
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा ललितपुर महानगरपालिकाको दमकल सेवा व्यवस्थित र समयमै पुग्ने प्रशंसा भएको छ।
- २३ नम्बर वडाध्यक्ष मचाराजा महर्जनले काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग प्रमुख विष्णु प्रसाद जोशीको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्।
- महर्जनले काठमाडौंको दमकल सेवा ढिलो पुग्ने, चालक कम र पानीको समस्या हुँदा आगलागी नियन्त्रणमा कमजोरी देखिएको बताएका छन्।
३१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा ललितपुर महानगरपालिकाको प्रशंसा भएको छ ।
बैठकमा सहभागीहरूले आगलागी हुँदा काठमाडौं महानगरको दमकल समयमै नपुग्ने तर ललितपुरको दमकल फोन गर्नासाथ व्यवस्थित तरिकाले आइपुग्ने गरेको सुनाए ।
एकजना वडाध्यक्षले काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागका प्रमुख विष्णु प्रसाद जोशीको कार्य क्षमतामाथि समेत प्रश्न उठाए ।
२३ नम्बर वडाध्यक्ष मचाराजा महर्जनले ललितपुरको दमकल तत्कालै व्यवस्थित तरिकाले आगो निभाउन आउने तर काठमाडौंको जुद्ध बारुणयन्त्रलाई आगो निभाउन बोलाउँदा पानी भर्न जाने गरेको बताए ।
जुद्ध बारुण यन्त्र पानी भरेर फर्कँदासम्म नेपाली सेना, ललितपुर महानगरपालिका र भक्तपुरबाट समेत दमकल घटनास्थल पुगेर आगो निभाइसक्ने भन्दै विभाग प्रमुखको कार्यक्षमतामाथि प्रश्न उठाए । उनले भनेका छन्, ‘घटनाको जानकारी पाएपछि समयमा दमकल निस्केको देखिन्छ । तर, ठाउँमा चाहिँ समयमा नपुगेको देखिन्छ । यस्तो कमजोरी के कारणले भयो ?’
उनले अगाडि भने, ‘आगलागीका घटना भएपछि नगरवासीले फोन गर्छन् । फोन उठ्छ पनि । त्यसपछि बीचमा पाँच-दश मिनेट चाहिँ ग्याप हुने रहेछ । त्यसपछि फेरि चालकको समस्या । चालक एक जना मात्रै । चालक सुतिरहेका हुन्छन् । उनी उठेर आउँदासम्म मानिसहरू स्वयं दौडेर दमकल बोलाउन आइपुग्छन् । दमकल बल्लबल्ल स्टार्ट हुन्छ । त्यसपछि अर्को फेरि समस्या पानीको आउने रहेछ । त्यो गर्दै जाँदा आगोले विकराल रूप लिइसकेको हुन्छ ।’
महर्जनले आगलागी हुनासाथ काठमाडौं महानगरपालिकाको दमकल शाखा प्रमुखलाई फोन गरेको र शाखा प्रमुखले दमकल निस्किसकेको बताए पनि आइपुग्न ढिलो भएको बताए ।
यसको गम्भीरताबारे विभागीय प्रमुखले ख्याल गर्नुपर्ने उनी सुनाउँछन् । उनी भन्छन्, ‘विशेषगरी विभागीय प्रमुख सक्षम व्यक्ति हो कि होइन ? प्रश्न अहिले उठिरहेको अवस्था छ ।’
काठमाडौंको तुलनामा ललितपुरको तयारी र विज्ञता राम्रो
ललितपुरको तुलनामा काठमाडौंको तयारी र विज्ञता दुवै कमजोर रहेको महर्जनले बताए । ‘कस्तो किसिमको आगलागी भएको हो, कस्तो किसिमले नियन्त्रण लिँदा ठीक हुन्छ भन्ने जानकारी हुनुपर्ने हो, तर त्यो देखिएन’, उनले भने, ‘यो विज्ञताको कमीकमजोरी मैले कसरी महसुस गरेँ भने, पाटनबाट आएका दमकलमा दुईवटा व्यवस्था रहेछ- पानी र फोम । त्यहाँ आवश्यकता अनुसार त्यसको प्रयोग गर्ने रहेछन् । यसरी आगो नियन्त्रण गर्दा धेरै सहयोग पुगेको देखेँ ।’
भक्तपुरको दमकलले पनि रणनीतिक रूपमा आगो नियन्त्रणमा लिने गरेको आफूले देखेको उनले सुनाए । उनले भने, ‘भक्तपुरबाट आउने दमकलले स्ट्रेटेजिकल रूपमा आगो निभाउने गर्दो रहेछ । आगो लागिसकेपछि निभाउने भन्दा पनि अब थप क्षति हुन नदिने गरी उनीहरूले काम गर्ने रहेछन् । एउटाले पश्चिम क्षेत्रबाट आगो बढ्न नदिने रहेछ भने अर्कोले दक्षिण क्षेत्रबाट बढ्न नदिने रहेछ ।’
सेनाको दमकलले पनि त्यसैअनुसार आगो नियन्त्रणमा लिने काम गरिरहेको उनको भनाइ थियो ।
उनले अगाडि भने, ‘हाम्रोमा पानी हाल्ने मात्र याद छ, अरु सोच्न सक्ने अवस्था पनि उहाँहरूमा भएन । पहिलो त हाम्रो दमकल ढिलो पुगिहाल्यो, सबै आइसकेपछि । दोस्रो विज्ञताको कमी देखिएपछि ठूलो विकराल रूप लियो ।’
२३ नम्बर वडामा एक लाख लिटर पानी रिजर्भ रहे पनि त्यसलाई प्रयोग गर्ने विषयमा समन्वय नदेखिएको उनले बताए ।
प्रतिक्रिया 4