
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फागुन २१ मा निर्वाचन हुनुपर्ने बताए।
- महरले पार्टीको १५औं महाधिवेशन समयमै सम्पन्न गर्न र नयाँ पुस्ताको नेतृत्व स्थापनामा जोड दिए।
- उनले पार्टीभित्र कुलिङ पिरियड अवधारणालाई कार्यान्वयन गर्नुपर्ने र यसमा गम्भीर छलफल आवश्यक रहेको बताए।
२९ असोज, काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आफूहरूको पुस्ता सकारात्मक परिवर्तनको नेतृत्व गर्न तयार भइसकेको बताएका छन्।
गृह जिल्ला डडेल्धुरा जाने क्रममा बुधबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशलाई वर्तमान अवस्थाबाट उकास्न फागुन २१ मा तोकिएको निर्वाचन हुनुपर्ने बताए।
पार्टीको १५औं महाधिवेशन समयमै सम्पन्न हुन तथा नयाँ पुस्ताको नेतृत्व स्थापनाको सुनिश्चितता आवश्यक रहेकोमा महरले जोड दिए। पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने धारणा राख्दै उनले भने, ‘सबैको मतको सम्मान गर्ने प्रवृत्तिले मात्र लोकतन्त्रको रक्षा गर्छ। केन्द्रीय समितिका हरेक निर्णयहरूमा सर्वसम्मत सहमतिको जुन अभ्यास विगतमा थियो, त्यसको निरन्तरताको अपेक्षा आज पनि छ।’
पार्टीका समस्याहरूको निकास केन्द्रीय कार्यसमिति भित्रैबाट खोजिनुपर्ने उनले बताए।
पार्टीभित्र नयाँ पुस्तालाई प्रोत्साहन गर्न र अवसरको समान वितरण सुनिश्चित गर्न महरले ‘कुलिङ पिरियड’ (विश्राम अवधि)को अवधारणालाई कार्यान्वयन गर्न सकेमात्र अवसरबाट छुटाइएका योग्य नेता–कार्यकर्ताको पार्टी र देशका लागि योगदान दिने सपना पूरा हुने बताए।
गठबन्धनको प्रस्ताव गर्ने, भागबण्डामा सहभागी हुने, टिकट वितरण गर्ने, पूर्ववर्ती ओली सरकारका मन्त्रीहरू, सरकार सञ्चालनका लागि बनेको संयन्त्रमा बस्नेहरू, तीन पटक सांसद, दुई पटक मन्त्री र निरन्तर तीन पटकसम्म एउटै पदमा केन्द्रीय समितिमा रहेका, पूर्व र वर्तमान पदाधिकारी, सार्वजनिक जीवनमा प्रश्न उब्जिएकाहरू तथा ७० वर्ष उमेर पुगेका नेताहरूका लागि ‘कुलिङ पिरियड’को व्यवस्था लागू गर्नेबारे केन्द्रीय कार्यसमितिमा गम्भीर छलफल हुनुपर्ने उनले बताए।
प्रतिक्रिया 4