिचानमा अडिग भइन् । र काममा त्यी अनुशासन कामय गरिरहिन् । त्यसले उनको कलामा नयाँपन थपेको हो ।
000
त्यस्ता संस्थागत प्रयासबाहेक पनि अफ्रिकी आधुनिक तथा समकालीन कलाकारहरूले हालैका वर्षहरूमा कला बजारमा राम्रो गर्न लागेका छन् । निजी संकलक र सार्वजनिक दर्शकहरू दुवै बढ्दो छ ।
जस्तो: क्वाली र बेन दुवै कला कीर्तिमानी मूल्यमा विक्री भएका छन् । बेनको ‘टुटु’ नामक चित्रकला सन् २०१८ मा १० लाख ६७ हजार डलरमा विक्री भएको थियो ।
यसले पश्चिम अफ्रिकामा अवस्थित कुनै समय बेलायती उपनिवेशमा परेको नाइजेरियाको कला क्षमतालाई पनि देखाउँछ । विज्ञहरूले भन्छन्- यी कलाकारहरूलाई पहिले पश्चिमी कलाकारहरूजस्तो सम्मान दिइएको थिएन ।
तर, अहिले भने यी यस्ता प्रदर्शनीहरूमार्फत मान्छेहरूले विश्व कलामा अफ्रिकी कलाकारहरूको योगदान बुझिरहेका छन् ।
प्रतिक्रिया 4