+

हरि हजुर पुरुष भलिबलको कप्तान नियुक्त

२०८२ असोज  ३१ गते १५:१२ २०८२ असोज ३१ गते १५:१२
हरि हजुर पुरुष भलिबलको कप्तान नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेटर हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्।
  • नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कपका लागि थापालाई कप्तान चयन गरेको हो।
  • हरि हजुरले २०८० सालमा पनि कप्तानी गरेका थिए ।

३१ असोज, काठमाडौं । सेटर हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा   नियुक्त भएका छन् ।

बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि नेपाल भलिबल संघले थापालई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्ने हरि हजुर दोस्रो पटक नेपालको कप्तान बनेका हुन् । यसअघि उनले २०८० सालमा पनि नेपालको कप्तानी सम्हालिसकेका छन् ।

२०८० सालमा सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा  गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको थियो ।

अहिले नेपाली टिममा हरि हजुर सँगै धन बहादुर भट्ट सिनियर खेलाडीको रुपमा छन् ।

नेपाल भलिबल संघको शुक्रबार बसेको ५८औं कार्यसम्पादन कमिटीको बैडकले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकहरुको सुझाव अनुसार थापालाई कप्तान चयन गरेको हो ।

यस्तै श्रीलंकामा हुने काभा यू१९ महिला भलिबलका लागि जेनिशा विकलाई कप्तान चयन गरिएको भलिबल संघले जनाएको छ । जेनिशाले गत वर्ष माल्दिभ्समा भएको काभा यू२० महिला भलिबलमा पनि नेपालको कप्तानी गरेकी थिइन् ।

यसअघिका कप्तान मान बहादुर श्रेष्ठले २०८० कात्तिकमा सन्यास लिएपछि नेपाली पुरुष भलिबल टिम कप्तान विहिनि थियो । यो दुई वर्षको बीचमा नेपालको पुरुष टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । जसले गर्दा कप्तान पनि नियुक्त भएन ।

अब भने अन्तर्राष्ट्रिय खेल खेल्ने भएपछि कप्तान नियुक्त भएको हो ।

नेपालको पहिलो कप्तान ऋषिराज आचार्य हुन् । सन् १९९६ मा पाकिस्तानमा भएको काइदे आजाम नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

त्यसपछि नेपलालले एसियन भलिबल च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेको थियो ।

ऋषिराजपछि दीपक सापकोटा, महेन्द्र लाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत बहादुर शाह, कैलाश दत्त भट्ट र इम रानले नेपालको पुरुष राष्ट्रिय टिमको कप्तानी गरेका थिए ।

यस्तै काइदे अजाम खेलेपछि नेपालले सन् १९७७ मा चीन भ्रमण गर्दा हरिहर श्रेष्ठलाई कप्तान बनाइएपनि चीन पुगेपछि रेशम गुरुङले नेपालको कप्तानी गरेका थिए । तर त्यो प्रदर्शनी खेल मात्र थियो ।

नेपालका लागि सबैभन्दा लामो समय कप्तानी गर्ने भरत बहादुर शाह हुन् । उनले १६ वर्ष नेपालको लागि कप्तानी गरेका थिए ।

 

नेपाल भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय