
२९ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट हुँदैछन् । यो विषयमा जानकारी गराउन दाहाल सितलनिवास पुगेका हुन् ।
सम्मेलनमा भाग लिन दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्दैछन् । दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जना हुनेछन् ।
यो विषयमा यसअघि गत आइतबार राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री कार्कीले बदलिएको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई सुझाएकी छन् ।
‘अन्तर्राष्ट्रिय फोरमहरूमा जानुपर्छ, नेपालको अवस्थाबारे राम्रोसँग राख्नुपर्छ’, प्रधानमन्त्रीले भनेकी थिइन् ।
बुधबार राष्ट्रपतिलाई भेटेर अध्यक्ष दाहालले आईपीयूमा जानेबारे जानकारी गराएका हुन् । भेटका क्रममा राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया 4